७ बैशाख २०८१, शुक्रबार

दशै तिहार मनाउन फर्किएका नेपालीहरुलार्इ सीमानाकामा सजिलो (भिडियाेसहित)



धनगढी । भारतबाट दशै तिहार मनाउन फर्किएका नेपालीहरुले सीमा क्षेत्रमा सजिलो हुन थालेको महशुस गर्न थालेका छन् ।
सोमबार बिहान सीमा क्षेत्रको अनुगमनमा पुग्नु भएका कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ र सशस्त्र प्रहरी वलका प्रहरी नायव महानिरिक्षक नगेन्द्र थापासंग भारतबाट फर्किएका सर्बसाधारणले यसपटक सीमामा सहजता महशुस भएको बताएका हुन् ।
पहिले सँधै भारतिय सुरक्षाकर्मी र कस्टमका अधिकारीले दुरब्यवहार गर्ने, पैसा माग्ने काग गर्दथे भारतको सुरतबाट आउनु भएका लम्की कैलालीका टेकेन्द्र खड्काले भन्नुभयो यसबर्ष त्यस्तो झंझट भोग्नु परेन । ४० बर्षदेखि भारतमा गएर रोजगारी गर्दै आएका विष्णु महरले पनि पहिलो पटक सजिलै धनगढी पुगेको बताए ।
नेपाल–भारतको संयुक्त पहलमा नेपाल भारत सीमा गौरीफन्टामा सहायता कक्ष स्थापना भएपछि भारतबाट फर्किएका नेपालीहरुले सहजता महशुस गर्न थालेका हुन् । विगतमा भारतिय क्षेत्रमा मात्रै होइन नेपाली पक्षले समेत सीमा क्षेत्रमा दुःख दिने गरेकोमा यसपटक त्यस्तो सास्ती झेल्नु परेन भारतको सुरत शहरबाट फर्किनु भएका डोटीका लालबहादुर भाटले भन्नुभयो यस्तै व्यवस्था सँधै भए हुन्थ्यो ।

सहायता कक्षमा नेपालको शसस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलका सुरक्षाकर्मी बस्ने गरेका छन् । सहायता कक्ष खुलेपछि भारतबाट आउनेलाई राम्रो व्यवहार गर्ने, प्रतिबन्धित सामाग्री ल्याएको शंका लागेपछि मात्रै सरससामान खोलेर हेर्ने, रिक्सा, अटो लगायतका सवारी साधनबाट ठगिन नदिने प्रयास भएको छ ।

नेपाली र भारतिय दुबै पक्षका सुरक्षाकर्मी र भन्सारका कर्मचारीलार्य दईवटै देशका उच्च अधिकारीहरुले भारतबाट आउनेलाई अनावश्यक दुःख दिने प्रयास गरे कार्बाही गर्ने चेतावनी दिएपछि पनि नेपालीहरुले सहजता महशुस गरेका हुन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठका अनुसार दुईवटै देशका सुरक्षा अधिकारीको छलफलपछि दुई सातादेखि दशै लक्षित सहायता कक्ष स्थापना गरिएको हो । दशै तिहारको अवसरमा दैनिक २५ हजारसम्म नेपालीहरु गौरीफन्टा नाका हुँदै भारतबाट आउने गरेको अनुमान छ ।
सीमा क्षेत्रको अघिल्लो साता सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि अनुगमन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार