१३ बैशाख २०८१, बिहीबार

डा सुशिलनाथ प्याकुरेललाई अधिकारसहित निमित्त सचिवको जिम्मेवारी



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशिलनाथ प्याकुरेललाई अधिकारसहितको निमित्त सचिवको जिम्मेवारी दिइएको छ। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आइतबार मन्त्रीस्तरिय निर्णय गर्दै डा प्याकुरेललाई निमित्त सचिवको जिम्मेवारी दिएका हुन्।
डा प्याकुरेलले अधिकारसहितको पत्र बुझिसकेका छन्। उक्त पत्रमा मन्त्रीपरिषदले अर्को व्यवस्था नगरेसम्म प्रशासनिक अधिकारसहित निमित्त सचिवका रुपमा कामकाज गर्न भनिएको छ।
गत असोज २८ गतेको मन्त्रीपरिषद्ले स्वास्थ्य मन्त्रालयकी सचिव डा पुष्पा चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गरेको थियो। त्यसयता स्वास्थ्य मन्त्रालयमा सचिव खाली थियो।
सरकारले सरुवा गरे पछि सचिव चौधरीले सर्वोच्चमा मद्धा हालेकी थिइन्। कात्तिक १६ गते सर्वोच्चले सरकारका नाममा सचिव सरुवा कार्यान्वयन नगर्न र सरुवा गर्नुको कारण माग गरेको थियो। सर्वोच्चको उक्त आदेश प्रधानमन्त्री कार्यालयमा नपुग्दै सचिव चौधरी कात्तिक १८ गते स्वास्थ्य मन्त्रालयमा काम गर्न पुगेकी थिइन्।
अदालतको आदेश प्रधानमन्त्री कार्यालयमा पुगेपछि सरकारले उक्त आदेश अनुसार निर्णय गरेपछि मात्र सचिव चौधरीले काम गर्न पाउँछिन्। तर, सचिव चौधरी हतारिँदै गैरकानुनी रुपमा मन्त्रालयमा पुगेर हाजिर गरेकी थिइन्।
सचिव चौधरीले स्वास्थ्य मन्त्रालयमा गएर हाजिर गरेको थाहा पाएपछि मुख्य सचिव लोकदर्शन रेग्मीले पुष्पा चौधरीलाई स्वास्थ्य सचिवका रुपमा चिन्दिन भन्ने जवाफ दिएका थिए। उनले नियमित सचिव वैठकमा पनि चौधरीलाई बोलाएका थिएनन्। त्यसपछि भने चौधरी स्वास्थ्य मन्त्रालय गएकी छैनन्।

स्वास्थ्यखबर

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार