८ बैशाख २०८१, शनिबार

डल्फिन संरक्षण क्षेत्रका रुपमा विकास गर्छौ– पर्यटनमन्त्री अधिकारी



टीकापुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई कैलालीका डल्फिन पाइने क्षेत्रलाई ‘डल्फिन संरक्षित क्षेत्र’ का रूपमा विकास गरिने बताएका छन् ।
कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ७, ढुंगानाटोलमा सोमबार आयोजित ‘डल्फिन अवलोकन भ्रमण तथा डल्फिन उत्सव, २०७५’ कार्यक्रममा मन्त्री अधिकारीले सरकारले पर्यटन क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको बताए ।
उनले पर्यटन विकासका दृष्टिले प्रदेश नम्बर ७ अझैं पछाडि रहेको चर्चा गरे । उनले भने– “काठमाडौं, पोखरा, लुम्बिनी लगायतका पर्यटकीय क्षेत्रमा मात्रै सीमित रहेको पर्यटनलाई अब प्रदेश ७ मा पनि उत्तिकै गतिमा विकास गर्नु जरुरी भइसकेको छ ।”
उनले टीकापुर विमानस्थल चाढै नै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । उनले खक्रौला भन्सारको स्तरोन्नती भएर मूल भन्सार भइसकेकोले अब लम्की–खक्रौला सडकखण्ड चार लेन सडक निर्माणको लागि पहल गर्नुपर्ने बताए ।
उनले टीकापुरलाई केन्द्रमा राखेर पर्यटन विकासको दीर्घकालीन योजना बनाउनुपर्ने बताए । “पर्यटन विकासका लागि टीकापुरलाई केन्द्रविन्दुमा राखेर गम्भीरतापूर्वक योजना बनाउनुहोस्, सरकारले पूर्ण सहयोग गर्नेछ” मन्त्री अधिकारीले भने– “यसलाई डल्फिन संरक्षित क्षेत्रका रूपमा मात्रै विकास गर्न सकियो भने पर्यटन विकासमा उल्लेख्य परिवर्तन ल्याउन सकिने छ ।”
कैलाली भ्रमण वर्ष २०७५ को अवसरमा जिल्ला समन्वय समिति, कैलालीको संयोजकत्वमा डल्फिन क्षेत्र अवलोकन भ्रमण तथा डल्फिन उत्सव २०७५ भएको थियो । कार्यक्रम जिल्ला समन्य समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य झपटबहादुर रावल लगायतले मन्तव्य व्यक्त गरेका थिए । टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावलले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत धु्रव आचार्यले गरेका थिए ।
कार्यक्रममा डल्फिन संरक्षणको क्षेत्रमा विशेष योगदान पुर्‍याएवापत बेलायती नागरिक मिष्टर जोन, बरिष्ठ संरक्षणकर्मी भोजराज श्रेष्ठ (गुलेली बाजे), गायिका चाँदनी मल्ल तथा प्राध्यापक डाक्टर मुकेश चालिसेलाई सम्मान गरियो ।
कार्यक्रम टीकापुर नगरपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाको संयुक्त आयोजनामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार