१२ बैशाख २०८१, बुधबार

खाद्य स्वच्छता तथा होटल स्तरीकरण लोगो वितरण : विज्ञहरूको आग्रह– स्वच्छ र स्वस्थ भान्सामा ध्यान दिऊ



धनगढी । “हामी प्राय: घर सफा राख्न तल्लिन हुन्छौं, तर भान्सा सफा राख्नेमा त्यत्ति ध्यान दिँदैनौं” खाद्य प्राविधिकहरूको चेतावती छ– “मानिस सबैभन्दा बिरामी हुने कारण दुषित खाना नै हो ।”
विश्व स्वास्थ्य संगठनको एक तथ्यांकअनुसार भान्सामा अनुपयुक्त तापक्रम, गलत रेफ्रिजेरेशन र गलत ढंगले खाना पकाउने पद्दतीका कारण खानामा किटाणुहरूको जन्म हुने र त्यस्तो खानाको सेवनबाट मानिसको स्वास्थ्य बिग्रिने गरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार गलत ढंगले खाना पकाउने पद्दतीका कारण ४४ प्रतिशत रोगहरू निम्तिने गरेको छ । त्यस्तै, अस्वच्छ कच्चा पदार्थहरू (रसायनिक वा सुक्ष्म जीवहरूको वा संक्रमित समिश्रण वा विषालु च्याउका कारण २० प्रतिशत, सरसफाईमा कमी र बासी कुराको सेवनबाट १४ प्रतिशत र वातावरणका कारणले १३ प्रतिशत खानामा किटाणुहरू उत्पादन हुने र मानिसको स्वास्थ्य बिग्रिने गरेको उल्लेख छ ।
खाद्य प्राविधिकहरू भन्छन्– “होटलमा खाना पकाउने भान्से र होटल सञ्चालकले शारीरिक, रसायनिक र वातावरणीय पक्षमा ध्यान दिने हो भने खाद्य स्वच्छता कायम गर्न सकिन्छ ।” खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख सुमन धितालले भने– “भान्सा सरसफाई राख्ने, स्वच्छ पानी र स्वच्छ खाद्य वस्तुमात्र प्रयोग गर्ने, राम्ररी पकाउने, पकाएको र नपकाएको खाद्य वस्तु छुट्टाछुट्टै राख्ने र खानालाई सुरक्षित तापक्रममा राखेर संरक्षण गरियो भने सुरक्षित र स्वस्थ खाना पाउन सकिन्छ ।”
शनिबार धनगढीमा आयोजित खाद्य स्वच्छता तथा होटल स्तरीकरण लोगो वितरण सम्बन्धी कार्यक्रममा प्रमुख धितालले होटल सञ्चालकहरूलाई भान्साको सरसफाई तथा खाद्य स्वच्छतामा ध्यान दिन आग्रह गरे । उनले कार्यालयले अनुगमनका क्रममा अधिकांस होटल तथा पसलहरूमा म्याद नाघेको, लेवल नै उल्लेख नभएको, फ्रिजमा व्यवस्थित ढंगले सामान नराखेको लगायतका कमजोरी फेला पर्ने गरेको चर्चा गरे । उनले भने– “तपाईहरूले सामान खरिद गर्दा लेवल हेर्ने गर्नुहोला र खरिद गरि ल्याएको कुनै खाद्य वस्तुको म्याद नाघ्यो भने फिर्ता गर्ने गरी अलग्गै कोठामा राखेर फिर्ता गर्ने अथवा वा नष्ट गर्नुहोला ।”
कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत उज्ज्वल कोइरालाले खाद्य स्वच्छताको परिचय, खाद्य स्वच्छता कसरी कायम गर्ने ? होटल तथा घरमा खाद्य स्वच्छतामा भएगरेका हेलचक्राई लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए । त्यस्तै, खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले गुणस्तर नियन्त्रण र कारवाही सम्बन्धी व्यवस्था लगायतका बारेमा प्रस्तुतिकरण गरेका थिए ।
यसैबीच, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले होटल स्तरीकरण लोगो वितरण गर्ने जानकारी दिएको छ । कार्यालय प्रमुख सुमन धितालका अनुसार पहिलो चरणमा सुदूरपश्चिम प्रदेशको डोटी, डडेल्धुरा र कैलालीको राजमार्ग क्षेत्रमा रहेका होटलहरूमा लोगो वितरण गरिएको छ । उनले दोस्रो चरणमा धनगढी र कञ्चनपुरका बाँकी होटलहरूमा लोगो वितरण गरिने जानकारी दिए ।
कार्यालय प्रमुख धितालका अनुसार चार प्रकारका कार्ड वितरण गरिने छ । होटलको स्तरको अवस्थाका आधारमा अतिउत्तम, उत्तम, सन्तोषजनक र सुधार गर्नुपर्ने जनाउने चार प्रकारका लोगो वितरण गरिने छ ।
सो अवसरमा कैलाली होटल व्यवसायी संघका अध्यक्ष कलमबहादुर बमले भान्साको सरसफाई तथा स्वच्छतामा पर्याप्त ध्यान दिइने बताए । “अहिले पनि प्राय: होटलले उपभोक्तालाई स्वच्छ खाना नै उपलब्ध गराउने प्रयास गरेका छन्” अध्यक्ष बमले भने– “कतिपय अवस्थामा आवश्यक ज्ञान नभएका कारण केही कमीकमजोरी भएको हुनसक्छ, त्यसमा हामी सुधार गर्ने छौं ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार