७ बैशाख २०८१, शुक्रबार

थारू राष्ट्रिय साहित्यिक मेला समापन



धनगढी । थरुहट क्षेत्रका प्राथमिक विद्यालयमा थारू भाषामा पठनपाठनको लागि दबाब दिने लगायत आठ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो थारू साहित्यिक मेला आइतबार समापन भएको छ ।
आइतबार थारू साहित्यमा महिला लेखन तथा थारू भाषाको पत्रकारिकताको अवस्था बारे पनि अन्तरसंवाद गरिएको थियो ।
महिला लेखनको विषयमा लेखिका बालिका चौधरी र गजलकार रविना चौधरीसँग ईन्दु चौधरीले अन्तरसंवाद गरेकी थिइन् ।
त्यस्तै, थारू पत्रकारिताबारे पत्रकारहरू कृष्णराज सर्वहारी, गणेश चौधरी, प्रेम दहित, लखन दहितसँग छविलाल कोपिलाले अन्तरसंवाद गरेका थिए ।
साहित्य चिन्तन र थरुहट आन्दोलनका विषयमा कृष्णकुमार चौधरी, अधिकारकर्मी दिलबहादुर चौधरी, फूलमान चौधरी, अधिवक्ता सन्तराम धरकटुवा थारूसँग सुशील चौधरीले अन्तरसंवाद गरे ।
त्यस्तै, थारू साहित्यको बाटो कता ? भन्ने विषयमा ठाकुर अकेलाले प्रस्तुत गरेको कार्यपत्रमाथि सुशील चौधरीले टिप्पणी गरेका थिए ।
मेलाको पहिलो दिन शनिवार साहित्यकार रामलाल जोशी, नवीन विभास, सन्तराम धरकटुवा थारूसँग कृष्णराज सर्वहारीले थारू साहित्यको आख्यान र गजलबारे अन्तरसंवाद गरेका थिए ।
मातृभाषामा थारू भाषाको पठनपाठनको अवस्थाबारे नेवा: अभियानका संयोजक दीपक तुलाधर तथा शिक्षक स्वर्णमान चौधरीसँग सुशील चौधरीले अन्तरसंवाद गरेका थिए ।
त्यस्तै, भाषाविद् पदम राईले थारू भाषाको मानकताबारे प्रशिक्षण दिएका थिए ।
आइतबार जारी घोषणापत्रमा थारू भाषामा मानकताको लागि हालको आगन्तुक शब्द जस्ताको त्यस्तै प्रयोग गर्ने, अन्य मौलिक शब्द जसरी बोलिन्छ त्यसरी नै लेख्ने, थरुहट क्षेत्रको प्राथमिक विद्यालयमा थारू भाषामा पठनपाठनको लागि दबाब दिने, थारू साहित्यकारको क्षमताको विकासको लागि काम गर्ने, थारू साहित्यको अध्ययन अनुसन्धान प्रकाशनको लागि राज्यको निकायलाई दबाब दिने, थरुहट क्षेत्रको सार्वजनिक सूचना, वडापत्र थारू भाषामै लेखाउन दबाब दिने, नेपाल प्रज्ञा प्रतिष्ठान लगायत सरकारी निकायमा पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्वको लागि दबाब दिने, थारू साहित्यिक मेला तेस्रो श्रृंखला (२०७४), जंग्रार साहित्यिक बखेरीको सहकार्यमा बर्दियामा गर्ने उल्लेख छ ।

 

चित्रमा थारू राष्ट्रिय साहित्यिक मेला 

 

सम्बन्धित समाचार 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार