१२ बैशाख २०८१, बुधबार

पतिको करिअर सम्हाल्न खोज्दा ऐश्वर्या आफैं धरापमा



बलिउडका रियल जोडी ऐश्वर्या राय र अभिषेक बच्चनको दिन ठिक चलिरहेको छैन । उनीहरुको करिअर ग्राफ निरन्तर ओरालो लागिरहेको छ ।
ऐश्वर्याको पछिल्लो फिल्म ‘फन्ने खान’ फ्लप भयो । योभन्दा अगाडि उनका दुई फिल्म ‘जज्बा’ र ‘सरबजित’ पनि असफल बनेका थिए । फ्लप फिल्मको ह्याट्रिक गरेपछि ऐश्वर्याको करिअरमै प्रश्नचिन्ह लागेको छ ।
अर्कोतर्फ अभिषेकको अवस्था झन् डामाडोल छ ,। चार वर्षसम्म उनले एउटै फिल्म पाएनन् । बल्लबल्ल ‘मनमर्जिया’ पाएका छन्, तर यो फिल्मले पनि कुनै चमत्कार गर्ने छाँट देखिएको छैन ।
यसैबीच एक निर्माताले अभिषेक र ऐश्वर्यालाई आफ्नो फिल्ममा जोडी बनाउने चेष्टा गरे । यो फिल्मको नाम थियो, ‘गुलाब जामुन’ । ठिक यही समयमा प्रख्यात निर्देशक सञ्जय लिला भन्सालीले आफ्नो आगामी फिल्मका लागि ऐश्वर्यालाई अफर गरे ।
भन्सालीको अफर ऐश्वर्याका लागि शानदार अवसर थियो, आफ्नो डुब्दै गरेको करिअर बचाउने । यतिबेला ऐश्वर्याले निर्णय लिनुपर्ने भयो, पति अभिषेकसँग फिल्म खेल्ने कि भन्सालीको फिल्म स्वीकार्ने । एउटै सेड्यूल भएकाले उनले दुवै फिल्म स्वीकार्न असम्भव थियो । अन्ततः उनले पतिसँग खेल्नका लागि भन्सालीको अफर रिजेक्ट गरिदिइन् ।
ऐश्वर्याको यो निर्णयले उनको करिअर नै दाउमा लागेको छ । किनकी भन्सालीको फिल्म खेलेको भए सफलताको ग्यारेन्टी थियो । तर, अभिषेकसँग खेलेर उनले सफल फिल्म दिन कठिन छ । पतिको करिअर सम्हाल्ने प्रयास गर्दा उनको आफ्नै करिअर धरापमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार