११ बैशाख २०८१, मंगलवार

शुक्लाफाँटा–नालापानी–खप्तड भ्रमण : पर्यटन पूर्वाधार निर्माण प्राथमिकता– मुख्यमन्त्री



धनगढी । सात नम्बर प्रदेका मुख्यमन्त्री त्रिलोचन भट्टले पर्यटन क्षेत्रका पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
“प्रदेश नम्बर ७ मा प्रशस्त पर्यटन गन्तव्य छन्, तर पूर्वाधारको अभाव छ” सोसाइटी अफ ट्राभल्स एण्ड टुर अपरेटर्स (सोट्टो) नेपालद्वारा मंगलबार धनगढीमा आयोजित ‘आन्तरिक पर्यटन प्रवद्र्धन कार्यक्रम’ मा मुख्यमन्त्री भट्टले पूर्वाधार विकासमा लगानी बृद्धि बढाउन निजी क्षेत्रलाई आह्वान गरे ।
कार्यक्रममा सोट्टो नेपालद्वारा गत बैशाख ३० गतेदेखि कञ्चनपुरको शुक्लाफाँटादेखि भारतको नालापानी हुँदै खप्तडसम्मको भ्रमणका सहभागीहरूलाई स्वागत तथा सम्मान गर्दै मुख्यमन्त्री भट्टले यस्ता कार्यक्रमले प्रदेश ७ को पर्यटन विकासमा उल्लेख्य योगदान पुग्ने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्रीले सात नम्बर प्रदेशमा पर्यटनमा ढुक्क भएर लगानी गर्न व्यावसायीहरूलाई आह्वान गरे । उनले भने– “तपाईंको लगानी सुरक्षित गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध छ ।”
उनले राष्ट्रिय निकुञ्ज कानुनका कारण खप्तडसम्मको सडक विस्तार तथा खप्तड क्षेत्रमा भवन आदि निर्माणमा केही कठिनाई भइरहेको बताए ।
सो अवसरमा भ्रमण टोलीका सदस्य सूर्य थापाले प्रदेश सातमा धार्मिक पर्यटनको उच्च सम्भावना रहेको चर्चा गरे । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका भ्रमण टोली सदस्य थापाले भने– “भारतको उत्तराखण्ड र उत्तरप्रदेशसँग जोडिएको ७ नम्बर प्रदेशमा धार्मिक पर्यटनको निकै सम्भावना रहेको छ । भारतको चार धामको भ्रमण गर्ने दर्शनार्थीलाई उत्तराखण्डको ऋषिकेशको दर्शनपछि पशुपतिनाथ दर्शनको व्यवस्था गर्नेतर्फ सरकारको ध्यान जानु आवश्यक छ ।” भ्रमणका क्रममा भारतको उत्तराखण्ड सरकारका पर्यटन मन्त्री सतपालजी महाराज निकै सकारात्मक रहेको आफूले अनुभव गरेको उनले बताए ।
उनले धार्मिक पर्यटनका साथै प्रदेश नम्बर ७ मा खप्तड, शुक्लाफाँटा, घोडाघोडी, रामारोशन, बडिमालिका, टीकापुर पार्क तथा अपीसैपाल हिमाल बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने चर्चा गरे । उनले भने– “धनगढीलाई बेस बनाएर खप्तड, रामारोशन, बडिमालिका, अपीसैपाल हिमालका साथै कर्णाली प्रदेशको रारालाई जोड्न सकिने सम्भावना रहेको छ ।”
कार्यक्रममा प्रदेश नम्बर ७ का सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले खप्तड, रामारोशन, र बडिमालिका पर्यटन सर्किटका रूपमा विकास गर्न सरकारले पहल गरिरहेको बताए । उनले धनगढीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा सञ्चालनका लागि पनि संघीय सरकारसँग समन्वय भइरहेको बताए ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले मन्त्रालयले विज्ञ तथा व्यावसायीहरूको सुझावका आधारमा मन्त्रालयले पर्यटन विकासको दीर्घकालीन नीति र योजना निर्माण गरिरहेको बताए ।धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले पर्यटन विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्यको अझ बढी आवश्यकता रहेको चर्चा गरे । उनले धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका पर्यटकीय सथलको विकास तथा व्यवस्थापनका लागि नीति बनाएर काम गरिरहेको बताए ।
प्रदेश सांसद पूर्णा जोशीले प्राकृतिक सम्पदाको उपयोग गर्न नीति आवश्यक रहेको बताइन् ।
पर्यटन व्यावसायी मायाप्रकाश भट्ट र दिनेशराज भण्डारीले प्रदेशमा पर्यटनको अवस्था तथा विकासका सम्भावनाबारे चर्चा गरेका थिए ।
साेट्टोका पूर्व अध्यक्ष यमबहादुर खड्काले सात नम्बर प्रदेशका पर्यटकीय स्थलाई केन्द्रीत गर्दै ‘टुर प्याकेज’ बनाएर व्यावसायिकरण गर्ने जानकारी दिए ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बैशाख ३० देखि शुरु भएको १० दिने यात्रामा नेपाल पर्यटन बोर्डका प्रतिनिधि, पर्यटन व्यावसायी र पत्रकार समेत १४ जनाको सहभागिता रहेको थियो ।भ्रमण टोली कञ्चनपुरको शुक्लाफाँटा हुँदै भारतका हरिद्वार, ऋषिकेश, देहरादून, मसुरी र नैनिताल तथा पुन: नेपालको खप्तड पुगेको थियो ।
बाजुरा, बझाङ, अछाम र डोटी गरेर चार जिल्लाको संगमस्थलका रूपमा रहेको खप्तडमा दर्जनौ पाटन, घाँसेमैदान, बहुमल्य जडीबुटी, असंख्य प्रजातिका चराचुरुङ्गी, तथा लोपोन्मुख प्रजातिका वन्यजन्तु हेर्न पाउँदा निकै खुसी लागेको नेपाल पर्यटन बोर्डका प्रवन्धक उदय भट्टराईले प्रतिक्रिया दिए ।
टोलीलाई भ्रमणका क्रममा कञ्चनपुर, कैलाली, डडेल्धुरा, बझाङ, अछाममा स्थानीय तहका साथै सात नम्बर प्रदेश सरकार र सर्वसाधारणले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार