७ बैशाख २०८१, शुक्रबार

निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी- व्यवसायीहरू भन्छन् : अपेक्षा गरे अनुसार हुन सकेन



धनगढीमा बुधबारदेखि निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी–२०७५ जारी छ । प्रदर्शनी आज  समापन हुँदैछ । कैलाली हार्डवेयर व्यावसायी संघको आयोजनामा सञ्चालन भएको प्रदर्शनीमा ६० बढी स्टल रहेका छन् । पहिलो पटक आयोजना भएको प्रदर्शनीबारे निर्माण सामग्री तथा हार्डवेयर व्यावसायीहरूको अनुभव कस्तो रह्यो ? अनुमोदन दैनिकले केही व्यवसायीहरूको प्रतिक्रिया संकलन गरेको छ । प्रस्तुति : शेरबहादुर ऐर

 

आशा गरेअनुरूप हुन सकेन

सन्तोष शाह
सेल्सम्यान, त्रिशक्ति सिमेन्ट

चार दिनको प्रदर्शनी हो । अवलोकनकर्ताहरू आइरहेका छन् । मेरो स्टलमा दैनिक १५/२० जना अवलोकनकर्ताहरू आउने गरेका छन् । उहाँहरूले सिमेन्टको क्वालिटी कस्तो छ ? उत्पादन कति हुन्छ ? कम्पनी कहाँ छ ? लगायतका जिज्ञासाहरू राख्ने गरेका छन् । कुनै सिमेन्ट बढी विक्री हुन्छ, कोही कम हुन्छ । तर, हामीले अनुमान गरेअनुरूप हुन सकेको छैन । सायद प्रचारप्रसारमा कमी भएको होला । व्यवस्थापनमा पनि केही कमजोरी देखिएकोले सोचेजस्तो नभएको हुन सक्छ । यो पहिलो पटक आयोजना भएकोले पनि यस्तो भएको हुन सक्छ । आगामी दिनमा सञ्चालन हुँदा राम्रो हुन्छ कि भन्ने आशा लिएको छु ।

 

 

प्रचारप्रसारमा कमी भयो

सन्दीप मल्ल
मध्य तथा सुदूरपश्चिम मार्केटिङ् स्टाफ, नेपाल टप

हामीले स्टलमा नेपाल टपको पिपिआर पाइप, पिपिसि पाइप, पानी तान्ने मोटर, झ्याल ढोका, पानी ट्यांकीहरू प्रदर्शनीमा राखेका छौं । यहाँको जनसंख्या हेरेर जुन किसिम र सोच राखेर आएका थियौ, त्यो अनुसार हुन सकेको छैन । प्रचारप्रसारको कमी भएको हो वा व्यवस्थापकीय कमजोरी हो, थाहा भएन । मेरो स्टलमा दिनमा ५/१० जना मानिसमात्र आइरहेका छन् । हामीले दैनिक ५०/६० जना आउने अपेक्षा लिएका थियौं । नेपाल टप भनेपछि प्राय: सबैलाई थाहा भएको कुरा हो । नेपाल टप भनेपछि गुणस्तरीय र ब्राण्ड राम्रो छ भनेर सबैले बुझेका छन् । आउनेलाई त्यति धेरै बुझाउनु पर्दैन । दुई/चार जना हार्डवेयरबाट नेपाल टप राख्ने भनेर बुझ्न आउने गरेका छन् । नेपाल टपको पिपिआर पाइप नेपालमा नम्बर १ पाइप भनेर चिनिन्छ । जसमा लेउ लाग्दैन्, तातो र चिसो दुबै ठाउँमा यो प्रयोग गर्न सकिन्छ । मानिसको सपना हुन्छ एउटा राम्रो घर बनाउँ र घर बनाइसकेपछि दुई पैसा महँगो हुन्छ भनेर राम्रो क्वालिटिको सामान राख्नमा उहाँहरू डराउनु हुँदैन ।

 

लाभदायक प्रदर्शनी

अशोककुमार दाहाल
क्षेत्रीय मार्केटिङ म्यानेजर, मार्भेल टेक्नोक्लाष्ट प्रालि, विराटनगर

हाम्रो कम्पनीले सात/आठ वटा श्रेणीका प्लम्बिङ पाइप उत्पादन गर्ने गरेको छ । कुनै पनि कम्पनीका लागि आफ्नो उत्पादनहरूबारे जानकारी दिन यस्तो किसिमको प्रदर्शनी लाभदायिक हुन्छ । बजारमा कस्ता र कुन प्रकारका उत्पादनहरू रहेका छन् भनेर उपभोक्ताले मूल्यांकन गर्न सक्नुहुनेछ । यो प्रदर्शनी सबै कम्पनीहरूका लागि एउटा राम्रो ‘प्लेटफर्म’ हो । उपभोक्ता र उत्पादकको सम्बन्ध बढाउन यस्ता प्रदर्शनी हुन जरुरी छ । हामीले कस्ता प्रकारका अवलोकनकर्ताहरू आइरहेका छन भन्नेमा ध्यान दिने हो । यो सँग सम्बन्धित मानिस आइरहेका छन् वा छैनन् । हाम्रो यो प्रदर्शनीमा जो सँग सम्बन्ध छैन, उहाँहरू आइरहनु भएको छैन । हुल देखाउने मानिस होइन् की सम्बन्धित मानिसले आएर यहाँ बुझेर जानु ठूलो कुरो हो । हाम्रोमा डिलर र इञ्जिनियर, प्रदेशका मन्त्री तथा अन्य पदाधिकारीहरू अवलोकन गरेर गएका छन् । हामी यस क्षेत्रमा यो पाइपको बजार बनाउन आएका हौं । यसका लागि यो प्रदर्शनले मद्दत पुर्‍याउँछ । हामीले उत्पादन गर्ने पाइपहरू गुणस्तर र मजबुत रहेका छन् । यी पाइप उपभोग गर्न चाहने उपभोक्ताहरूलाई कुनै पनि प्रकारका जिज्ञासा भए यहाँ आएर बुझन सक्नेछन् ।

 

व्यवस्थापकीय कमजोरी भयो

धनेश्वर पौडेल
प्राविधिक, आइटिपिएफ ग्रुप अफ कम्पनी

प्रदर्शनीमा एउटा कुरो चित्त बुझेन । सूचनाको कमी हो वा व्यवस्थापनको कमी हो त्यो थाहा भएन् । जुन अनुपातमा मानिस आउनुपर्ने हो त्यो अनुसार आएको जस्तो देखिदैन । दैनिक पाँच देखि १० जना आउने गरेका छन् । मेरो स्टलमा अहिलेसम्म ५० जना आए पनि मैले अभिलेख राखे अनुसार २३ जनाले सामानबारे जानकारी लिएका छन् । दुई चार जना डिलर किन्ने ढंगले तथा दुईचार जना ईन्जिनियरले बुझ्ने हिसाबले र दुई चार जना प्रविधिबारे जानकारी लिन आउने गरेका छन् । पाइप कस्तो बनेको छ, पाइपको गुणस्तर, कहाँ बन्छ ? कसरी हामीले पाउने लगायतका विषयमा अवलोकनकर्ताले जिज्ञासा राख्ने गरेका छन् । हामीसँग आईटिपिएफ ब्राण्डको पिपिसि पाइप, पिपिआर पाइप, एचडिपी, कन्डुयुर्ट लगायतका पाइपहरू रहेका छन् । हामीसँग रहेका पाइपहरू राम्रो र गुणस्तरीय छन् भने सस्तो पनि रहेको छ ।

 

 

मेलासँग तुलना गर्न हुँदैन्

सुरेन्द्र राठी
अध्यक्ष, कैलाली हार्डवेयर व्यवसायी संघ

सुदूरपश्चिममा पहिलो पटक प्रदर्शनी भएको हो । तेस्रो दिनसम्म सोचे बमोजिम प्रदर्शनी राम्रै भएको छ । उपभोक्ता चासो देखाएर आइरहेका छन् र कम्पनीहरूले त्यही दृष्टिकोणले उत्पादनबारे जानकारी गराइरहेका छन् । यो अन्य मेलासँग तुलना गर्न हुँदैन् । यो व्यापारिक प्रदर्शनी हो । यसमा रुची राख्ने मानिस आउने हो । पहिलो पटक भएर मानिसले यसबारे जानकारी नभएको होला यसलाई सकारात्मक ढंगले लिएका छौं । हामीले यसलाई व्यवस्थित गर्दै लैजाने कोसिस गरेका हौं । केही कमिकमजोरी भएको होला त्यसलाई आगामी दिनमा सुधार गर्दै लगिने छ । सूचनामा कमी कमजोरी भएको जस्तो लाग्दैन् । टिकट राख्नु भनेको यसलाई व्यवस्थित गर्नु हो । नि:शुल्क बनाउदा हेर्ने दृष्टिकोण पनि राम्रो बन्दैन् ।
यो तीन दिनसम्म प्रदेशका सभामुख, मन्त्री, जनप्रतिनिधि, मन्त्रालयका सचिव, यस क्षेत्रका इन्जिनियर, प्राविधिक, उपभोक्ता लगायतकाले अवलोकन गरिसकेका छन् ।

 

राम्रो अवसर

रोहित गौतम
एएक्सएन ट्रेडिङ प्रालि, वीरगन्ज

म सुदूरपश्चिम र मध्यपश्चिममा डुलक्स पेन्टस वितरण गरिरहेको छ । यस क्षेत्रमा यो पेन्टसको बारेमा जानकारी दिएर सेवा गर्न मौका पाएको छु । यो प्रदर्शनीले डुलक्सको बारेमा जानकारी सहयोग गरिरहेको छ । यो प्रदर्शनी पहिलो हो । शुरुवाती चरणमा भएकोले हामीले त्यति धेरै अपक्षा गरेका थिएनौं । हामीले अपेक्षा गरेभन्दा धेरै राम्रो भएको छ । यो मेला होइन्, व्यापार गर्ने जुराएको एउटा माध्यमका रूपमा हामीले लिएका छौं । यस्तो धेरै मान्छे आउने हुँदैन्, तर मन्छेहरू आइरहेका छन् र यसको बारेमा बुझाउन पाइरहेका छौं । मेरो स्टलमा मान्छेहरू अपेक्षा गरेअनुसार आइरहेका छन् । प्राय:जसो व्यक्तिहरू यस पेन्टसका बारेमा चासो लिएर आइरहेका छन् । यस प्रदर्शनीका लागि ठूलो क्षेत्र हुनुका साथै यो प्रदर्शनीको बारे विज्ञापन/सूचना बढीभन्दा बढी गरेको भए हामीलाई सजिलो हुन्थ्यो । जनताहरू यो बजारको बारेमा थाहा पाए बढी आउथें । यहाँ आउनेहरू यो पेन्टसको बारेमा जानकारी लिइरहेका छन् । यसका बारेमा खुद्रा ग्राहकदेखि डिलर राख्नेहरू पनि सम्पर्कमा आइरहेका छन् । यहिलेसम्म यो पेन्टसको डिलर छैन, डिलरकै लागि हामीले यो प्रदर्शनीमा आएका हौं ।

 

सोचे जस्तो भएन

रूपक श्रेष्ठ
सिनियर विजनेश डेभलपमेन्ट म्यानेजर, सिद्धार्थ सनराईज इण्डष्ट्रीज

सोचेको जस्तो प्रदर्शनीमा भएको छैन । जुन काठमाडौंबाट हामी यहाँ आएका थियौं, त्यस अनुरूप भएको छैन । पहिलो पटक भएर होला, यसको बारेमा मान्छेले थाहा पनि पाएका छैनन् होला । यो बजारको पहिलो प्रदर्शनीको हिसाबले व्यवस्थापन राम्रो नै छ । तर, अवलोकनकर्ता हामीले सोचेको भन्दा धेरै कम आएका छन् । हामी कहाँ एकदम न्यून रूपमा मान्छेहरू अवलोकन गर्ने आइरहेका छन्, हामीले काठमाडौंमा भएको प्रदर्शनीको तुलना गर्दा यो बजारमा अवलोकनकर्ता कम आइरहेका छन् । यहाँका लागि यो नयाँ उत्पादन भएकोले यसका बारेमा ग्राहकहरूसँग राम्रै कुराकानी भइरहेको छ । सिद्धार्थ सनराइजले विशेष गरेर यूबीबीसीका छानाहरू र गोयल मेडलको स्टेललेश स्टील पाइपहरू विक्रीवितरण गर्नेगर्छ । अहिले हामीसँग मिश्रित ग्राहकहरू आइरहेका छन् । कोही डिलरको लागि कोही खुद्रा विक्रेताहरू पनि अवलोकनकर्ता आइरहेका छन् ।

 

जिज्ञासुहरू आएका छन्
अनुपम क्षेत्री
मार्केटिङ अफिसर, एभरेष्ट इण्डष्ट्रिज लिमिटेड
सात नम्बर प्रदेशमा विकासको शुभारम्भ चरणमा रहेको छ । अब बन्ने यहाँका संरचना हल्का पनि होस् र बलियो पनि होस् भन्ने उद्देश्य हामीले लिएका छौं । हामीले यहाँ राखेका यी बोर्ड, प्यानल, पल्याडिङ लगायतका सामग्रीहरू समय वचत र कम खर्चमा घरको संरचना तयार गरिन्छ । हाम्रो उद्देश्य भनेको ‘राम्रो र बलियो घर’ भन्ने नै हो । हामीले चार दिनको प्रर्दशनीमा स्टल राखेका छौं । यहाँ जति पनि आइरहेका छन् उनीहरूले यो नयाँ विषयमा जान्ने मौका पाएका छन् । यो धनगढीमा यस्तो संरचना बनाउने काम शुरु भएको दुई वर्ष जति भयो । मानिसले अहिले यस विषयमा बुझेका छन् । भविष्यमा यस प्रदेशका अस्पताल, कलेज, विद्यालय, सार्वजनिक स्थलहरू पनि भौतिक संरचना यस्तो बनाउँदा सुरक्षित हुने छन् । नागरिकले थाहा पाएपछि इट्टाबाहेक अन्य सामग्रीले पनि घर बन्छ भन्ने मानिसले थाहा पाउन भनेर यो प्रदर्शनीमा स्टल राखेका हौं । हजार/लाख मानिस आएर हेरेर गएको कुनै फाइदा छैन् । यहाँ जसले यो कन्स्ट्रक्सनबारे जानकारी लिन चाहन्छन ती आए फाइदा हो । अहिलेसम्म मेरोमा २०/३० जना आएका छन् उनीहरूले केही न केही कुरा मसँग सिकेर वा बुझेर गएका छन् ।

 

सम्बन्धित समाचार

निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी शुरु
निर्माण तथा हार्डवेयर सामग्री प्रदर्शनी हुने
हार्डवेयर व्यावसायी भन्छन्–

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार