८ बैशाख २०८१, शनिबार

एसईई परीक्षा सुरु



धनगढी  ।  यस वर्षदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) बिहीबारबाट सुरु भएको छ । सुदूरपश्चिम अर्थात् प्रदेश नम्बर ७ मा बिहीबार माध्यामिक शिक्षा परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको छ ।
सुदूरपश्चिममा दुई सय पाँचवटा परीक्षा केन्द्र रहेको क्षेत्रीय शिक्षा निर्देशनालय दिपायलले जानकारी दिएको छ ।
एसएलसीकै ढाँचामा यस वर्षदेखि एसईई परीक्षाको पहिलो दिनमा धेरै परीक्षार्थीहरू भने अनुपस्थित देखिएको निर्देशनालयले जानकारी दिएको छ ।
प्रदेश नम्बर ७ मा नियमित, एक्ज्याम्टेड र ग्रेड गरी २८ हजार तीन सय सात छात्र र ३२ हजार नौ सय ७१ छात्रा गरी ६१ हजार दुई सय ७८ परीक्षार्थी रहेकोमा दुई हजार पाँच सय नौ विद्यार्थी अनुपस्थित रहेको राजपुरका शाखा अधिकृत पुर्णबहादुर शाहले जानकारी दिए ।
शाखा अधिकृत शाहका अनुसार नियमिततर्फ ५० हजार सात सय ५१ परीक्षार्थी रहेकोमा चार सय ३२ छात्र र तीन सय ९७ छात्रा अनुपस्थित थिए ।
त्यस्तै, ग्रेडतर्फ आठ हजार आठ सय १६ परीक्षार्थी रहेकोमा पाँच सय ७७ छात्र र आठ सय ५५ छात्रा अनुपस्थित थिए भने एक्ज्यामटेडतर्फ एक हजार सात सय ११ परीक्षार्थी रहेकोमा एक सय ३१ छात्र र एक सय १७ छात्रा अनुपस्थित रहेको उनले जानकारी दिए ।
कैलालीमा पनि एसईई परीक्षा शान्ति पूर्ण रूपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय कैलालीले जानकारी दिएको छ । कार्यालयका अनुसार यस जिल्लामा कुल परीक्षार्थीमा आठ सय २३ विद्यार्थी अनुपस्थित रहेको जनाइएको छ ।
जसअन्र्तगत नियमिततर्फ एक सय ५४ छात्र र एक सय ३२ छात्रा गरी दुई सय ८६, ग्रेडतर्फ एक सय ९५ छात्र र दुई सय ८६ छात्रा गरी चार सय ८१ र एक्ज्यामटेडतर्फ २४ छात्र र ३२ छात्रा गरी ५६ परीक्षार्थी अनुपस्थित रहेको कैलाली जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टले जानकारी दिए ।
उता, डडेल्धुराका १२ वटै केन्द्रमा परीक्षा मर्यादित वातावरणमा सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी वसन्तकुमार खत्रीले जानकारी दिएका छन् ।
उनका अनुसार बिहान ८ बजे भएको अङ्ग्रेजी विषयको परीक्षामा एक सय २८ परीक्षार्थी अनुपस्थित भएका छन् । अङ्ग्रेजी विषयको परीक्षामा सामेल हुनु पर्ने तीन हजार एक सय ४९ जनामध्ये तीन हजार २१ जना मात्रै परीक्षामा सहभागी भएका हुन् ।
नियमिततर्फ २० जना, इक्जाम्टेडतर्फ १४ जना र ग्रेड सुधारतर्फ ९४ जना परीक्षामा अनुपस्थित भएका हुन् । तीन सय २० जना मात्रै ग्रेड सुधारका लागि परीक्षामा सामेल भएको पाइएको छ । ग्रेड सुधारका लागि परीक्षा नदिँदा पनि फरक नपर्ने सोचेर ठुलो सङ्ख्यामा विद्यार्थीहरूले परीक्षा नदिएको हुन सक्ने जिल्ला शिक्षा अधिकारी खत्रीले बताए ।
परीक्षा अन्तर्गत आज (शुक्रवार) अनिवार्य नेपालीको परीक्षा हुनेछ । यस्तै, ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितीय विषयको परीक्षा हुनेछ । परीक्षा साधारणतर्फ चैत ११ गते र प्राविधिकधारतर्फ चैत्र १४ गते सम्पन्न हुनेछ ।
गएका वर्षमा एसएलसी परीक्षाको रूपमा लिईंदै आएको यो परीक्षा नयाँ शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा सञ्चालन गर्ने उल्लेख गरे पनि तयारी नपुगेको भन्दै यसवर्ष अन्तिम पटकका लागि परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन गर्न दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार