११ बैशाख २०८१, मंगलवार

आउँदो मंसिरबाट पालिकास्तरीय स्वास्थ्य समीक्षा गरिने



धनगढी । कैलाली र कञ्चनपुर जिल्लाका २२ वटा पालिका लक्षित जिल्लास्तरीय स्वास्थ्य समीक्षा बैठकले पालिकास्तरीय समीक्षा गर्ने निष्कर्ष समिति सकिएको छ ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको दुई दिने समीक्षा बैठकमा कैलाली र कञ्चनपुरका २२ वटै पालिकाको स्वास्थ्य समीक्षा गर्ने छलफल भएको छ । स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले आउँदो मंसिर १५ गतेदेखि पालिकास्तरीय स्वास्थ्य समीक्षा गरिने बताए ।
उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि पालिकाका सबै स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरूको सहभागितामा हरेक तीन÷तीन महिनामा स्वास्थ्य समीक्षा गर्न जरुरी देखिएको बताए । क्षय, कृष्ठ र हात्तीपाइले निवारणमा सुदूरपश्चिम प्रदेश एकदमै पछि रहेकोले यो विषयमा विशेष योजना बनाएर काम गर्न जरुरी रहेको बताए ।
उनले स्वास्थ्य विमा कार्यक्रम कैलालीबाट शुरु भएपनि कैलाली निकै पछि परेर पहाडी जिल्लाहरू अगाडि आइसकेको बताए ।
समीक्षा कार्यक्रममा सहभागी टीकापुर नगरपालिकाका स्वाथ्य संयोजक बलबहादुर रावलले पालिकामा बसेर काम गर्ने वातावरण अझै नबनेको बताए । समापन कार्यक्रममा रावलले केही दिन पहिले बोलाएको समीक्षा बैठकमा मेयर उपस्थित नभएको र उपमेयर उद्घाटन गरी गएको बताए । उनले भने– “वडा अध्यक्षहरूले टाइम छैन भनेर निस्किए समीक्षा राम्रोसँग हुनै सकेन । काम कसरी हुन्छ ?”
उनले आउँदो समीक्षाहरू जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरू समेतको सहभागितामा गहनपूर्वक गराउन निर्देशनलाई आग्रह गरे ।
समापन कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीका तारा तामाङले विगतको तुलनामा कैलाली जिल्लाले स्वास्थ्य क्षेत्रमा निकै फड्को मारिसकेको बताइन् । उनले मातृमृत्यु दर ४८ बाट ३ मा झरेको बताइन् । २० वर्षमुनीको युवती गर्भधारण दर घटेर १६ प्रतिशत २० वर्षमुनीको महिलाले गर्भपतन गर्ने दर पनि १० बाट ८ प्रतिशतमा पुगेको पनि उनले बताइन् । स्वास्थ्य संस्थामा सुत्केरी गराउने दर पनि १६ प्रतिशतबाट ७७ प्रतिशत पुगिसेकेको बताउँदै उनले यो दर शतप्रतिशत बनाउन योजनबद्ध ढंगले काम गर्नुपर्ने बताइन् ।
समीक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुधारका लागि स्वास्थ्यकर्मीहरूको दरबन्दी मिलान, स्वास्थ्य कार्यक्रमहरू र स्वास्थ्य संस्थाको तथ्यांकको समीक्षा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार