८ बैशाख २०८१, शनिबार

जेठभित्र साक्षर स्थानीय तह घोषणा गर्ने प्रतिवद्धता



धनगढी । कैलाली र कञ्चनपुरका २२ वटा स्थानीय तहले आगामी जेठ महिनाभित्र साक्षर स्थानीय तह घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सामाजिक विकास मन्त्रालयको आयोजनामा धनगढीमा भएको चालू आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेट तथा कार्यक्रम (शिक्षा क्षेत्र) सम्बन्धी दुई दिने गोष्ठीमा कैलालीका १३ र कञ्चनपुरका नौ वटा स्थानीय तहका शिक्षा शाखा प्रमुखहरूले सो प्रतिवद्धता गरेका हुन् ।
उनीहरूले साक्षर स्थानीय तह घोषणा गर्नमा देखिएका समस्या तथा चुनौतिहरूसँग सामना गर्दै साक्षर स्थानीय तह घोषणा गर्नमा सहयोग पुर्‍याउने बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख वीरबहादुर नेपालीले मंसिरदेखि घरधुरी सर्वेक्षण कार्य अघि बढाउने र आगामी जेठ महिनाभित्र साक्षर नगर घोषणा गर्ने बताए । उनी जस्तै कैलाली र कञ्चनपुरका अघिकांस स्थानीय तहले आगामी जेठ महिनाभित्रै साक्षर स्थानीय तह घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कैलाली जिल्लामा एक उपमहानगरपालिका, छ नगरपालिका र छ गाउँपालिका गरी १३ वटा स्थानीय तह रहेका छन् । जिल्लाको चुरे र मोहन्याल गाउँपालिकालाई साक्षर स्थानीय तह घोषणा गर्न चुनौति रहेको जनाइएको छ । कञ्चनपुरमा सात नगरपालिका र दुई गाउँपालिका गरी नौ वटा स्थानीय तह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार