१५ चैत्र २०८०, बिहीबार

स्वास्थ्यप्रति सजग बन्दै एचआइभी संक्रमित



धनगढी । डोटीमा ७१५ जना एचआइभी संक्रमितले उपचारका क्रममा नियमित रूपमा एआरटी नामक औषधि सेवन गर्न थालेका छन् ।
नियमित औषधि सेवन गर्नेहरु फुर्तिलो भई सहज जीवनयापनमा सघाउ पुगेको छ ।
औषधि सेवन गरे अझै केही समय बाँच्न सकिन्छ भन्ने जानकारी पाएपछि आफूहरु लगातार रुपमा एआरटी नामक औषधि खान थालेको एआरटी औषधि खाइरहेका संक्रमित एक युवाले बताए ।
आर्थिक वर्ष २०७४/७५ सम्ममा एचआइभी/एड्सले डोटीमा १११ को ज्यान गएको जिल्ला अस्पताल डोटीले जनाएको छ ।
आव २०७१/७२ मा एचआइभीले मृत्यु हुनेको संख्या ८७ रहेकोमा आव २०७३/७४ मा ९४ पुगेको थियो । जिल्लाका ९३१ संक्रमितमध्ये ७१५ ले एआरटी सेवन गरिरहेको जिल्ला अस्पताल डोटीका डा गिरिश अवस्थीले जानकारी दिए ।
आव २०७१/७२ मा एआरटी सेवन गर्ने ४३१ थिए । आव २०७२/७३ मा सो संख्या ५१२ पुग्यो । डोटीमा खासगरी कामको सिलसिलामा भारत जाने पुरुषले त्यहाँ गर्ने असुरक्षित यौन सम्पर्कका कारण उनीहरुबाटै एचआइभी संक्रमण हुने गरेको सो क्षेत्रमा काम गर्ने संस्था बताउँछन् ।
संक्रमितबाट तिनका श्रीमतीसमेत संक्रमित हुने हुँदा तिनका सन्तानम समेत त्यसको असर परेको बताइन्छ ।
सुदूरपश्चिम प्रदेशका अछाम, कैलाली तथा डोटीमा एचआइभी संक्रमितको संख्या अरु जिल्लाभन्दा बढी भएको सरोकारवालाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार