१५ चैत्र २०८०, बिहीबार

सम्पादकीय: ट्राफिक नियम पालनाको सवाल



हामीकहाँ ट्राफिक नियम पालनामा हुने गरेको लापरवाही सधैं चर्चामा रहने गरेको छ । दिनहुँजसो सवारी दुर्घटना दोहोरिरहँदा यसको सबैभन्दा अहम् पक्ष भनेको ट्राफिक नियमको कडाईका साथ पालनाको विषयमा सवाल उठ्नु स्वाभाविक पनि हो । अहिले दशैंतिहारको अवसर छ । यतिवेला सार्वजनिक यातायातको क्षेत्रमा स्वाभाविक रुपमा बढि चाप हुने गरेको छ । खासगरी केन्द्रीय राजधानी काठमाडौंबाट दशैंतिहारका लागि घर फर्किनेहरुको संख्या लाखौं हुने गरेको छ । त्यस्तै, सुदूरपश्चिम तथा अन्य प्रदेशबाट भारतका विभिन्न शहरमा रोजगारी र अन्य कामका लागि गएका नेपालीहरु पनि दशैंतिहारमा अत्यधिक संख्यामा घर फर्किने गरेका छन् । त्यसले गर्दा तराईबाट पहाडी जिल्लामा चल्ने यात्रीबाहक बसमा यात्रीको चाप निकै बढ्ने गरेको अवस्था छ । ट्राफिक नियमको प्रभावकारी पालना गर्ने र गराउने भनेको दशैंतिहार सहित विशेष चाडपर्वमा मात्रै होइन । तर, यस्ता अवसरमा यात्रीको अधिक चाप रहने गरेकाले ट्राफिक नियमको कडाईका साथ पालना र सार्वजनिक यातायात व्यवस्थापनमा बढि ध्यान दिनै पर्ने हुन्छ ।
विगतका सवारी दुर्घटना र त्यसका कारण सयौं यात्रीले अकालमा ज्यान गुमाउनु परेको र कैयौं गम्भीर घाइते भएका घटनालाई दृष्टिगत गरी ट्राफिक नियमको कडाईका साथ पालना गर्ने गराउनेतर्फ सम्बन्धित निकाय र सरोकारवालाले ध्यान दिएकै हुनु पर्दछ । बिडम्बना कतिपय ट्राफिक नियम अझैं पनि कागजमै सिमित भएको अवस्था छ । लामो दूरीमा चल्ने यात्रीबाहक बसमा दुई जना चालक राख्नुपर्ने व्यवस्था होस् वा सिट क्षमता भन्दा बढी यात्री राख्न नपाइने नियम होस्, अथवा टाइम कार्डको व्यवस्था होस् वा गति नियन्त्रणको सवाल होस्, यी सबै कहिलेकाही गरिने ट्राफिक चेकजाँचका बेला मात्रै ध्यान दिइने गरेको अवस्था छ । कुनै पनि सडक दुर्घटनामा गहन अनुसन्धान विरलै हुने गरेको छ । छानबिन भइहाले पनि ट्राफिक प्रहरी निकायबाट हुने गरेका लापरबाहीप्रति कमै मात्रामा मात्र प्रश्न उठ्ने गरेको पाइन्छ । न त ट्राफिक नियमको खुलेआम उलंघन गर्ने सवारी चालक, सवारी धनीलाई खासै छानबिनको दायरामा ल्याएको नै पाइन्छ । परिणामस्वरुप कुनै पनि सवारी दुर्घटनामा छानबिनको पाटो औपचारिकतामा नै सिमित हुने गरेको अवस्था छ ।
सुदूरपश्चिम प्रदेशमा विगतमा भएका दु:खदायी सवारी दुर्घटनालाई ध्यानमा राखेर अब नै आम यात्रीलाई सुरक्षित यात्राको अनुभूति दिने गरी काम गर्नु आवश्यक छ । अहिले प्रदेश तथा स्थानीय सरकार सञ्चालनमा रहेकाले ट्राफिक नियम पालना गर्न गराउन तथा सार्वजनिक यातायात व्यवस्थापन प्रभावकारी बनाउन सहज हुने छ । यसका लागि प्रदेश सरकार र स्थानीय सरकारहरु तथा स्थानीय सरकारहरुबीचको समन्वय र सहकार्य आवश्यक छ । विगतमा भएका सवारी दुर्घटनाकालाई ध्यानमा राखेर प्रदेश तथा स्थानीय सरकारले ट्राफिक व्यवस्थापनसंग सम्बन्धित संघीय सरकारका इकाई वा निकायसंग समन्वय गरेर एकिकृत रुपमा योजना तर्जुमा गरेर कार्यान्वयन गर्नेतर्फ पहल गर्नु आवश्यक छ । ट्राफिक नियम पालना तथा सार्वजनिक यातायात व्यवस्थापनको विषय बहुसरोकारवाला भएकोले पनि यसको दायित्व एकले अर्काको टाउकोमा थुपार्ने मानसिकता त्यागेर एकिकृत ढंगले काम गर्नु जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार