१५ चैत्र २०८०, बिहीबार

लम्कीमा सांगीतिक महोत्सव हुँदै



लम्की । लम्कीमा सञ्चालित सामुदायिक रेडियो पश्चिम आवाजको आयोजनामा लम्की सांगीतिक महोत्सव २०७५ हुने भएको छ ।
‘स्वाथ्य, शिक्षा, सूचना विकासको अभियान, कृषि, संस्कृति र पर्यटन हाम्रो पहिचान’ भन्ने नाराका साथ मंसिर १३ गतेदेखि २२ गतेसम्म लम्की सांगीतिक महोत्सव आयोजना गरिने सोमबार लम्कीमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
सामुदायिक रेडियो पश्चिम आवाजका अध्यक्ष तथा सांगीतिक महोत्सव मुल आयोजक समिति संयोजक बुद्धिप्रसाद खनालका अनुसार महोत्सव दश दिनसम्म सञ्चालन हुने छ ।
महोत्सवमा रमाइलो मेला, बाल उद्यान, स्थानीय कृषि उत्पादन प्रदर्शनी, व्यावसायिक सामग्रीहरूको प्रदर्शनी, जनजाति तथा आदिवासी समुदायको रहनसहन भेषभुषाको प्रस्तुति, स्थानीय स्तरमा निर्माण गरिएका हस्तकला सम्बन्धी सामग्रीहरूको प्रदर्शनी, कृषि विज्ञहरूबाट किसानहरूलाई तालिमको व्यवस्था, साना उद्योगहरूबाट महोत्सव स्थलमा उत्पादनको नमुना, सीपमूलक व्यवसाय सम्बन्धी परामर्श लिन पाइनेका साथै राष्ट्रिय तथा स्थानिय कला प्रस्तुति रहने महोत्सवका सचिवालय निर्देशक दीपककुमार तिमिल्सिनाले बताए ।
आयोजकले महोत्सव अवधिभरी करिब चार लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरेका छन् । महोत्सवको आम्दानीबाट सामुदायिक रेडियोको स्तरोन्नतीका साथै सामाजिक क्षेत्रमा लगानी गर्ने जनाइएको छ ।
महोत्सव अवलोकनको लागि प्रतिव्यक्ति ५० रुपैयाँ मूल्यको टीकट निर्धारण गरिएको छ । त्यस्तै, विद्यार्थी, जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिका लागि ४० रुपैयाँको टिकट निर्धारण गरिएको अध्यक्ष तिमिल्सिनाले बताए ।
महोत्सव आयोजक समितिका सदस्य लवबहादुर शाहीले महोत्सवले सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा संस्कृतिको प्रवद्र्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।
उनले महोत्सवमार्फत कर्णाली चिसापानी, राजकाँडा, रिठेताल, आमपानी पितमारी, लगायतका पर्यटकीय क्षेत्र, कैलाशधाम तीर्थस्थल, चन्द्रमौलेश्वर मन्दिर, टीकापुर पार्क, घोडाघोडी ताल आदिको प्रचारप्रसारमा योगदान पुग्ने अपेक्षा गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार