१३ बैशाख २०८१, बिहीबार

सांस्कृतिक खप्तड पदयात्रा : प्रदेशका प्रमुख धार्मिक पर्यटन गन्तव्यहरू लक्ष्य



धनगढी । प्रदेश नम्बर ७ मा धार्मिक पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक जागरणका लागि ‘अन्तर्राष्ट्रिय सांस्कृतिक खप्तड पदयात्रा’ हुने भएको छ । कैलालीको गोदावरी धामदेखि खप्तडसम्म हुने सांस्कृतिक पदयात्रा आगामी २८ गतेदेखि शुरु हुने जनाइएको छ ।
सांस्कृतिक खप्तड पदयात्राका क्रममा कैलालीको गोदावरीधाम, डडेल्धुराको परशुराम धाम, चुरे पहाडको मध्यभागमा रहेको आलीताल र वेतकोट ताल, अमरगढी किल्ला, डडेल्धुरास्थित घटालबाबा थान, उग्रतारा मन्दिर जस्ता प्रसिद्ध धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलको अवलोकन कार्यक्रम रहेको जनाइएको छ ।
त्यस्तै, डोटी र डडेल्धुराको सीमानामा पर्ने सेती नदी किनारामा रहेको गगनान क्षेत्र, डोटीमा रहेको शालमुनि भागेश्वर, दिपायल कोट र शैलेश्वरी मन्दिर, अछामको बैद्यनाथ धाम, खप्तड बडिमालिका तथा त्रिवेणी लगायतका प्रसिद्ध धार्मिक एवम् सांस्कृतिक पर्यटकीय गन्तव्यहरूलाई पदयात्राका क्रममा समेटिएको छ ।
नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा हुन लागेको पदयात्राबारे जानकारी दिन सोमबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरियो । पत्रकार सम्मेलनमा प्रतिष्ठानका संयोजक पदमराज जोशीले प्रदेश नम्बर ७ मा रहेका महत्त्वपूर्ण धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा व्यापक प्रचारप्रसार गर्ने लक्ष्यसहित खप्तड पदयात्रा आयोजना गरिएको बताए ।
‘बैशाख २८ गते गोदावरी धाममा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबाट पदयात्राको उद्घाटन गर्ने कार्यक्रम रहेको छ’ संस्थाका संयोजक जोशीले भने– ‘पदयात्रामा भारत र नेपालका पर्यटन व्यावसायी, पत्रकार, साहित्यकार, कलाकर्मी लगायतको सहभागिता रहने छ ।’ उनले खप्तड सांस्कृतिक पदयात्रामा नेपाल र भारतका दुई सय बढी पदयात्री सहभागी हुने बताए ।
संयोजक जोशीका आयोजकका अनुसार २८ गते पदयात्राको उद्घाटनपछि २९ गते खप्तडका विभिन्न प्रवेशद्वारबाट शोभायात्रा निकालिने छ ।
त्यस्तै, जेठ १ गते औंशीका दिन खप्तड त्रिवेणी महास्नान खेचरनाथ दर्शन अनुष्ठानको शुभारम्भ हुने छ । त्यस्तै, प्रत्येक दिन योग शिविर, अन्तर्राष्ट्रिय काव्य सम्मेलनको आयोजना र जेठ २ गते समापन गरिने छ भने १० गते गंगादशहराको स्नानसहित अनुष्ठानको पूर्णाहुती गरिने संयोजक जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार