७ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय कण्डम दिवस मनाइयो



धनगढी । विभिन्न कार्यक्रमसहित शनिबार कैलालीसहित देशभरी २४ औं राष्ट्रिय कण्डम दिवस मनाईएको छ ।
दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, कैलाली स्वास्थ्य कार्यालयको आयोजना र एएचएफ नेपालसहित विभिन्न संघसंस्थाको सहयोगमा धनगढीको त्रिनगर सीमानाकाबाट आवतजावत गर्ने व्यक्तिको रगत परीक्षण गरिएको थियो ।
एएचएफ नेपालका माधव पन्तका अनुसार शनिबार सीमामा आवतजावत गर्ने एक सय २० जनाको रगत परीक्षण गरिएको थियो । सो अवसरमा दुई हजार सात सय थान कण्डम वितरण गरिएको थियो । त्यस्तै, एचआईभी, एड्स रोकथामका लागि जनचेतनामूलक पर्चापम्पलेट पनि वितरण गरिएको थियो ।
‘दोहोरो सुरक्षाका लागि कण्डमको प्रयोग गरौं’ भन्ने नाराका साथ आयोजना गरिएको दिवसको स्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले उद्घाटन गरे । वरिष्ठ जनस्वास्थ्य प्रशासक पछिल्ला वर्षहरूमा एचआईभीको संक्रमण दर कम भइरहेको बताए । उनले एचआईभी पीडितको संख्या घटाउन सुरक्षित यौन सम्पर्कका लागि कण्डम लगायतका अस्थायी साधनको प्रयोग गर्न जरुरी रहेको बताए ।
उनले कैलाली सहित सुदूरपश्चिममा अझै पनि कण्डमको प्रयोग गर्न भन्दा लाज मान्ने गरिएको पाइएको बताए । “कण्डम प्रयोग गर्नुपर्छ भन्दा मान्छे त्यो लिन पनि लाज मान्छन्” उनले भने– “जसले गर्दा अझै पनि कुनै न कुनै कारणले एचआईभी संक्रमित फेला गर्ने गरेका छन् ।”
स्वास्थ्य कार्यालय कैलालीका अनुसार नेपालमा ३१ हजार २० जनामा एचआईभीको संक्रमण भएको अनुमान गरिएको छ । नेपालको वयस्कहरूमा एचआईभी रोकथाम शून्य दशमलब १५ प्रतिशत रहेको छ । सन २०११ को जनगणना अनुसार नेपालको जनसंख्या दुई करोड ६५ लाख रहेको छ भने वार्षिक वृद्धिदर एक दशमलब तीन प्रतिशत रहेको छ । प्जनन उमेर समूहका महिलाहरूको जन्मदर दुई दशमलब तीन प्रति महिला रहेको र किशोरकिशोरीहरूमा जन्मदर ७१ प्रतिशत रहेको छ ।
नेपालमा कण्डम लगायत अन्य साधनहरू प्रयोग गर्नेहरू करिब ४६ प्रतिशत रहेको छ । आर्थिक वर्ष ०७३/७४ मा कण्डमको प्रयोग दर (नयाँ) २९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार