१५ चैत्र २०८०, बिहीबार

साम्प्रदायिक र भौगोलिक विद्वष फैलाउने दुस्प्रयास असफल : एमाले अध्यक्ष ओली



धनगढी  ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहाड र तराईलाई टुक्र्याउने र साम्प्रदायिक तथा भौगोलिक विद्वेष फैलाउने षड्यन्त्रस्वरूप संविधान संशोधन प्रस्ताव आएको आरोप लगाएका छन् । उनले यस्तो षड्यन्त्र कुनै पनि हालतमा सफल हुन नदिने बताए ।
नेकपा (एमाले) द्वारा सञ्चालित मेची–महाकाली अभियानका क्रममा बिहीबार धनगढीमा आयोजित सभामा अध्यक्ष ओलीले मुलुकको राष्ट्रियता, अखण्डता, स्वतन्त्रता र स्वाभिमानबारे कोहीकसैसँग सम्झौता हुन नसक्ने दोहोर्‍याए ।
‘देशभित्र र बाहिरका केही तत्त्वबाट नेपाललाई संविधान कार्यान्वयन हुन नदिने तथा आर्थिक समृद्धिमा बाँधा पुर्‍याउने षड्यन्त्र भइरहेको छ’ पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने– ‘एमालेको मेची–महाकाली अभियान लोकतन्त्रको सुदृढीकरण, सामाजिक सद्भाव, राष्ट्रिय एकता र राष्ट्रलाई समृद्धितर्फ अघि बढाउनका लागि हो ।’

धनगढीमा आयोजित सभामा सहभागीहरू ।

उनले निर्वाचन र संविधान संशोधनबीच कुने सम्बन्ध नरहेको चर्चा गरे । भने– ‘यो (संविधान संशोधन) पहाड र तराईलाई छुट्याउने षड्यन्त्रको सिलसिला मात्रै हो ।’
सभामा एमाले उपाध्यक्ष बामदेव गौतमले गत वर्षको टीकापुर घटना नेपालमा संविधान जारी हुन नदिने तथा मुलुकलाई गृहयुद्धमा फसाउने चाल भएको दाबी गरे । ‘तर हामी सबैको प्रयासले संविधान पनि जारी भयो र देश गृहयुद्धको दुस्चक्रबाट जोगियो’ उनले भने ।
उपाध्यक्ष नेपाललाई घुँडा टेकाउन भारतद्वारा थोपरिएको नाकाबन्दीको नेपाली जनताले दृढतापूर्वक सामना गरेको स्मरण गरे ।
उनले हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रस्तावलाई कोही पनि नेपाली जनताले स्वीकार गर्न नसक्ने बताए ।
एमाले सचिव भीम आचार्यले प्रदेशको सीमांकनका सवालमा तराई, पहाड र हिमाल एकजुट हुनुपर्ने प्रदेश नम्बर १ र ७ का जनताको समान भावना रहेको चर्चा गरे ।
एमाले उपाध्यक्ष संयोजक भीम रावलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गरिमा शाह, वैकल्पिक केन्द्रीय सदस्य प्रेम आले, पूर्व सभासद् नारदमूनि रानाले मन्तव्य व्यक्त गरेका थिए ।
केन्द्रीय सदस्य महेश्वर पाठकले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय सदस्य कर्ण थापाले स्वागत तथा र कैलालीका जिल्ला अध्यक्ष दीर्घ सोडारीले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा एमालेमा प्रवेश गरेका पूर्व प्रमुख जिल्ला अधिकारी डिल्लीराज जोशी, माओवादी केन्द्रका केन्द्रीय सदस्य डम्बरबहादुर सिंहलगायतलाई स्वागत गरिएको थियो ।
फागुन २१ गते मेची अञ्चलको काँकडभिट्टाबाट सुरु भएको अभियान बिहीबार महाकालीको महेन्द्रनगरमा अन्तिम सभा गरी समापन भएको छ ।

 

चुनाव गरान सक्दैनौ भने सरकार छोड: नेपाल

कञ्चनपुर । यसै गरी कञ्चनपुरको महेन्द्रनगरमा भएको कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले चुनाव गराउन नसक्ने हो भने सत्तारुढ दलहरूलाई सरकार छोड्न चेतावनी दिए । ‘चुनाव गराउन सक्दैनौं भने सरकार छोड, हामी चुनाव गराउँछौं’ उनले एमालेको लोकप्रियता बढेको दाबी गर्दै त्यसै भएर स्थानीय निर्वाचन नगर्ने खेल भएको बताए ।
उनले एमालेलाई मधेस विरोधी पार्टीका रूपमा चित्रित गर्न खोजिएको आरोप लगाए । ‘हामी यस्ता होहल्ला र भ्रमलाई समाप्त पार्ने छौँ’ उनले भने ।
उनले पुनर्वासको आनन्दबजारमा भारतीय सुरक्षाकर्मीले गरेको ज्यादतीको विरोध गरे । ‘नेपालका गाउँगाउँमा पसेर भारतीय सुरक्षाकर्मीले गर्ने गरेको अपमान हामीलाई स्वीकार्य छैन, स्वीकार गर्दैनौ’ उनले यस्ता विषयमा सरकारले लाचारी देखाइरहेको आरोप लगाए ।
कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले एमाले राष्ट्रियताको संरक्षण आन्दोलनको पहरेदारका रूपमा रहेको बताए ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष भीम रावल, वैकल्पिक केन्ऽीय सदस्य निरा जैरु, सांसद कृपाराम रानालगायतले धारणा व्यक्त गरेका थिए ।
पार्टीका केन्ऽीय सदस्य रामकुमार ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रमको वैकल्पिक केन्ऽीय सदस्य विक्रमबहादुर शाहीले सञ्चालन गरेका थिए । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष तारा लामा तामाङले स्वागत गरेका थिए ।

 

शहीद गोविन्दका परिवालाई आर्थिक सहयोग

शहीद गोविन्द गौतमका परिवारलाई एमाले कञ्चनपुर अध्यक्ष तारा लामा तामाङमार्फत चेक र ल्यापटप हस्तान्तरण गर्दै अध्यक्ष ओली ।
शहीद गोविन्द गौतमका परिवारलाई एमाले कञ्चनपुर अध्यक्ष तारा लामा तामाङमार्फत चेक र ल्यापटप हस्तान्तरण गर्दै अध्यक्ष ओली ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट हत्या गरिएका शहीद गोविन्द गौतमका परिवारलाई एमालेले आर्थिक सहयोग गरेको छ ।
गत २६ गते कञ्चनपुरको पुनर्वास नगरपालिका, आनन्दबजारमा भारतीय ज्यादतीको विरोध गरिरहेका नेपालीमाथि एसएसबीले गोली चलाउँदा ३० वर्षीय गोविन्दको मृत्यु भएको थियो । नेपाल सरकारले उनलाई शहीद घोषणा गरिसकेको छ ।

यो पनि पढ्नुहोस् 

एमालेको मेची–महाकाली अभियानका क्रममा कञ्चनपुरमा भएको सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले शहीद गोविन्दका परिवारलाई पाँच लाख रुपैयाँको चेक तथा एक थान ल्यापटप प्रदान गरे । अध्यक्ष ओलीले एमाले कञ्चनपुरका अध्यक्ष तारा लामा तामाङमार्फत सो रकमको चेक तथा ल्यापटप हस्तान्तरण गरेका थिए ।

 

 

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार