१५ चैत्र २०८०, बिहीबार

सम्पादकीय : सधैं दियो झैं झगमगाई रहोस्



हिन्दू धर्मावलम्बीहरूको घरआँगनमा यतिबेला तिहारको रमझम छाएको छ । यमपञ्चक, अथवा दिपावली, तिहार, लक्ष्मीपूजा र भाइटीकाका नामले चिनिने यो धार्मिक, सांस्कृतिक चाड बहुआयामिक छ । अर्थात्, धन, वैभवकी देवी महालक्ष्मीको पूजाआजा, आह्वान, उपासना यो चाडको केन्द्रीय पक्ष हो । सँगसँगै यो दिदीबहिनी र दाजुभाइ बीचको पवित्र नातालाई अझैं खँदिलो बनाउने अथवा दिदीबहिनीले दाजुभाइको दीर्घ, स्वस्थ र समुन्नत जीवनको कामना गर्दै पञ्चरंगी टीका, दुवो र मखमली माला लगाई दिने सांस्कृतिक पर्व हो । यससँगै तीन दिनसम्म घरघरमा दिपावली यो चाडको अर्को प्रमुख पक्ष हो । यत्तिले मात्रै पनि यो चाडको परिचय पुग्दैन । किनकि यही चाडमा गाई, गोरु, काग र कुकुरको पनि पूजाआजा गरिन्छ । हिन्दू धर्मावलम्बीका लागि गाईं आमा तथा देवी लक्ष्मीको स्वरूप हुन् । त्यस्तै, कृषिका लागि गोरुको महत्त्वको चर्चा गरिरहँनै पर्दछ । त्यस्तै, मानव जीवनमा काग र कुकुरको पनि उत्तिकै महत्त्व छ । कुकुर स्वामिभक्ति तथा वफादारीको प्रतिक मानिएको छ । त्यस्तै, काग फोहोरमैला सफा गर्ने कुशल सरसफाईकर्ताका साथै युगौदेखि विश्वास गरिएको सन्देशवाहक हो ।
बडादशैंको लगत्तै आउने तिहारको नेपाली समाजमा अझ बढी महत्त्व छ । औंसीको अँध्यारो रातमा दीयोहरूको झिलीमिलीमा खेलिने भैलो र यस क्रममा प्रस्तुत गरिने आशिष बचनसहित लयवद्ध गीतले यो चाडको सांस्कृतिक, सामाजिक महत्त्वलाई पुन:पुन: स्मरण गराइरहेको हुन्छ । हो, पछिल्ला वर्षहरूमा भैलो, देउसीलाई विकृत बनाउने होडबाजी झैं चलेको छ । आधुनिकताका नाममा संस्कृतिलाई कुरूप बनाउनेहरूको बोलबाला बढेको अवस्था छ । राजनीतिक दल तथा तिनका भातृ संगठनदेखि विभिन्न संघसंस्थाले बलपूर्वक रकम असुल्ने माध्यम बनाउँदै गएका छन्– भैलो देउसीका नाममा । यी सबै विकृति, विसंगति बढेकै छन्, तर यसले तिहारको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व र पक्षलाई ओझेल पार्न सक्दैन ।
एउटा छ सन्तवाणी छ– तिमीले जीवनभरी बाहिर दिपावली गर्‍यौं, एक पटक आफ्नो अन्तरमनमा दिपावली गरेर हेरन । तिमीले जीवनभरी बाहिर दीयो बालेर अरूलाई उज्यालो बनाउँने प्रयास गर्‍यौं, यस पटक आफ्नो हृदयमा दीयो बालेर स्वयं आफूलाई उज्यालो बनाउन । मानवता हराउँदै गएको र मानव समाजमा भौतिकवादी मानसिकता अचाक्ली बृद्धि भएको सन्दर्भमा आफ्नो अन्तरमनमा नियाल्ने र बुद्धिको भन्दा हृदयको आवाज सुन्नका लागि प्रेरित गर्नका लागि यस्तै सन्तवाणीको आवश्यकता हुन्छ ।
भौतिक तथा अध्यात्मिक दरिद्रता प्रत्येक मान्छेका लागि अभिसाप हो । अझ, भौतिक दरिद्रता भन्दा पनि अध्यात्मिक, धार्मिक तथा सांस्कृतिक दरिद्रता अझ ठूलो अभिसाप हो । घरघरमा दिपावली गरिरहँदा हरेकले अरूको जीवन सुखमय होस् भन्ने कामना गरे भने सार्थक हुनेछ ।
तिहारको पावन अवसरमा सम्पूर्णमा मंगलमय शुभकामना । देवी महालक्ष्मीले तपाईंहरू सबैको जीवनमा समृद्धि र वैभव ल्याउन । तपाईंको जीवन सधैं दीयो झैं जगमगाई रहोस् । यो चाडको सांस्कृतिक, धार्मिक तथा सामाजिक महत्त्व र पक्षको संरक्षण र संवद्र्धनका लागि प्रेरित गरिरहोस् । दीयो झैं सधैं मुस्कुराई रहनु होस् । हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार