१३ बैशाख २०८१, बिहीबार

आजदेखि गंगा दशहरा



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १७ स्थित बेहडाबाबाधाममा आज (बुधबार) देखि गंगादशहरा मेला शुरु हुँदैछ ।
मेलाको सम्पूर्ण तयारी पूरा भएको कैलाली भ्रमण वर्ष २०७४ र मेला मूल आयोजक समितिले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दियो ।
विगतका वर्षहरूमा बेहडाबाबा मन्दिर व्यवस्थापन समितिको आयोजनामा आयोजना हुँदै आएको गंगा दशहरा मेला यस वर्ष कैलाली भ्रमण वर्ष र मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजनामा भइरहेको छ ।
मेलालाई भव्य तरिकाले मनाउन नेपाल तथा भारतका विभिन्न शहरमा व्यापक प्रचारप्रसार गरिएको कैलाली भ्रमण वर्ष मूल आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समिति, कैलालीका प्रमुख सूर्यबहादुर थापाले बताए । उनले यस वर्ष बेहडाबाबा मेलामा सात लाख बढी पर्यटक आउने अपेक्षा गरिएको बताए ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बेहडाबाबा मेलामा आउने दर्शनार्थी तथा पर्यटकलाई ध्यानमा राखी यस वर्ष खानेपानी, सरसफाई, सडक तथा अन्य सुविधाको राम्रो व्यवस्था गरिएको बताए ।
उपमहानगर प्रमुख वडले मन्दिर परिसरमा २० वटा धारा जडान गरिएको, दुई करोड ७५ लाख रुपैयाँको लागतमा चक्रपथ निर्माण, सार्वजनिक शौचालय र विद्युतको पर्याप्त प्रबन्ध गरिएको बताए । बेहडाबाबा धाममा दर्शनार्थी, पर्यटकको सुविधाका लागि दुई वटा धर्मशालाको व्यवस्था गरिएको छ ।
कैलालीका प्रहरी प्रमुख (एसपी) विनोद घिमिरेले बेहडाबाबा मेलामा कुनै पनि किसिमको उच्छृंखल तथा वाञ्चित क्रियाकलाप हुन नदिन सुरक्षा व्यवस्था विगतको भन्दा पनि बलियो बनाइएको बताए ।
१४ गतेसम्म सञ्चालन हुने बेहडाबाबा (गंगा दशहरा) मेलामा मेलामा छ सय बढी विभिन्न व्यापारिक स्टल रहने जनाइएको छ ।
बेहडा बाबाधाममा विभिन्न मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वासका साथ गंगा दशहराका बेला नेपाल तथा भारतका विभिन्न स्थानबाट हजारौंको संख्यामा तीर्थालु आउने गरेका छन् ।
स्थानीय किंवदन्तीअनुसार परापूर्वकालमा शिवलिङ्ग स्वयं प्रकट भएको स्थानमा मन्दिर स्थापना गरिएको हो । घना वनजंगल रहेको सो क्षेत्रमा कुनै बेला भारतीय नागरिकहरू घुम्न आएका बेला सो शिवलिङ्ग देखेपछि कैयौं पटक उखेल्न प्रयास गरे पनि असफल भएका थिए । उखेल्न नसकेपछि उनीहरूले फलामको घनले शिवलिङ्गमा हिर्काएका थिए । घनले हिर्काएको छाप अहिले पनि शिवलिङ्गको माथिल्लो भागमा स्पष्ट देख्न सकिन्छ ।
मन्दिर परिसरमै महादेव नामको ठूलो तलाउ पनि रहेको छ । त्यस तलाउमा स्नान गरी दर्शनार्थीहरू शिवजीको पूजा गर्ने गर्दछन् । माघे संक्रान्तिका दिन जलासयमा स्नान गरी मन्दिरमा दर्शन गर्नाले वर्षभरिको पाप पखालिने जनविश्वास समेत रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार