१२ बैशाख २०८१, बुधबार

थारू राष्ट्रिय साहित्यिक मेला सुरु



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–७, पटेलागाउँमा शनिवारदेखि थारू राष्ट्रिय साहित्यिक मेला सुरु भएको छ । साहित्यिक मेला आज (आइतबार) सम्म सञ्चालन हुने जनाइएको छ ।
साहित्यिक मेलाको एक समारोहबीच थारू लोक संस्कृतिविद् अशोक थारूले उद्घाटन गरे । मेलामा सप्तरीदेखि कञ्चनपुरसम्मको थारू साहित्यकार, लेखक लगायतको सहभागिता रहेको छ ।
उद्घाटन कार्यक्रममा लोक संस्कृतिविद् अशोक थारूले पुर्खाहरूले देखेभोगे जस्तै संस्कृतिलाई लोककाव्य र लोकसाहित्यमार्फत पस्किनु पर्ने बताए ।
कार्यक्रमका अध्यक्ष तथा थारू लेखक सङ्घका अध्यक्ष कृष्णराज सर्वहारीले लोक साहित्य संरक्षणका लागि युवा पुस्ता जुर्मुराउन आवश्यक रहेको चर्चा गरे ।
सो अवसरमा थारू कला, साहित्य तथा संस्कृति संरक्षणमा योगदान पुर्‍याएवापत लोक गायक मनिराम चौधरी, लेखक फूलराम चौधरी र पहुरा थारू दैनिक पत्रिकालाई सम्मान गरियो ।
कार्यक्रममा थारू भाषामा लेखिएका विभिन्न छवटा कृतिको विमोचन समेत गरिएको छ । ठाकुर अकेलाको ‘बौनी’ गजल सङ्ग्रह, पुनाराम कर्याबरिक्काको संयोजन रहेको ‘भौका’ संयुक्त गजल सङ्ग्रह, कृष्णराज सर्वहारी र सोमन डेमनडौराको संयुक्त सम्पादनमा रहेको ‘हल्कोरा’ संयुक्त मुक्तक सङ्ग्रह र रूपन्देहीका बमबहादुर थारूको ‘छन्द कुमारी’ कविता सङ्ग्रह तथास्वर्गीय तुलसीराम चौधरीको ‘थारू मांगर’ विमोचन गरिएको थियो ।
उद्घाटनपछि दोस्रो सत्रमा मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीले गजल तथा कथा लेखनबारे चर्चा गरेका थिए ।
त्यसै गरी, दीपक तुलाधरले विद्यालयमा मातृ भाषा कार्यान्वयनको अवस्थाबारे जानकारी गराएका थिए भने भाषाविद् पदम राईले थारू मानक भाषाबारे जानकारी गराएका थिए । मेलाको (आज) दोस्रो दिन थारू महिला साहित्यकारहरूको लेखन अवस्था, थारू गीतसंगीत लगायतबारे गम्भीर छलफल गर्दै घोषणापत्र समेत जारी गर्ने आयोजकले जानकारी दिएको छ ।
मेलामा नृत्य, गीत, गजल, मुक्तक लगायत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन ईन्दु थारू र स्वागत मन्तव्य सङ्घका सदस्य दिलबहादुर चौधरीसे राखेक थिए । मुलुकको विभिन्न जिल्लाका थारू साहित्यकारहरूको जमघट रहेको छ ।

मेलाका केही झलक

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार