१३ बैशाख २०८१, बिहीबार

खास फार्मेसी सञ्चालन हुँदै



धनगढी । विदेशमा सिकेको ज्ञान, सीप, प्रविधि र अनुभव प्रयोग गरी धनगढीको चटकपुरमा एक समूहले खास फार्मेसी सञ्चालन गर्ने भएको छ ।
विदेश गई स्वास्थ्य विषयमा स्नातक, स्नातकोत्तर, विद्यावारिधि गरेका र औषधि विज्ञानका साथै अन्य स्वास्थ्य सेवासँग सम्बन्धित विषय तथा शिक्षा क्षेत्रमा ज्ञान, सीप र अनुभव हासिल गरेका विज्ञहरूको सामुहिक प्रयासमा सो फार्मेसी खोल्न लागिएको हो । कात्तिक १७ गते सो फार्मेसी उद्घाटन गरिने सञ्चालक चक्र जोशीले बताए ।
सो समूहले ‘खास हेल्थ प्रालि’ स्थापना गरी खास सामुदायिक फार्मेसी स्थापना गर्न लागेको हो । रोगको उचित निदान, औषधि, औषधि सेवन गर्ने उचित विधि तथा सम्पूर्ण परामर्श दिई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाको उद्देश्य रहेको निर्देशक डा. तारामान कडायतले बताए । खास फार्मेसीमा फार्मेसी, प्रयोगशाला र स्वास्थ्य परामर्श क्लिनिक सेवा दिइने उनले बताए ।
समाजमा कोही पनि स्वास्थ्य सेवाबाट वञ्चित नहोस र परामर्शको अभावमा कसैको ज्यान नजाओस् भनि फार्मेसी खोल्न लागेको खास हेल्थ कम्पनीका अध्यक्ष डा. गणेश बिष्टले बताए । उनले फार्मेसीले नाफाका लागि स्वास्थ्य सेवामा अस्वस्थ प्रतिस्पर्धा नगर्ने र यस प्रयासलाई राज्यले पनि अनुसरण गरी स्वास्थ्य सेवा अझै प्रभावकारी बनाउने दावी गरेका छन् ।
देशविदेशमा रहेका विज्ञहरूको सामुहिक प्रयासबाट नेपालको स्वास्थ्य विज्ञान तथा प्रविधि क्षेत्रमा विकास गर्नको लागि स्तरीय विश्वविद्यालय, औषधि, कस्मेटिक र पौष्टिक खाद्य उद्योग, सामुदायिक स्मार्ट फार्मेसी, सुविधा सम्पन्न मेडिकल सेन्टर तथा अन्तर्राष्ट्रियस्तरको अनुसन्धान केन्द्र स्थापना गरी रोजगारी सिर्जना गर्ने उद्देश्यले कम्पनी स्थापना गरेको सस्थापक तथा भागेस्वर एकेडेमी फर हेल्थ साइन्सका सहअध्यापक फर्मासिस्ट राममिलन रानाले बताए । उनले उत्पादनमुलक कार्य गरी राष्ट्रको दीगो विकासमा सहयोग पुर्‍याउन खास हेल्थ कम्पनीले विभिन्न प्रोजेक्ट तयार गरिरहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार