११ बैशाख २०८१, मंगलवार

सुदूरपश्चिममा स्वास्थ्य सूचकांकहरू कमजोर (भिडियोसहित)



धनगढी । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा पछिल्ला वर्षहरूमा स्वास्थ्य सूचकांकहरू कमजोर रहेकोमा चिन्ता व्यक्त गरिएको छ ।
धनगढीमा शुक्रबारदेखि जारी सुदूरपश्चिम प्रदेशको गत आर्थिक वर्षको स्वास्थ्य समीक्षाका सहभागीहरूले प्रत्येक जिल्लामा स्वास्थ्य सूचकांकहरू सुधारका लागि जिल्ला स्वास्थ्य कार्यालयहरू कायम गरिनुपर्ने माग गरे । सरकारको पछिल्लो निर्णय अनुसार सुदूरपश्चिम प्रदेशमा चारवटा डिभिजन कार्यालय बनाएर प्रदेशका नौ वटा जिल्ला हेर्ने व्यवस्था गरिएको छ ।
डडेल्धुरा निमित्त स्वास्थ्य कार्यालयका प्रमुख दिलबहादुर शाहीले भने– “हरेक जिल्लामा स्वास्थ्य कार्यालय रहेको बेला पनि जिल्लाको समग्र स्वास्थ्य अवस्था हेर्न कठिनाइ हुने गरेको थियो, अब डिभिजन बनाउदा समस्या झन् बृद्धि हुने छ ।”
बैतडीका स्वास्थ्य कार्यालय प्रमुख डाक्टर जगदीशचन्द्र बिष्ट स्थानीयहरू सक्षम नहुँदासम्म जिल्ला स्वास्थ्य कार्यालय कायम रहनुपर्ने बताउँछन् ।

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर हेर्न कैलालीमा डिभिजन स्वास्थ्य कार्यालय रहने भएको छ । त्यस्तै, डडेल्धुराले डडेल्धुरा, बझाङ र डोटी, अछामले अछाम र बाजुरा तथा बैतडीले बैतडी र दार्चुला जिल्लाको स्वास्थ्य सेवा क्षेत्र हेर्ने बताइएको छ । डोटीका निमित्त स्वास्थ्य कार्यालय प्रमुख डाक्टर भूषण मिश्रले जनतालाई सहज तरिकाले सेवा दिनुपर्नेमा झन् असहज वातावरण तयार गरिएको बताए ।
केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डाक्टर सुशील प्याकुरेलले जिल्ला स्वास्थ्य कार्यालय, तालिम केन्द्र र मेडिकल स्टोर नहुँदा देशभर स्वास्थ्य सूचकांकहरू घट्दै गएको स्वीकार गरे ।
प्रदेशको स्वास्थ्य सेवाको समीक्षा कार्यक्रम उद्घाटनका क्रममा शुक्रबार प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले पनि सुदूरपश्चिम प्रदेशमा चार वटा स्वास्थ्य डिभिजन कार्यालय राख्ने व्यवस्थाले नागरिकले स्वास्थ्य सेवा लिन घण्टौं हिड्नुपर्ने अवस्था आउने भएकाले प्रत्येक जिल्लामा स्वास्थ्य कार्यालय यथावत राख्न जरुरी रहेको बताएका थिए ।
समीक्षा कार्यक्रममा प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख, नौ वटै जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख, तथ्यांक अधिकृत लगायतको सहभागिता रहेको छ ।
समीक्षामा शनिबारसम्म नौ वटै जिल्लाका स्वास्थ्य कार्यालयले जिल्लाको स्वास्थ्य अवस्था, उपलब्धी, समस्या तथा चुनौति, समाधानको बाटो लगायतका बारेमा प्रस्तुति भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार