१२ बैशाख २०८१, बुधबार

सम्पादकीय : पार्किङ नियमको पालना गर



अत्यधिक भीडभाड हुने बजार क्षेत्रमा जहातही जथभावी ढंगले सवारी साधन अड्याउने प्रवृत्ति परिवर्तन गर्न जतिसुकै प्रयास गरे पनि उपलब्धी सून्य झैं भएको छ । साँघुरा सडक, बाहिर सडकसम्म व्यापारिक सामग्रीको प्रदर्शन, ट्राफिक नियमको धज्जी उडाउँदै विपरित साइडबाट समेत हुइकिने सवारी साधनका साथै जहातही जथाभावी ढंगले सवारी साधन पार्किङ गर्ने प्रवृत्ति धनगढीको परिचय झैं भइसकेको छ । धनगढी उपमहानगरपालिकाले मुख्य बजारका केही क्षेत्रमा हलुका सवारी साधनका लागि नि:शुल्क पार्किङ स्थल तोकेको छ । तर, अधिकांस सवारी साधन चालकले ती स्थलमा सवारी साधन पार्किङ गर्ने चासोसम्म दिने गरेका पाइदैन । बरु बजारमा जहातही जथाभावी ढंगले सवारी साधन खडा गर्ने प्रवृत्तिले भने निरन्तरता पाइरहेको देखिन्छ । अझ, अस्पताल, निजी क्लिनिक, प्याथोलोजी, र बैंक तथा वित्तीय संस्थाका कार्यालय अगाडि मोटरसाइकल, स्कृटी, जीपकारको बाक्लो रूपमा पार्किङ हुने गरेको पाइन्छ ।
धनगढीका एलएनचोकदेखि पश्चिम कैलाली पुल र पूर्व पार्कचोकसम्म, पार्कमोडदेखि टेलिकमसम्म, साल्टट्रेडिङ र बसपार्क अगाडि, चौराह लगायतका क्षेत्र निकै भीडभाड हुने स्थानका रूपमा रहेका छन् । र, यीनै स्थानमा सवारी साधन जथाभावी रूपमा पार्किङ गर्ने समस्या चर्को रूपमा रहेको छ । पार्किङ निषेधित गरिएको स्थानमा सवारी साधन राखिने गरिएको छ । तर, यसरी नियम उलंघन गरिदा कुनै किसिमको दण्डसजाय गरिदैन । परिणामस्वरूप अहिलेसम्म धनगढीका मुख्य बजार क्षेत्रमा ट्राफिक नियम पालनाको सवाल गफगाफको विषय मात्रै बनेको देखिन्छ ।
अहिलेदेखि नै ट्राफिक नियमको प्रभावकारी र पूर्ण पालनाका लागि प्रयास गरिएन भने पछि यो समस्या झन् चर्को हुनेमा शंका रहँदैन । त्यस्तै, पार्किङस्थल तोकिएका स्थानमा मात्र सवारी साधन राख्ने र नो पार्किङको कडाईका साथ पालना गर्ने गराउने बानीको अभ्यास गराउनेतर्फ पनि अहिलेदेखि नै ठोस ढंगले सोचिनु पर्दछ । सभ्य, सुसंस्कृत र समृद्ध शहर बनाउन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाएकै हुनु पर्दछ । यसका लागि लेन अनुशासन, पार्किङस्थलको प्रयोग तथा नो पार्किङ नियमको कडाईका साथ पालना अनिवार्य हुन्छ ।
बजार तथा राजमार्ग र अन्य प्रमुख सडकमा प्राय: ट्राफिक प्रहरी सवारी साधनको चेकजाँचका लागि तैनाथ भएको पाइन्छ । तर, लेन अनुशासनको सवाल होस् वा पार्किङ निषेधित क्षेत्रको पालनाको प्रश्न होस् अथवा बढी भीडभाड हुने बजार क्षेत्रमा जथाभावी ढंगले सवारी साधन अड्याउने विषय होस्, ट्राफिक प्रहरीको ध्यान गएको पाइदैन । सवारी चेकजाँचका लागि ट्राफिक प्रहरीको तैनाथीले ट्राफिक नियम पालनामा के कति योगदान पुर्‍याउछ ? सधैं प्रश्न लाग्ने गरेको अवस्था छ ।
तीब्र रूपमा शहरीकरण भइरहेको धनगढीमा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन अहिलेसम्म भएगरेका प्रयासको गम्भीर समीक्षा गरेर लामो समयलाई ध्यानमा राखेर ठोस योजनासहित काम गर्नु आवश्यक भइसकेको छ । ट्राफिक प्रहरी, उपमहानगरपालिका, उद्योग वाणिज्य संघ, स्थानीय प्रशासन लगायतका सरोकारवालाहरूको समन्वयमा धनगढीमा ट्राफिक व्यवस्थापनलाई उपलब्धिमूलक बनाउन अब ढिलाई गरिनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार