१२ बैशाख २०८१, बुधबार

हार्डवेयर व्यावसायी भन्छन्–



सुदूरपश्चिम प्रदेश विकासका लागि भर्जिन
सुदूरपश्चिममा हार्डवेयर व्यावसायको मात्र होइन् सबै व्यावसायको सम्भावना बोकेको प्रदेश हो । अहिले यो ‘भर्जिन’ नै छ । खासै कार्यहरू केही पनि भएको छैन । प्रदेश सरकार बनेको केही समय मात्रै भएको छ । सम्भावनाहरूलाई योजनावद्ध ढंगले प्रदेश र संघीय पक्षबाट व्यवस्थित गर्न सक्यो भने सम्भावनालाई पूर्णरूपमा पूर्णता दिन सकिन्छ ।

सुरेन्द्र राठी
अध्यक्ष, कैलाली हार्डवेयर व्यवसायी संघ

केन्द्रबाट यो प्रदेशलाई पिछडिएको क्षेत्रका रूपमा हेर्ने गरिएको छ । अहिले पनि धेरै कुरामा नौ वटै जिल्लामा पूर्ण विकास भइसकेको छैनन् । हामी हार्डवेयर व्यावसायीलाई सामानहरू पुर्‍याउन पनि समस्या भएको छ । व्यापारको हिसाबले पैसा पनि उठ्न सकेको छैन् ।
हार्डवेयर प्रदर्शनी अहिलेसम्म हुन सकेको थिएन । उत्पादक र उपभोक्ता दुई जनाको भेट गर्ने यो प्रदर्शनीको उद्देश्य हो । उपभोक्ताले मनमा भएका उत्पादन सम्बन्धी जिज्ञासाहरू बुझ्न सक्छन् र उत्पादकले पनि अहिले बजार कस्तो भइरहेको छ ? उपभोक्ताले कस्तो प्रकारका सामानहरूको माग गरिरहेका छन् भन्ने बुझ्न पाउँछन् । उत्पादकले कस्तो सामान, कति मात्रामा यो प्रदेशमा आवश्यक छ भन्ने पनि थाहा पाउने छन् ।
राज्यले स्पष्ट अर्थनीति बनाउनुपर्छ । विकास गर्नु छ भने अर्थनीति स्पष्ट नभई हुँदैन । व्यापारीलाई कानूनभित्र रहेर तथा स्वतन्त्रता दिएर व्यापार गर्न सकिएन भने व्यापार गर्न गाह्रो हुन्छ । धनगढीको सीमाना भारतको ठूल्ठूला औद्योगिक क्षेत्र रहेको शहरहरूको नजिक छ । भविष्यलाई हेर्ने हो भने यो क्षेत्रबाट धेरै सामानहरू आयात गर्न सकिन्छ । त्यसका लागि सीमाको स्तरोन्नती गरेर व्यवस्थित बनाउनुपर्छ । यो नाकाबाट रेल, बस आउन सक्नुपर्छ । २०७३ सालमा नाकाबन्दीको समयमा देशका अन्य नाका ठप्प थिए, तर यो नाकाबाट भारतका सामानहरू आयात भइरहेका थिए । त्यसले गर्दा अहिले पनि कुनै–कुनै उद्योगहरूले अहिले पनि यहि नाकाबाट सामान आयात गर्ने गरेका छन् । कारण लगानी न्यून पर्न जान्छ ।

 

चुनौति नै चुनौति

maya-prakash-bhatta
मायाप्रकाश भट्ट
जगदम्बा हार्डवेयर, धनगढी

हार्डवेयर व्यावसायी चुनौति मै हुर्किरहेकाले हामीले चुनौति मै हिड्नुपर्छ भन्ने सोचाई राखेका छौं । व्यावसायीका तर्फबाट भन्नुपर्दा बेरोजगारी, अविकसित लगायत धेरै चुनौति छन् । हार्डवेयरसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सरोकार राख्ने उद्योगहरूको स्थापना भएको छैन् । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय स्तरका उद्योगहरू छैनन् । सामानहरू कर्णाली पारि र भारतबाट ल्याउनुपर्ने अवस्था छ । त्यसले गर्दा भाडादर पनि महँगो पर्छ । भारतबाट सामान ल्याउँदा सुविधा सम्पन्न नाका नहुँदा जे कामका लागि पनि पूर्व तिरको नाका प्रयोग गर्नुपरिरहेको छ । सुदूरपश्चिम प्रदेश अविकसित प्रदेश हो । पूर्वको तुलनामा यो प्रदेशमा विकास नभएकाले निर्माण सामग्रीको आवश्यकता धेरै छ र खपत हुने देखिन्छ । हार्डवेयर व्यावसायी संघले गुणस्तरीय उत्पादनलाई सुपथ मूल्यमा ग्राहकसम्म पुर्‍याउन यो मेलाको आयोजना गरिएको हो । यसका साथ साथै यो क्षेत्रका व्यावसायी साथीहरूको व्यावसायमा प्रवद्र्धन पुर्‍याउने छ ।

 

 

सुदूरपश्चिममा उद्योगको प्रचूर सम्भावना छ

shankar-tiwari
शंकरप्रसाद तीवारी
कृष्णा हार्डवेयर, धनगढी

सुदूरपश्चिम प्रदेशमा हार्डवेयर सम्बन्धी एउटा पनि उद्योगहरू छैनन् । बाटोहरू पनि नराम्रो छ । भारतबाट आउने बाटो गौरीफण्टा नाकाको बाटोले समस्या छ । पहाडतिरको बाटो पनि राम्रो छैन । उद्योग नहुँदा महँगो शुल्क तिरेर सामान मगाउनुपरेको छ भने बाटो राम्रो नहुँदा ढुवानी खर्च पनि बढ्न गएको छ ।
नयाँ उद्योग लगाउन प्रचूर सम्भावना छ । अहिले अन्य प्रदेशमा भएका उद्योगले उत्पादन गरेको सामानहरू विक्रीवितरणका लागि अर्को प्रदेश पठाउनुपरिरहेको छ । तर, यहाँ उद्योग स्थापना भएपछि यहाँका उत्पादन यहि प्रदेशमा खपत हुने देखिन्छ । उद्योग स्थापना भएपछि उपभोक्ताहरूलाई पनि सस्तो पर्न जान्छ । हाम्रो प्रदेशमा खानीको धेरै छ यसलाई उत्खन्न गर्न सकिन्छ । राज्यले सडक र गौरीफण्टा नाकाहरूलाई स्तरोन्नती गरी व्यवस्थित गर्न जरुरी छ । प्रदर्शनीले उपभोक्ताहरूलाई गुणस्तरीय सामानका बारेमा जानकारी दिने, कम्पनीका बारेमा जाने अवसर पाउँछन् ।

 

प्रदर्शनीले उपभोक्तालाई लाभ दिनेछ

mukesh-gupta
मुकेश कुमार गुप्ता
प्रान्जड ट्रेड एण्ड सप्लायर्स, धनगढी

यो प्रदेशमा हार्डवेयर व्यावसायीका धेरै चुनौतिहरू छन् । हाम्रो प्रदेशमा एउटा पनि उद्योग छैनन् । हामीले सबै सामान बाहिरबाट ल्याएर बेच्नुपर्छ । हामीलाई भाडाले गर्दा अन्य प्रदेशको तुलनामा यस प्रदेशका उपभोक्ताहरूलाई महंगो परिरहेको छ ।
हाम्रो प्रदेशमा हार्डवेयर सामानहरूको विक्रीवितरणको सम्भावना बोकेको छ । निर्माण कार्य यस प्रदेशमा हुन बाँकी छ । अन्य प्रदेश विकास भइसकेका छन् । हाम्रो प्रदेश अन्य भन्दा पछाडि छ । यो प्रदेश विकास हुने पनि छ । सरकारले हार्डवेयर व्यावसायीलाई सहयोगि हिसाबले हेर्न जरुरी छ ।
यो प्रदर्शनीले हाम्रो उपभोक्तालाई ठूलो फाइदा हुने छ । को कम्पनीको सामान लिने नलिने, गुणस्तरीयता कस्को राम्रो छ । कम्पनी, उपभोक्ता र हामी डिलरहरू एउटै टेवलमा छौं । व्यापारीहरूले आफ्नो फाइदाका लागि जे पनि बेचिदिन्छ । वास्तवमा उपभोक्ताले यहाँ आउदा सहि सामान कुन कम्पनीको हो भनेर बुझ्छ ।

प्रस्तुति: शेरबहादुर ऐर/धनगढी

सम्बन्धित समाचार

निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी शुरु

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार