१३ बैशाख २०८१, बिहीबार

स्वास्थ्यकर्मीको आन्दोलन : खोप लगायतका कार्यक्रम प्रभावित




धनगढी  ।  स्वास्थ्यकर्मीहरूको आन्दोलनका कारण कैलालीमा हात्तीपाइले रोगको औषधी खुवाउने तथा पोलियो लगायत राष्ट्रिय कार्यक्रम प्रभावित बन्दै गएका छन् ।
स्वास्थ्य सेवा ऐनका दफा ९ (ख) कार्यान्वयन तथा पद व्यवस्थापनको माग गर्दै मङ्सिरदेखि आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरूले फागुन ८ गतेदेखि जिल्ला जनस्वास्थ्य कार्यालयमा धर्ना कार्यक्रमपछि जिल्लामा स्वास्थ्यका राष्ट्रिय कार्यक्रमहरू प्रभावित बन्दै गएका छन् ।
स्वास्थ्य मन्त्रालयले फागुन ७ र ८ गते कैलालीसहित तराईका १५ जिल्लामा सञ्चालन गर्न लागेको ‘विशेष खोप कार्यक्रम’ प्रभावित भएको थियो ।
गत ७ र ८ गते सो कार्यक्रम सञ्चालन हुन नसकेपछि पुन: २१ र २२ गते सञ्चालन गर्ने मिति तय भए पनि स्वास्थ्यकर्मीहरूको आन्दोलनका कारण प्रभावित हुने देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जानकारी दिएको छ ।
बालबालिकालाई लगाइने नियमित खोप, तथ्याङ्क सङ्कलन, जिल्ला तथा केन्द्रबाट सञ्चालित तालिम, गोष्ठीलगायत कार्यक्रम हुन नसकेका जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले जानकारी दिए ।
कुनै पनि स्वास्थ्यका राष्ट्रिय कार्यक्रम गर्दा स्वास्थ्यकर्मीहरूको आवश्यकता पर्छ उनले भने– ‘स्वास्थ्यकर्मी धर्नामा छन्, गाउँमा खोप कसले लगाउने ?’ वरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाईंले राष्ट्रिय कार्यक्रमलाई कसरी सञ्चालन गर्ने त्यसका लागि गोष्ठी, स्वास्थ्यकर्मीलाई तालिम लगायतको आवश्यकता पर्ने बताउँदै ‘तालिम गोष्ठी नै सञ्चालन हुन दिएका छैनन्, कसरी कार्यक्रम सफल पार्ने ?’ उनले विशेष खोप अभियान पुन: तोकिएकै मितिमा गर्न सम्भव नदेखिएको उनले बताए ।
यस्तै, सरकारले कैलाली लगायत देशभरिका ३० जिल्लामा फागुन २१, २२ र २३ गते हात्तीपाइले औषधी खुवाउने अभियानको पनि मिति सारेको छ । सरकारले चैत ५, ६ र ७ गते सो अभियान सञ्चालन गर्ने जनाएको छ । गत ८ गतेदेखि जिल्ला जनस्वास्थ्य कार्यालयमा गरिएको धर्ना कार्यक्रम एक हप्ता वित्दा समेत यथावत रहेको छ ।
नेपाल स्वास्थ्यकर्मी सङ्घ, कैलाली सचिव लक्ष्मीराज उपाध्याय, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ, नेपाल अध्यक्ष ईश्वरीप्रसाद भुसाल, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन अध्यक्ष बलबहादुर रावल, स्वास्थ्यकर्मी युनियन नेपाल वेदबहादुर चौधरी, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी सङ्गठन करीसिंह भुल, नेपाल स्वास्थ्यकर्मी युनियन अध्यक्ष मीनबहादुर धामी लगायत स्वास्थ्यकर्मी सङ्गठनको संयुक्तमा स्वास्थ्यका कामकाज अनिश्चितकालीन ठप्प पारिएको छ ।
खोपको माध्यमबाट बालबालिकालाई अपाङ्ग हुनबाट जोगाउन सकिने भएकाले पोलियो कार्यक्रमलाई प्रभावित नगर्न स्वास्थ्य चौकीका इञ्चार्जहरूले आग्रह गरेका छन् ।
खोपको माध्यमबाट अपाङ्गता रुग्णता तथा अकाल मृत्यु हुनबाट जोगाउन सकिन्छ तसर्थ २१ र २२ फागुनमा गर्न लागिएको पोलियो थोपा खुवाउने कार्यक्रमलाई प्रभावित नगर्न स्वास्थ्यचौकी पवेराका इञ्चार्ज भूपेन्द्रसिंह महराले
आग्रह गरे ।

 
ब्यानर झुण्ड्याएर स्वास्थ्य दिवस


कैलालीमा पाँचौ स्वास्थ्य सेवा दिवस–२०७३ सेती अञ्चल अस्पतालमा ब्यानर झुण्ड्याएर मनाइएको छ । स्वास्थ्य सेवा ऐन दफा ९ (ख) कार्यान्वयन तथा पद व्यवस्थापनको माग गरिरहेका स्वास्थ्यकर्मीहरूको आन्दोलनका कारण जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले सेती अञ्चल अस्पतालमा ब्यानर झुण्ड्याएर दिवस मनाएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले टंग्याएको ब्यानरमा ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ पाँचौ स्वास्थ्य सेवा दिवस–२०७३ भनेर लेखिएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयले २०६८ सालदेखि स्वास्थ्य सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ ।
कार्यालयले अन्य वर्षमा दिवसको अवसरमा प्रभात फेरी, उत्कृष्ट कर्मचारीलाई सम्मान गर्नुका साथै विभिन्न कार्यक्रमहरू गरी मनाउँदै आए पनि यस वर्ष भने स्वास्थ्यकर्मीहरूको आन्दोलनका कारण ब्यानर झुण्ड्याएर दिवस मनाएको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत खगेन्द्र शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार