११ बैशाख २०८१, मंगलवार

घोडाघोडीका चराहरू पुस्तकमा



धनगढी । विश्व रामसारमा सूचीकृत कैलालीको घोडाघोडी नगरपालिकामा अवस्थित घोडाघोडी ताल क्षेत्रमा पाइने चराहरूलाई पुस्तकमा उतारिएको छ ।
घोडाघोडी ताल क्षेत्रमा पाइने चराहरूको बारेमा जानकारी दिन घोडाघोडी नगरपालिका र बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले घोडाघोडी नगरपालिका क्षेत्रका चराहरू नामक पुस्तक प्रकाशन गरेको हो ।
चरा संरक्षण र पर्यापर्यटनमा सहयोग पुगाउन पुस्तक प्रकाशित गरिएको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले बताए ।
घोडाघोडी ताललाई विश्व रामसारमा सूचीकृत गरिने आठ आधारमध्ये चरा प्रजाति पनि एक भएकोले चरा संरक्षणमा सहयोग पुर्‍याउ पुस्तक प्रकाशन गरिएको नगर प्रमुख ममताप्रसाद चौधरीले जानकारी दिए । पुस्तकमार्फत चराको बारेमा प्रचारप्रसार हुने र पर्यापर्यटन विकास गर्नमा सहयोग पुग्ने नगर प्रमुख चौधरीको भनाई छ ।
दुई हजार सात सय २६ हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी ताल क्षेत्रलाई सन २००३ मा विश्व रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो । यस क्षेत्रमा जलचर र थलचर गरी दुई सय ९९ प्रजातिका चरा पाइन्छन् । जसमध्ये १३ प्रजातिका चरा विश्वमै दुर्लभ रहेका छन् । विश्वमै दुर्लभ रहेका राजलहाँचे, घाँस घेघरी फिस्टो र सुनौलो तोप चरा पछिल्लो गणनाका क्रममा अभिलेख भएको बताइएको छ ।
नेपालमै दुर्लभ मानिने २८ प्रजातिका चरा घोडाघोडी ताल क्षेत्रमा पाइन्छन् । दुर्लभ चरा प्रजातिको समेत बासस्थान रहेको घोडाघोडी ताल क्षेत्रमा सूचक प्रजातिका तीन सय ७४ हरिहाँस रहेका छन् । सूचक प्रजातिकै रूपमा घोडाघोडी तालमा मगर गोही र जंगली धान पनि पाइन्छ ।
सो पुस्तकको संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले एक कार्यक्रमबीच धनगढीमा विमोचन गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार