१२ बैशाख २०८१, बुधबार

सफल भएन साइपाल आरोहण (भिडियोसहित)



बझाङ । पहिलो पटक गरिएको साइपाल आरोहण प्रयास असफल भएको छ । बझाङ जिल्लामा रहेको सात हजार ३१ मिटर अग्लो साइपाल हिमाल आरोहण गर्न २५ दिनअघि गएको अमेरिकी र क्यानेडियन आरोहीहरूको टोली चुचुरोमा पुग्न नसकेर फर्किएको छ ।
पहिलो पटक साइपाल आरोहणको प्रयास भएको थियो । अमेरिकी नागरिक फोरेस्ट सी कोट्सको नेतृत्वमा रहेको आरोहीहरूको टोली दक्षिणी मोहडाबाट साइपाल हिमाल आरोहण गर्न अक्टोबर ३ तारेखमा आधार शिविर पुगेको थियो । आरोहण दलमा अमेरिकी स्की खेलाडी बिलियम एस लासेल्स, ट्यालेर जोन, बेनार्ड स्ट्राग्वलेवस्की र जोन्सन थम्पसन तथा क्यानाडाका चाड सार्यससहित सदस्य रहेका थिए ।

आरोहण दलका सहयोगी दिलबहादुर थापामगरका अनुसार आरोहीमध्येका ट्यालेर जोन र बेनार्ड स्ट्राग्लेवस्की अक्टोवर २७ तारेखमा बिहान साइपाल हिमालको छ हजार सात सय मिटरसम्म पुगेको थिए । “अचानक तापक्रममा गिरावट आयो र तीब्र गतिमा हावा चल्न थाल्यो” उनले भने– “मौसम अचानक खराब भएकाले आरोहीहरू फर्किनु पर्‍यो । आरोहण दलले तीन पटक साइपाल आरोहणको प्रयास गरेको थियो ।”
आरोहण दलका सहयोगी दिलबहादुरका अनुसार साइपालमा ६० डिग्री भन्दा बढी भिरालोपन रहेको र दक्षिणी मोहडाबाट साइपाल आरोहण गर्न निकै कठिन रहेको छ । अक्टोबरमा लगातार हिमपात हुने हावाको गति तीब्र हुने गरेकाले आरोहणमा कठिनाई आउने गरेको छ ।
विदेशी आरोहीहरू साइपाल आरोहण गर्न असफल भए पनि बझाङको साइपाल गाउँपालिकाका लक्ष्मी बुढा र संगिता रोकाया, सुर्मा गाउँपालिकाकी पवित्रा बोहरा तथा तल्कोट गाउँपालिकाकी सरस्वती थापाले कात्तिक महिनाको तेस्रो सातातिर पुन: आरोहणको प्रयास गर्ने बताएका छन् ।
बझाङका महिला आरोहीहरूलाई सहयोग गर्न विश्वका आठ हजार मिटर भन्दा बढी उचाईका १४ वटा हिमाल आरोहण गरिसकेका स्पेनिस नागरिक जर्ज इगोचेएगा र महिला आरोही एडुुर्ने पासावन सहित १२ जना विदेशी आरोहीहरूको टोली साइपाल वेसक्याम्प रहेको औंलागाड पुगेको बताइएको छ । टोलीमा इटालीकी ७५ वर्षीया आरोही ओडिना ग्रोसो पनि सहभागी रहेकी छन् ।
त्यस्तै, आरोहण दलमा १० पटक सगरमाथाको आरोहण गरिसकेका पेछोम्बे शेर्पा र अन्य चार जना अनुभवी आरोही समेत रहेका छन् ।
आरोहण दल १५ दिनसम्म साइपालको बेसक्याम्पसमा रहने र मौसम अनुकुल भएपछि आरोहणका लागि प्रस्थान गर्ने बताइएको छ ।
यसैबीच, साइपाल आरोहण दलको सामान बोकेर फर्किदै गरेका एक जना भरियाको भिरबाट लडेर मृत्यु भएको छ । प्रहरीका अनुसार तल्कोट गाउँपालिका वडा नम्बर ३ का ३२ वर्षीय पुरन खत्रीको भीरबाट लडेर मृत्यु भएको छ ।
उनको तल्कोट गाउँपालिका वडा नम्बर ७ मा पर्ने सुनपानी भन्ने ठाउँको भिरबाट तीन सय ५० मिटर तल खसेर उनको ज्यान गएको थियो ।
उनी मंगलबार साँझ भिरबाट लडेको भए पनि उनीसँग गएका अरू भरियाले प्रहरीलाई खबर गरेपछि तल्कोट इलाका प्रहरी चौकीको टोलीले खोजी गर्दा बुधबार दिउँसो मात्र उनको शव फेला परेको प्रहरी निरीक्षक नैनबहादुर साँउदले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार