७ बैशाख २०८१, शुक्रबार

फेबिकोलमा ‘झुम्दै’ नशेडीहरू



लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६, चैनपुरस्थित शम्भुसुनन्दा सामुदायिक वनभित्र जताततै छरिएका फाटेका प्लाष्टिक र फेबिकोलका खाली डिब्बाहरू । ‘वनभित्र जताततै फाटेका काला रंगका प्लाष्टिक ?’ वनका उपभोक्ताहरू छक्क परे । दैनिकजसो वनमा प्लाष्टिकका थैला भेटिन थालेपछि अचम्म परेका वनका उपभोक्ताहरूले खोजिनिति गरे । केही दिनको खोजबिनपछि पत्ता लाग्यो– ‘यो सबै नशेडीहरूको करामत रहेछ ।’
लागू पदार्थ दुव्र्यशनीहरूले लठ्याउने वस्तुको रूपमा फेबिकोलको प्रयोगको नयाँ विधि खोजेका रहेछन् । काठ तथा प्लाष्टिकका सामग्री जोड्न तथा घरमा रंगरोगनका क्रममा प्रयोग हुने फेबिकोललाई नशेडीहरूले प्लाष्टिकको झिल्लीमा राखेर सुँघेर नशा लिने गरेको पत्ता लागेको वनका उपभोक्ताहरूले बताए ।
नशेडीहरू स्वयं पनि फेबिकोललाई प्लाष्टिकको थैलामा राखेर सुँघ्दा ‘मज्जाको नशा’ लाग्ने गरेको बताउँछन् । एक वर्षदेखि लागू पदार्थको लत लागेका एकजना १४ वर्षीय किशोरले पछिल्लो समय आफूले पनि फेबिकोल प्रयोग गरिरहेको बताए । अनुमोदनसँग उनले निसंकोच भने– “मैले एक वर्षदेखि लागू पदार्थको सेवन गर्दै आएको छु । आजकाल फेबिकोल प्रयोग गरिरहेको छु । यसको नशा लागेपछि केही पनि थाहा हुँदैन । कसैको डर पनि लाग्दैन । लड्न मन लाग्छ र कोही कसैले सम्झाउन थाले भने झनक्क रिस उठ्छ ।” ती किशोरका अनुसार उनी थुप्रै साथीहरूसँगै दिनभरी वनभित्र बसेर फेबिकोल सुघ्छन् । नशाले लठ्ठिएपछि कोही कराउन थाल्छन् । कोही आपसमा विवाद गर्न थाल्छन् भने कोही सुत्छन् । “नशा उत्रिएपछि साँझतिर घर फर्किन्छौं” उनले भने ।
शम्भुसुनन्दा सामुदायिक वनका हेरालु गगनसिंह नेपालीका अनुसार वनमा दिनहुँ प्राय: किशोर उमेरका सरदर १५ जना केटाहरू आउने गरेका छन् र उनीहरू दिनभरी प्लाष्टिक सुँघेर बसेका हुन्छन् । “ती केटाहरू प्राय: बिहान १० बजेतिर वनमा आउँछन् र साँझ ६ बजेतिर आआफ्नो घर फर्किने गरेको छन्” वन हेरालु नेपालीले भने– “कहिलेकाँही त केटाहरूसँगै केटीहरू पनि आउने गरेका छन् ।”
फेबिकोलको नशा लिन पल्किएका किशोर, किशोरीहरूको वनभित्रको व्यवहार र गतिविधि स्मरण गर्दै वन हेरालु नेपालीले अनुमोदनसँग भने– “नशाबाट लठ्ठ भएका कोही बेहोस झैं भएर सुतेका हुन्छन् । कोही फोहर, अश्लील शब्द प्रयोग गर्दै एकअर्कालाई गाली गरिरहेका हुन्छन् । शुरुशुरुमा त मैले सम्झाउन खोजे, तर केटाहरूले उल्टै मलाई गाली गरेर पिट्ने प्रयास गरेपछि म चुप लागे ।”
वन हेरालु नेपालीले वनभित्र दैनिक हुलका हुल नशेडी किशोरकिशोरीे आउन क्रम बढेपछि आफूलाई डर लाग्न थालेको बताए । उनले भने– “असुरक्षा महसुुस हुन थालेपछि मैले स्थानीय जनप्रतिनिधिहरू, प्रहरी र सामुदायिक वनका पदाधिकारीहरूलाई जनकारी गराएको छु ।”
स्थानीय शिक्षक जयराम भाटले किशोरकिशोरीहरूमा लागूऔषधको लत बढ्दै जानु समाज र प्रशासनका लागि नै ठूलो चुनौति भएको बताए । उनी भन्छन्– “कतिपय किशोरहरूले साइकलको पन्चर टाल्ने सोलुुसनलाई समेत लागूऔषधका रूपमा प्रयोग गरिरहेको पाइन्छ । यस्ता लागूऔषधको दुव्र्यशनमा फसेकाहरूलाई समय छंदै सही बाटोमा ल्याउन सकिएन भने पछि गएर निकै समस्या बृद्धि हुने छ ।”
राजनीतिकर्मी जमानसिंह देउवाले वनमा केटाहरूले नशाका रूपमा फेबिकोलको प्रयोग गर्ने गरेको खबर पाएपछि आफू अनुगमनमा गएको र केही किशोरलाई प्लाष्टिकमा फेबिकोल सुँघिरहेको अवस्थामा देखेको बताए । “हामीले तत्काल प्रहरीलाई खबर गर्‍यौं” उनले भने– “तर, प्रहरी आइनपुग्दै उनीहरू भागेर जंगलतर्फ लागे ।”
लम्की ईलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले वनभित्र लागूऔषधको प्रयोग भइरहेको आफूले पनि जानकारी पाएको बताए । “हामीले सरोकारवाला निकाय तथा नागरिकको सहभागितामा यसबारे अन्तरक्रिया गर्ने र वनमा नियमित रूपमा गस्ती गर्ने तयारी गरेका छौं” प्रहरी निरीक्षक जोशीले भने– “अभिभावकहरूले पनि आफ्ना छोराछोरीहरू के गरिरहेका छन्, कहाँ जान्छन् ? भन्ने निगरानी बढाउनु आवश्यक भइसकेको छ ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार