८ बैशाख २०८१, शनिबार

जसले तीनपटक अनुहार फेरे



कुनै मानिसले ३ पटक आफ्नो अनुहार बदल्छ भन्ने सुन्दा पत्यार नलाग्न सक्दछ । तर फ्रान्सका एकजना व्यक्तिको हकमा चाहिँ यो साँचो हो ।
जेरोम हेमनको पहिचान नै तीन अनुहार भएका व्यक्तिको नाममा स्थापित भैसकेको छ । यसकारण कि उनी विश्वका यस्ता व्यक्ति हुन् जसले आफ्नो अनुहार दुईपटक प्रत्यारोपण गरिसकेका छन् । जसका कारण उनको अनुहार अहिलेसम्म तीन पटक बदलिसकेको छ।
हालै उनको दोश्रो पटक पूर्ण रुपमा अनुहारको प्रत्यारोपण सर्जरी भयो । तीन महिनासम्म उनी पेरिस अस्पतालमा बसे । उनले आफ्नो नयाँ पहिचान स्वीकार गरिसकेका छन् । यद्यपि, उनको अनुहारको छाला तथा अन्य हिस्सालाई एकरुपता दिन भने बाँकी छ ।

आखिर किन यसरी पटक पटक अनुहार बदल्नुपर्ने अवस्था आयो त उनलाई ?
डाक्टरहरुका अनुसार जेरोम न्युरोफाइब्रोमेटोसिस टाइप वान नामक रोगबाट ग्रसित छन् । यसका कारण ट्युमर हुन्छ । जेरोमको पहिलो प्रत्यारोपण सन् २०१० भएको थियो । प्रत्यारोपण सफल भएपनि पछि ज्वरो आउँदा उनलाई दिइएको एन्टिबायोटिकका कारण नकारात्मक असर पर्यो । सन् २०१६ बाट उनको अनुहार बिग्रिन थाल्यो । उनी निकै भयानक अवस्थामा पुगे । अनुहार डरलाग्दो भयो । परेला र कानको छाला नै झर्यो । बोल्न र खान सकेनन्। जसका कारण यहीँ वर्ष उनको पुनः सर्जरी गर्नुपरेको हो ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार