१२ बैशाख २०८१, बुधबार

धुमधामसँग कुखुराको विहे



छिमेकी देश भारतमा यसअघि गधा, कुकुर, बाँदरजस्ता जनावरको विहे गरिएका खबर त आएकै थिए । यसपटक चाहिँ एक कदम अघि बढ्दै कुखुराको समेत विहे भएको छ ।
छत्तीसगढमा एक भव्य समारोहबीच भाले र पोथी कुखुराबीच विहे गराइएको हाे ।
विहे यति अनौठो र भव्य भयो कि त्यसको चर्चा पूरै गाउँमा मात्र होइन, आसपासका गाउँहरुमा पनि भयो ।
कुखुरा पनि चानचुने होइन, एउटा विशेष प्रजातिको कुखुरा । बेहुला कुखुराको नाम कालिया हो भने बेहुलीको नाम सुन्दरी ।
मासु तथा अण्डाका लागि निकै लोकप्रिय तथा विशेष जातको मानिने कडकनाथ प्रजातिका भाले र पोथी कुखुराबीच विहे गराइएको थियो ।
छत्तीसगढको दन्तेवाँडास्थित हिरानारा गाउँमा हिन्दू परम्परा अनुसार कालिया र सुन्दरीबीच बिहे सम्पन्न भयो ।
बिहेमा सरसामानको जोरजाम मानिसको भव्य बिहेमा भन्दा कम थिएन । बिहेका लागि निमन्त्रणा कार्ड पनि छपाएर वितरण गरिएको थियो ।
जन्तीसँगै बेहुला कालियालाई मण्डपमा ल्याइयो, जहाँ बेहुली सुन्दरीलाई राखिएको थियो । सोही मण्डपमा दुईबीच विहे गराइयो ।
विहेपछि भव्य भोजको आयोजना गरियो । नाचगान पनि भयो । त्यस अवसरमा दुवैलाई रातो पहिरनमा सजाइएको थियो ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार