८ बैशाख २०८१, शनिबार

कैलाली भ्रमण वर्षको २०७५ : तयारी अन्तिम चरणमा



धनगढी । आगामी २२ गते कैलालीको कर्णाली चिसापानीबाट आरम्भ हुने कैलाली भ्रमण वर्षको तयारी अन्तिम चरणमा पुगेको छ ।
कैलाली भ्रमण वर्ष, २०७५ को प्रधानमन्त्री केपी शर्मा ओलीले एक विशेष समारोहबीच आगामी २२ गते कर्णाली चिसापानीमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
कैलाली भ्रमण वर्ष, २०७५ बारे शनिबार लम्कीचुहा नगरपालिकाले लम्कीमा आयोजना गरेको पत्रकार सम्मेलनमा भ्रमण वर्षको तयारीबारे जानकारी दिइयो । सो अवसरमा कैलाली भम्रण वर्ष २०७५ का मूलसमिति संयोजक समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापाले भ्रमण वर्ष सफल पार्न सबैमा आग्रह गरे ।
‘पर्यटकीय क्षेत्रको संरक्षण, सम्वद्र्धन एवं प्रचारप्रसार, कैलाली जिल्ला विकासको मुल आधार’ भन्ने नाराका साथ जिल्ला समन्वय समिति, कैलालीको अगुवाईमा भ्रमण वर्ष आयोजना गरिएको जनाइएको छ ।
लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले भ्रमण वर्षको उद्घाटन कार्यक्रममा संघीय संसदका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संघीय सरकारका मन्त्रीहरू, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रीहरू लगायत संघीय संसद र प्रदेश सभाका सांसदहरूको उपस्थिति रहने बताए ।
पत्रकार सम्मेलनमा भ्रमण वर्ष सफल बनाउन लम्कीचुहा नगरपालिकाले नगर प्रमुख बजगाईको संयोजकत्वमा नगरस्तरीय मूल समारोह समिति गठन गरेको जानकारी दिइयो । नगर प्रमुख बजगाईंले विभिन्न उपसमिति पनि गठन गरिएको बताए ।
भ्रमण वर्षभरी कैलालीका विभिन्न पर्यटकीयस्थलको प्रचारप्रसार गर्नुका साथै पर्यटकीय प्रवद्र्धनका लागि विभिन्न गतिविधि गरिने जिल्ला समन्वय समिति कैलालीका प्रमुख थापाले बताए ।
कैलालीका सबै १३ वटै स्थानीय तहले भ्रमण वर्ष सफलताका लागि आ–आफ्नो स्तरमा मूल समारोह र उपसमितिहरू गठन गरेका छन् ।
पत्रकार सम्मेलनमा राष्ट्रिय सभा सदस्य कमला ओलीले कैलाली भ्रमण वर्ष, २०७५ लाई सबै पक्षले उत्सवका रूपमा मनाउन आह्वान गरिन् ।
भ्रमण वर्षको आयोजनाले कैलालीको कर्णाली पुल, चिसापानी, टीकापुर पार्क, घोडाघोडी ताल, मोहनाको डल्फिन क्षेत्र, राजकाँंडा क्षेत्र, गोदावरी लगायतका प्रसिद्ध पर्यटकीय स्थलको प्रचारप्रसारमा बृद्धि आउने तथा आन्तरिक र बाह्य पर्यटक आगमनमा बृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार