१२ बैशाख २०८१, बुधबार

सम्पादकीय: वातावरणीय पक्षबारे संवेदनशील बन



भरखरै नामाकरण भएको सुदूरपश्चिम प्रदेशले स्थायी राजधानी राख्ने स्थानबारे निर्णय गरे पनि अहिलेसम्म त्यो निर्णयमा आम सहमति जुट्न सकेको त छैन नै, निर्णय भएको स्थानबारे विभिन्न कोणबाट थुप्रै टिप्पणी आउने क्रम जारी छ । खासगरी अहिले राजधानी राख्ने स्थानबारे वातावरणीय दृष्टिकोणबाट गम्भीर र संवेदनशील कुराहरू सार्वजनिक भइरहेका छन् । प्रदेश सुदूरपश्चिमको स्थायी राजधानी राख्ने स्थान गोदावरी नगरपालिकाको तेघरी निर्णय भएको छ । गोदावरी नदीको किनारामा रहेको वन क्षेत्रका साथै चुरेको फेदी तथा भावर क्षेत्रमा राजधानी राख्दा त्यसले दीर्घकालीन रूपमा वातावरणीय प्रभाव पार्ने बारे यतिवेला वातावरण संरक्षणका क्षेत्रमा कार्यरत सरकारी निकाय मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरका संघसंस्था, निकायले निकै चासो लिइरहेको अवस्था छ ।
तराईको वनजंगललाई पहाडको बनजंगलसँग जोड्ने महत्त्वपूर्ण क्षेत्रका रूपमा रहेको चुरे भावर प्राकृतिक रूपमा जैविक मार्ग हो । त्यसै भएर लामो समयदेखि गोदावरी सहित मोहना, दोदा जैविक मार्ग विकास, संरक्षण र विस्तारका लागि अन्तर्राष्ट्रिय स्तरका निकाय कार्यरत रहेको अवस्था छ । चुरे र भावर क्षेत्र कति संवेदनशील हुन भन्ने दोहोर्‍याइरहनु आवश्यक हुँदैन । चुरे, भावरमा हुने कुनै पनि अतिक्रमण तथा चलखेलको प्रत्यक्ष नकारात्मक प्रभाव तल्लो तटीय क्षेत्रका बासिन्दाले भोग्नु परिरहेको अनगिन्ती उदाहरण छन् । तराई र पहाडलाई जोड्ने सेतुका रूपमा रहेको चुरेको फेदी, नदीको किनारा र वनक्षेत्रमा राजधानी राख्ने निर्णय राजनीतिक रूपमा मात्रै विवादित होइन्, र हुन सक्दैन । यो वातावरणीय दृष्टिकोणले निकै संवेदनशील र गम्भीर विषय भएकाले अहिले सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी रहने स्थानबारे स्थानीय र राष्ट्रिय तहमा मात्रै नभएर अन्तर्राष्ट्रिय तहमा समेत व्यापक चासो र सरोकार व्यक्त भइरहेको अवस्था छ ।
पक्कै पनि राजधानी रहने स्थान वरपरका वस्ती र नागरिकले यसको समर्थन गर्छन नै । गोदावरीको तेघरीमा प्रदेश सुदूरपश्चिमको राजधानी राख्ने निर्णय भए पछि त्यहाँका स्थानीयमा खुसीयाली छाउनु पनि स्वाभाविक हो । त्यस्तै, यो निर्णयको पक्षमा रहेका सत्तारुढ नेकपाका सांसद तथा नेता कार्यकर्ताहरूले पनि यो निर्णयको बचाउ गर्ने प्रयास गर्नु पनि उत्तिकै स्वभाविक हो । तर, अब यो विषय राजनीतिक पक्ष वा विपक्षको सवाल मात्रै रहेन । किनकि यो निर्णय कार्यान्वयन हुँदा भविष्यमा हुने वातावरणीय क्षतिबारेको संवेदनशीलता कुनै पनि दलगत राजनीतिक सवाल मात्रै हुनसक्दैन ।

वातवरणीय संरक्षणको क्षेत्रका विज्ञहरूले प्रदेशको राजधानी रहने गोदावरी, तेघरी स्थानबारे गम्भीर चासो व्यक्त गरिरहँदा यो निर्णयको पक्षमा रहेकाहरूले एकोहोरो रूपमा खनिनु भन्दा पनि यसको संवेदनशीलता बुझ्ने प्रयास गर्नु जरुरी छ । त्यसै पनि गोदावरीको तेघरीमा प्रदेशको राजधानी राख्नु पर्ने कुनै ठोस कारण यसको प्रस्तावकर्ता तथा समर्थनकर्ताले पनि दिन सकेका छैनन् । न त वन तथा वातावरणसँग सम्बन्धित सरकारी निकाय तथा अधिकारीहरू र विज्ञहरूसँग यसबारे कुनै गम्भीर छलफल नै भएको पाइएको छ । यसको अर्थ यो प्रस्ताव राजनीतिक दृष्टिकोणबाट तथा हचुवाका भरमा आएको हो भनियो भने अत्युक्ति हुने छैन । त्यसैले पनि अझ पनि दलगत राजनीतिक नाफानोक्सानका दृष्टिबाट होइन्, भविष्यसम्मलाई दृष्टिगत गरी यो निर्णयमा परिमार्जन वा परिवर्तन गर्ने आँट गरिनु उचित हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार