७ बैशाख २०८१, शुक्रबार

डोटीमा वन्यजन्तुको चोरीसिकारमा बृद्धि



डोटी । डोटीका ग्रामीण क्षेत्रमा वन्यजन्तुको खुलेआम चोरीसिकारमा पछिल्ला केही समययता बृद्धि आएको छ । वन्यजन्तुको चोरीसिकारमा बृद्धि भए पनि नियन्त्रणका लागि प्रभावकारी अभियान सञ्चालन हुनसकेको छैन ।
स्थानीयका अनुसार डोटीका विभिन्न सामुदायिक तथा सरकारी वनमा केही समययता रतुवा, बदेल, घोरल, कालिज लगायतका वन्यजन्तु चोरीसिकारी तथा बहुमूल्य जडिबुटीको चोरीतस्करी हुने गरेको छ । तस्करहरूले वन्यजन्तुको चोरी सिकार गरेर सुकुटी बनाएर काठमाडौंसहित विभिन्न बजारमा पुर्‍याउने गरेको बताइन्छ । जंगलमा शिकार गरिएका वन्यजन्तुको मासु राजमार्ग लगायत सदरमुकामका होटलहरूमा समेत बिक्री हुने गरेको छ ।
वन्यजन्तुको चोरीसिकारीमा व्यापक जनगुनासो बृद्धि भएपछि डोटी जिल्ला वन कार्यालय, सञ्चारकर्मी, शिखर नगरपालिकाका जनप्रतिनिधि र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले महाभारत शृंखला अन्तर्गतको तेलेलेक बनमा अनुगमन गरेका थिए । संयुक्त टोलीको अनुगमनका क्रममा चोरी शिकारीमा संलग्न तस्करहरूले बन्यजन्तु मार्ने तरिका, मारिएका वन्यजन्तुका हड्डी र छाला, चोरी सिकारीले जंगलमा बनाएका अस्थायी बासस्थान, प्रयोग गर्ने नाका तथा तस्करहरूले प्रयोग गरेका अन्य सामग्री बरामद भएको जनाइएको छ ।
डोटीका जिल्ला वन अधिकृत बद्रिकुमार कार्कीले अनुगमनका क्रममा जंगल क्षेत्रमा भैंसीपालन गर्ने गोठालाहरू र स्थानीयसँग छलफल गरेको बताए ।
स्थानीयसँगको छलफलपछि चोरी शिकारी नियन्त्रणका लागि स्थानीय तह तथा जनतासँग मिलेर एकीकृत रूपमा चोरी शिकारी विरुद्ध अभियान सञ्चालन गरिने उनले बताए । जिल्ला वन अधिकृत कार्कीले भने– “चोरीसिकारी तथा तस्करीका कारण वन्यजन्तुको संख्यामा निकै कमी आएको छ ।”
बन्यजन्तुको चोरीसिकारी गर्ने तस्करहरूले चोरी शिकारीका लागि महिनौसम्म हातहतियार सहित जंगलमा बास बस्ने र शिकार गर्ने गरेको बताइएको छ ।
डोटीको खप्तड राष्ट्रिय निकुञ्जसँग जोडिएका वनहरू तथा माहाभारत शृंखला अन्तर्गत रहेको तेलेलेक वनवाट बढी चोरी शिकारी हुने गरेको पाइएको छ ।
कर्णाली किनार हुँदै डडेल्धुराको गन्यापधुरा गाउँपालिकादेखि डोटीका विभिन्न स्थानीय तहलाई तेलेलेक बनले ढाकेको छ । डोटीको जोरायल गाउँपालिका अन्तर्गत गैराका एक होटल व्यावसायीका अनुसार तेलेलेकमा मारिएका मृगको मासु सुकुटी बनाएर कैलाली, कञ्चनपुरदेखि काठमाडौंसम्म पुर्‍याइने गरेको छ । उनले भने– “दैनिक जसो नै रतुवा र बदेलको सुकुटी मासु बजारमा आउने गरेको छ ।”
चोरीशिकारी बढी हुने क्षेत्रका रूपमा चिनिएको तेलेलेक बनक्षेत्रमा डोटीको शिखर नगरपालिकाले चोरी शिकारी नियन्त्रण अभियान शुरु गर्ने बताएको छ । जिल्ला वन कार्यालयसँग मिलेर चोरी शिकारी नियन्त्रण र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने तथा चोरी शिकारी निरुत्साहित गर्ने सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने तयारी गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार