१३ बैशाख २०८१, बिहीबार

सम्पादकीय : महिला आत्मरक्षाको सवल प्रयास



महिलामाथि बढ्दै गएको हिंसा, बलात्कार, हत्याका घटनामा कमी ल्याउन तथा कुनै पनि किसिमको भौतिक आक्रमणबाट आत्मरक्षाका लागि सक्षम बनाउने उद्देश्यसहित धनगढीमा सञ्चालन भएको महिला आत्मरक्षा सम्बन्धी शिविर अहिले निकै चर्चामा रहेको छ । करिब सत्र सय महिला, बालिकाको सहभागितामा सञ्चालन भइरहेको आत्मरक्षा शिविरले महिला तथा बालिकालाई शारीरिक तथा मानसिक रूपमा आफ्नो सुरक्षाका लागि ठूलो हौसला प्रदान गर्नेमा पनि विमति रहँदैन । त्यसैले पनि यो शिविर सञ्चालनमा प्रत्यक्ष तथा परोक्ष रूपमा भूमिका निर्वाह गर्ने सबै संघसंस्था, निकाय धन्यवादका पात्र बनेका छन् । सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही समययता महिलामाथिको हिंसाको घटनामा निकै बृद्धि भएको अवस्था छ । बलात्कार र हत्याका घटना दोहोरिरहेका छन् । कञ्चनपुरका बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अढाई महिना भइसक्दा पनि अहिलेसम्म घटनाको सत्यतथ्य तथा वास्तविक दोषि पत्ता लाग्न नसकेको उदेगलाग्दो अवस्था छ । त्यो घटना अघि र पछि पनि बलात्कारका थुप्रै घटना भइसकेका छन् ।
महिलाका लागि आयोजना गरिएको यो आत्मरक्षा शिविरले उनीहरूलाई कोही पनि आक्रमणकारीसँग मुकाबिला गर्न सक्षम मात्रै बनाउने छैन, आफ्नो सुरक्षाका लागि मनोबल पनि उच्च बनाउने विश्वास गर्न सकिन्छ । प्रदेशका करिब सत्र सय महिला तथा बालिकाले सात दिनसम्म मार्सल आर्टका केही आधारभूत सीपबारे जानकारी मात्रै पाएका छैनन्, कुनै पनि कुनियतले जाइलाग्ने जोकोही विरुद्ध प्रतिरक्षा गर्ने साहस पनि बृद्धि गर्नेमा शंका रहँदैन । सम्भवत: नेपालमा यस्तो प्रकृतिको यो पहिलो कार्यक्रम हो । त्यसैले यसको सफलताले आगामी दिनमा देशैभरी यस्ता खालका शिविर सञ्चालनका लागि बाटो खुलेको भन्न सकिन्छ । आयोजकहरूले यो शिविरबाट प्रशिक्षण प्राप्त गरेका मध्ये उत्कृष्ट एक सय जनालाई प्रशिक्षकका रूपमा तयार गर्ने र प्रदेशका अरू जिल्ला तथा स्थानीय तहमा आत्मरक्षाका शिविरहरू सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।
महिलाका लागि आत्मरक्षा शिविरको सफलतासँगै अब प्रदेश सरकारले वार्षिक कार्यक्रमका रूपमा यसलाई विस्तार गर्नु आवश्यक छ । त्यस्तै, हरेक स्थानीय तहले आफ्नो वार्षिक बजेट र कार्यक्रममा यस्ता खालका रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम समावेश गर्नु पनि उत्तिकै आवश्यक छ । त्यस्तै, हरेक विद्यालयमा बालबालिकालाई केन्द्रीत गरेर आत्मरक्षाका लागि सक्षम बनाउने कार्यक्रम सञ्चालन गरिनु पर्दछ । यस्ता खालका शिविर तथा कार्यक्रममा शारीरिक रूपमा सवल तथा मार्सल आर्टमा सीप र कलामा पारंगत बनाउनेका साथै नैतिक शिक्षा दिने ढंगले विशेष कक्षाहरू पनि समावेश गर्दा अझ बढि उपलब्धिमूलक हुनेमा पनि विमति रहँदैन ।
धनगढीमा आयोजना गरिएको महिला तथा बालिकाका लागि आत्मरक्षा शिविरले स्थानीयदेखि राष्ट्रिय तहमा सकारात्मक चर्चा पाइरहेको सन्दर्भमा मुलुकका अरू प्रदेश तथा जिल्लामा समेत यस्ता कार्यक्रमलाई विस्तार गर्नेतर्फ तीनै तहका सरकारले पहल गर्नु आवश्यक छ । महिला तथा बालिका शारीरिक तथा मानसिक रूपले सक्षम तथा सवल हुँदा महिला हिंसामा उल्लेख्य कमी आउने छ भन्नेमा शंका रहँदैन । किनकि यसले महिला तथा बालिकाको मनोवल उच्च त हुने नै छ, परिवार तथा समाजमा समेत सकारात्मक प्रभाव पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार