७ बैशाख २०८१, शुक्रबार

प्रदेश राजधानी बारे काँग्रेस नेताहरू



प्रदेश नम्बर ७ को नामांकन र राजधानीबारे प्रदेश सभामा प्रतिवेदन पेस भएसँगै धनगढी र डोटीमा आन्दोलन चर्किको छ । प्रदेश सभामा विशेष समितिले प्रदेशको राजधानी गोदावरी नगरपालिका, तेघरी र नाम सुदूरपश्चिम प्रस्ताव गरेको छ । डोटीका स्थानीयहरूले राजधानी दिपायल हुनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलन गरिरहेका छन् भने धनगढीमै स्थायी राजधानी हुनुपर्ने मागमा आन्दोलन व्यापक बन्दै गएको छ । प्रदेशको राजधानी र नामांकनबारे विभिन्न पक्षबाट धारणा व्यक्त भइरहेका छन् । यस क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय नारायणप्रसाद (एनपी) साउँद र वीरबहादुर बलायरसँग इअनुमोदनका लागि विशेष संवाददाता शेरबहादुर ऐरले गरेको कुराकानी जस्ताका त्यस्तै :

राजधानीको ठाउँ सार्नुमा दलगत राजनीतिक उद्देश्य

एनपी साउँद
केन्द्रीय सदस्य

प्रदेश नम्बर ७ को नामाकरणमा विभिन्न विकल्प थिए । सुदूरपश्चिम पनि उत्तम विकल्पमध्ये एक हो । केही मान्छेहरूले सुदूर भन्दाखेरी केन्द्रबाट टाढा देखिन्छ की भन्ने कुरा गर्नु भएको थियो । तर, लामो समयदेखि सुदूरपश्चिम हाम्रो एउटा पहिचानको रूपमा रहेकाले यसलाई अन्यथा लिनुपर्ने म देख्दिन । मैले सुदूरपश्चिम नामाकरणलाई स्वाभाविक रूपमा लिएको छु ।
जहाँसम्म राजधानीको कुरा छ । अत्तरिया, गोदावरी र धनगढी जोडिएका छन् । फाष्टट्रयाक बन्दै छ । आउँदो चार पाँच वर्षभित्र तीब्र शहरीकरणको प्रक्रियाबाट बस्तीहरू जोडिन्छन् र भोलि धनगढी र गोदावरीलाई महानगरपालिकाका रूपमा विकास गर्न सकिन्छ । अहिलेको अवस्थामा राजधानीका लागि ठाउँ परिवर्तन गर्नुका पछाडि दलगत राजनीतिक उद्देश्यबाट प्रेरित भए जस्तो लागेको छ । जिल्ला एउटै छ । धनगढी र गोदावरी जोडिएको छ । धनगढीमा यथेष्ट मात्रामा पूर्वाधारहरू छदैछन् । धनगढीमा राजधानी बन्दा अत्तरियालाई पायक नै पर्छ । यो प्रस्ताव आउनुका पछाडि यो कुनै नेता विशेषको निर्वाचन क्षेत्रको कुरा भएर आएको होला । अथवा, वन जंगल काट्ने, कटाउने कुरा होला वा कसैको घर जग्गाको लेनदेनको कुरा होला । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी किन यस्तो गर्दै भन्नेमा हामी पनि अन्योलमै छौं ।

 

सुदूरपश्चिम नामांकन खेदजनक

वीरबहादुर बलायर
केन्द्रीय सदस्य

प्रदेश नम्बर ७ आर्थिक दृष्टिले एकदमै कमजोर प्रदेश हो । यहाँ आर्थिक सम्भावनाहरू रहे पनि मौजुदा अवस्थामा हामीसँग कमजोर अर्थतन्त्र छ । त्यसैले हामीले नयाँ संरचनाहरू तयार गर्न निकै ठूलो आर्थिक जोहो गर्नुपर्ने हुन्छ । मैले मन्त्री हुँदाखेरी पनि दिपायल नै राजधानी हुनुपर्छ भन्ने आवाज उठाए, तर विभिन्न कारणले सम्भव भएन । अहिले प्रदेश सभामा कुन चाहि पण्डितले यो नाम (सुदूरपश्चिम) नामाकरण गरेछन् ? यो नामांकनमा मेरो ठूलो आपत्ति छ । प्रदेशको नामले यहाँको मौलिकता, संस्कृति, परिचय, क्षमतालाई जनाउन सक्नु पर्दछ । हामी गरिब हुनु वा पिछडिएको क्षेत्रको बासिन्दा हुनु हाम्रो कमजोरी नभई बाध्यता हो । हाम्रो बाध्यतामा अहिले प्रदेश सरकारले वा नेकपाले ‘सुदूरपश्चिम’ नाम सिफारिस गरेको छ । सुदूर भनेको पञ्चायतकालमा पञ्चहरूले राजाका माध्यमबाट दिएको शब्द हो । चलनचल्तीमा त्यो सुदूर बन्यो । ‘सुदूर’ भनेको ‘संकट, अप्ठ्यारो, हिनताले ग्रसित र कमजोर’ भनेको हो । त्यसैले सुदूरपश्चिम राख्ने प्रस्तावे खेदपूर्ण छ ।
अहिले धनगढीमा राजधानी छ । भोलि गोदावरी, अनि खानीडाँडा र फेरि जोगबुढा होला भन्ने हुँदैन । यहाँका जनतालाई दूरगामी रूपमा असर पर्ने र यहाँको आर्थिक, सामाजिक उन्नती र प्रगति हुने गरी राजधानी तोकिनुपर्छ । जनतालाई मध्येनजर गरेर निर्णय गरिनु पर्दछ । सांसदहरू कसैको हलिया भएर आएका होइनन्, जनताको मत पाएर आएका हुन् । कसैको हलिया हुनु छ भनेर संसद छोडेर हलेटी लगाए हुन्छ । उनीहरू राज्य चलाई रहेका छैन् कि कसैको हलिया भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार