७ बैशाख २०८१, शुक्रबार

थारू साहित्यिक मेलाको तयारी पूरा



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–७, पटेलामा यही चैत १९ र २० गते हुने थारू साहित्यिक राष्ट्रिय मेलाको तयारी पूरा भएको स्थानीय आयोजक जनाएको छ ।
बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी तयारी पूरा भएको जनाएको हो । थारू भाषा, साहित्यको संरक्षण र सम्बद्र्धन गर्न मेला आयोजना गरेको थारू लेखक सङ्घका सदस्य दिलबहादुर चौधरीले बताए । थारू साहित्यिक राष्ट्रिय मेलामा नेपालको पश्चिम कञ्चनपुरदेखि पूर्व नवलपरासीसम्मको थारूहरूको सहभागी रहने र अतिथिहरूको खाने बस्ने व्यवस्था लगायत सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
दुई दिने कार्यक्रम अन्तर्गत यही चैत १९ गते सखिया नाँच प्रस्तुत, उद्घाटन सत्र, पोस्टा विमोचन, सम्मान, थारू लोकसाहित्यबारे छलफल, थारू पत्रपत्रिका, पत्रकारिताको चुनौती, थारू साहित्यमा महिला लेखन, साहित्य किन आवश्यक सम्वाद कार्यक्रम र मदन पुरस्कार विजेता रामलाल जोशीसँग अन्तरसम्बादको कार्यक्रम रहेको छ ।
त्यसै गरी, चैत २० गते थारू मानक भाषा, लेख्ने र बोल्ने तरिका, मनिराम चौधरीबाट लोकगीत प्रस्तुत, मातृभाषामा शिक्षा किन विषयमा सामूहिक छलफल, कदर पत्रप्रदान, घोषणा पत्रजारी गरी दुई दिने कार्यक्रमको समापन हुने बताइएको छ ।
थारू साहित्यिक राष्ट्रिय मेला कैलालीमा पहिलो पटक हुन लागेको हो । यस्तै कार्यक्रम २०७३ वैशाख ३, ४ गते दाङको घोराहीमा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार