८ बैशाख २०८१, शनिबार

तीनै तहका निर्वाचन नै मुख्य लक्ष्य : वरिष्ठ नेताहरू




धनगढी । नेकपा (एमाले) को मेची–महाकाली अभियान बुधवार टीकापुर पुगेको छ । अभियानका क्रममा आयोजित सभामा एमालेका वरिष्ठ नेताहरूले आगामी माघ महिनाको पहिलो साताभित्रै तीनै तहका निर्वाचन सम्पन्न गर्नु नै मुलुकको पहिलो लक्ष्य र प्राथमिकता भएको दोहोर्‍याए ।
सभामा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले तीनै तहका निर्वाचनको वातावरण बनाउन एमालेले अभियान सञ्चालन गरेकोमा मधेसी मोर्चाका नेता तथा दलहरू असहिष्णु भएको आरोप लगाए । ‘भालाडण्डा छोडेर शान्तिपूर्ण ढङ्गले निर्वाचनको प्रतिस्पर्धामा आउनुहोस्’ उनले मधेसी दल तथा नेताहरूलाई आग्रह गरे ।

पूर्व प्रधानमन्त्री झलनाथ खनाल

वरिष्ठ नेता खनालले अहिले संविधान संशोधन हुन नसक्ने र संविधानको कार्यान्वयनको लागि स्थानीय तह लगायतका निर्वाचन हुनै पर्ने दोहोर्‍याए ।
कार्यक्रममा एमाले उपाध्यक्ष भीम रावलले चुनावले मात्रै मुलुकमा दिगो शान्ति र स्थायित्व आउने चर्चा गरे । उनले एमालेको मेची–महाकाली अभियान सबै समुदाय, वर्ग, क्षेत्रका नेपालीलाई एकतावद्ध बनाउने विश्वास व्यक्त गरे । उनले संविधान कार्यान्वयन गर्दै देशलाई समृद्धितिर लाग्नुपर्ने बेला कहिले तराई र पहाडका तथा कहिले विभिन्न जाति समुदायबीच लडाएर राष्ट्रलाई कमजोर बनाउने षडयन्त्र भइरहेको दाबी गरे ।
एमालेका केन्द्रीय सल्लाहकार सदस्य हनुमान चौधरीले संविधानमा व्यवस्था गरिएका हकअधिकारबारे जानकारी नै नलिएर जनतालाई भडकाउनेहरूका पक्षमा नलाग्न आग्रह गरे ।


कार्यक्रम पोलिटव्यूरो सदस्य तथा प्रदेश नम्बर ७ का सहइञ्चार्ज कर्णबहादुर थापाको अध्यक्षतामा भएको थियो ।
केन्द्रीय सदस्य गरिमा शाहले सञ्चालन गरेको कार्यक्रममा कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारीले स्वागत गरेका थिए ।

 

बिखण्डनकारीलाई परास्त गरौँ : नेपाल

एमालेको मेची–महाकाली अभियानका क्रममा बुधवार नै कैलालीको लम्कीमा भएको कार्यक्रममा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले तराई–पहाड तथा विभिन्न जातजातिका कुरा उठाएर मुलुकलाई बिखण्डन गर्न चाहने तत्त्वलाई परास्त गर्न सबै नेपाली एकजुट हुन आह्वान गरे ।
उनले मधेसी मोर्चाको हिंसात्मक गतिविधिका कारण तराई मधेसका जनतालाई नै सबैभन्दा बढी नोक्सान भइरहेको बताए ।
एमाले महासचिव ईश्वर पोख्रेलले नेपालमा अंगीकृतहरूले आतङ्क फैलाउन खोजेकोले त्यसको प्रतिकार गर्न नेपालीहरू एकजुट भएर अगाडि आउन आग्रह गरे ।

 
माओवादीका गलत नीतिका सङ्कट : नेता गौतम
बर्दिया । मेची–महाकाली अभियानका क्रममा बर्दियाको राजापुरमा भएको कार्यक्रममा एमालेका उपाध्यक्ष वामदेव गौतमले विगतमा माओवादीले लिएका गलत नीतिहरूको सिकार सिङ्गो राष्ट्र भएको आरोप लगाए ।
उनले भने– ‘जातका आधारमा राज्य बनाउने माओवादीले रोपेको विषका कारण अहिले मुलुक सङ्कटमा फसेको छ ।’
कार्यक्रममा पोलिटब्युरो सदस्य नागेन्द्र चौधरीले प्रदेश नम्बर दुई निर्माण गर्दा पहाडी भूभाग नराखिएका कारण मधेसी जनता प्राकृतिक स्रोतहरूबाट विमुख भएको चर्चा गरे ।
अभियान अन्तर्गत आज (बिहीबार) कैलालीको सदरमुकाम धनगढीमा आम सभा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार