१२ बैशाख २०८१, बुधबार

स्वास्थ्य क्षेत्रमा भएका गतिविधिको समीक्षा गर्नुपर्छ : मन्त्री सोडारी



धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले स्वास्थ्य क्षेत्रमा भएका गतिविधिको निर्ममतापूर्वक समीक्षा गर्नुपर्ने बर्ताका छन् ।
कैलाली र कञ्चनपुर जिल्लाका २२ वटा पालिका लक्षित आज धनगढीमा आयोजित समीक्षा कार्यक्रममा मन्त्री सोडारीले निर्ममतापूर्वक समीक्षा गर्दा आगामी योजना बनाउन र भावी लक्ष्य प्राप्त गर्न सहज हुने बताए । उनले काम योजनाका लागि बजेटको अभाव नहुने आश्वासन पनि दिए ।

उनले तत्कालीन सुदू्ररपश्चिम विकास क्षेत्र स्वास्थ्य क्षेत्रमा देशकै पहिलो विकास क्षेत्र र यहाँका चार जिल्ला पनि मुलकभर राम्रा जिल्लामा गणना भएको स्मरण गर्दै त्यतिबेला भन्दा अझ राम्रो अवस्था सिर्जना गर्न स्वास्थ्यकर्मीहरूलाई आग्रह गरे ।
मन्त्रालयका सचिव इन्जिनियर गोगनबहादुर हमालको अध्यक्षतामा भएको कार्यक्रममा सेती र महाकाली अञ्चल अस्पतालका प्रमुख तथा प्रतिनिधिहरू, साविका जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख र २२ वटा पालिकाका स्वास्थ्य शाखाका प्रमुखहरूको सहभागिता रहेको छ । दुई दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा स्वास्थ्य क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ/संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता छ ।
सो अवसरमा मन्त्रालयका उपसचिव किसानराज चिलुवालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे भने आर्युवेद चिकित्सक डाक्टर चेतराज जोशीले स्वागत गरेका थिए ।
समीक्षा गोष्ठीको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थी लगायतले सहजीकरण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार