१५ चैत्र २०८०, बिहीबार

दश ठूला सडक निर्माण हुँदै



धनगढी ।  कैलालीमा प्रत्येक निर्वाचन क्षेत्रमा सडक योजना निर्माणाधीन रहेकोवेला उत्तरदक्षिण चार ठूला सडक निर्माण हुने भएका छन् ।
कैलालीबाट अर्को जिल्ला जोड्ने सडकका साथै भारतीय सिमानाकासम्मका उत्तरदक्षिण सडक पनि निर्माण हुने भएका छन् ।
सडक डिभिजन कार्यालयका इन्जिनियर महेन्द्र पन्तका अनुसार कैलालीका सबै छ निर्वाचन क्षेत्रमा गत आर्थिक वर्षदेखि ठूला सडक निर्माण भइरहेका छन् । चालू आर्थिक वर्षमा भारतीय सिमानाकासम्म जोड्ने चार वटा सडक निर्माण हुने छन् ।
इन्जिनियर पन्तका अनुसार निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष २०७२/०७३ मा सडक विस्तारका लागि पाँच करोड रुपैयाँ विनियोजन भएको थियो । ती सडकमा करिब २५ देखि ५० प्रतिशत काम पुरा भइसकेको छ ।
कैलालीमा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत झवई–टीकापुर, चिसापानी–जंगलघाट, झबई–बौनिया, मसुरिया–हसुलिया, मालाखेती–कोल्मुडा र देवहरिया–वेहडाबाबा सडक विस्तार भइरहेको छ । इन्जिनियर पन्तले चिसापानी–जंगलघाट र कोल्मुडा–मालाखेती सडक ग्राभेल स्तरको र अन्य चार वटा सडक कालोपत्रे स्तरको रहेको बताए ।
यस वर्षदेखि भारतीय सिमानाकासम्म जोडिने चार सडक निर्माण हुने भएका छन् । ती सडक पूर्वपश्चिम राजमार्गदेखि भारतीय सिमानाकासम्म विस्तार हुुने जनाइएको छ । ‘ती सडक निर्माणका लागि अहिले डिपिआर तयार भइरहेको छ’ उनले डिपिआर तयार भएलगत्तै टेण्डर प्रक्रिया अघि बढाइने बताए ।
पूर्वपश्चिम राजमार्गदेखि भारतीय सिमानाकासम्म जोड्ने डुडेझारी–टीकापुर–खक्रौला सडक, मोरियाघाट–झवई–बौनिया, गुलरियाघाट–भजनी–मुडा र चन्दनचौकी–कनरी–चौमाला–मंगलपुर सडक यस वर्षदेखि विस्तार गरिने जनाइएको छ ।
सडक डिभिजन कार्यालयका अनुसार डुडेझारी–टीकापुर–खक्रौला सडकका लागि दुई करोड ७४ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, मोरियाघाट–झबई–बौनिया सडकका लागि छ करोड ७५ लाख, गुलरियाघाट–भजनी–मुडा सडकका लागि तीन करोड ७५ लाख र चन्दनचौकी–कनरी–चौमाला–मंगलपुर सडकका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यी सडकको लम्बाई २५ देखि ३५ किलोमिटर रहेको छ भने कालोपत्रेको चौडाई साढे सात मिटर रहने जनाइएको छ ।
यस्तै, कैलालीमा लम्की–राजकाँडा सडकको पनि सर्भे कार्य भइरहेको छ । त्यस्तै, धनगढी उपमहानगरपालिकामा चार वटा पुल निर्माण भइरहेका छन् । इन्जिनियर पन्तका अनुसार उपमहानगरपालिकाको वडा नम्बर ६ र ७ लाई जोड्ने क्याम्परोडमा पुल निर्माण भईरहेको छ ।
त्यस्तै, सन्तोषीटोल चर्च नजिक कैलाली नाला, राष्ट्र बैंक नजिक सुकुटी नाला र कञ्चनपुरको रैकवार वाईसेविचुवा गाविसलाई कैलालीसंग जोड्ने मोहना नदीमा पुल निर्माण भइरहेको छ । यी सबै पुल निर्माण कार्य गत आर्थिक वर्षदेखिनै सञ्चालन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार