७ बैशाख २०८१, शुक्रबार

साना निर्माण व्यावसायीहरूको हितलाई ध्यान देऊ: सङ्घ



धनगढी  ।  कैलालीका निर्माण व्यावसायीहरूले स्थानीय व्यावसायीहरूलाई अवसर दिने गरी सरकारी कार्यालयहरूले योजना लागू गर्नुपर्ने माग राखेका छन् ।
सरकारी कार्यालयहरूले साना योजनालाई पनि एकीकृत गरी ठुला योजना बनाएर सीमित निर्माण व्यावसायीहरूलाई ठेक्का दिने गरेको र स्थानीय व्यावसायीहरूले अवसर नपाएकोले साना योजनालाई जस्ताको त्यस्तै लागू गर्नुपर्ने उनीहरूको माग छ ।
शहरी विकास डिभिजन कार्यालय अन्तर्गत सघन शहरी विकास कार्यक्रम मार्फत धनगढी उपमहानगरपालिकाका लागि विनियोजन गरिएको एक अर्ब ५० करोड रुपैयाँको लागतमा निर्माण हुने विभिन्न २५ वटा आयोजनाहरूको निर्माणमा साना निर्माण व्यावसायीहरूलाई पनि समेट्ने गरी ्र
बोलपत्र आव्हान गर्न बुधवार पत्रकार सम्मेलन गरी माग गरेका हुन् ।
सघन शहरी विकास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७३/०७४ का लागि विनियोजित रकम सबै निर्माण व्यावसायीहरूलाई समेट्ने गरी बोलपत्र आव्हान नगरिए कडा आन्दोलनमा उत्रिने नेपाल निर्माण व्यवसायी सङ्घ कैलालीका अध्यक्ष प्रकाशबहादुर सेठीले चेतावनी दिए ।
धनगढी उपमहानगरपालिका कार्यालयले सर्वदलीय समितिले छनौट गरी पठाएका योजनाहरूमा सुदूरपश्चिमका साना तथा ठुला निर्माण व्यावसायीहरूलाई समेट्ने गरी प्रक्रिया अगाडि नबढाए सशक्त सङ्घर्षमा उत्रिने चेतावनी सङ्घले दिएको छ । सो कार्यक्रममा निर्माण व्यावसायी सङ्घका केन्द्रीय उपाध्यक्ष भीमबहादुर साउँदले आफूहरू पनि सहमत भएकोले व्यावसायीको माग जायज भएको बताए ।
उपमहानगरपालिकाको भवन निर्माण, फुलबारीमा बसपार्क निर्माण, फुलबारीमै कोल्डस्टोर जोड्ने सडक कालोपत्रे र नाली निर्माण, फुटबल स्टेडियम जाने सडक कालोपत्रे र नाली निर्माण, फुलबारी क्याम्पस जोड्ने सडक कालोपत्रे गर्ने सघन शहरी विकास कार्यक्रमले समेटेको छ । कार्यक्रमले उर्मा होमस्टे सडक कालोपत्रे, बेलीपटेला सडक कालोपत्रे र नाली निर्माण, उर्मा पथरी धुर्जन्ना–डंगोलिया सडक कालोपत्रे, धनगढी उपमहानगरपालिकाका १४ देखि वडा नम्बर ९ हुँदै वडा नम्बर १० जाने सडक कालोपत्रे, भन्सार–चटकपुर–थाप्ला हुँदै राजपुर रिङरोड, धनगढी उपमहानगरपािलका ४ शीतल मार्ग सडक कालोपत्रे, तुल्छीचोक भगवती टोल–४ हुँदै कैलाली गाउँ जाने सडक कालोपत्रे रहेका छन् ।
त्यस्तै, हुलाकी सडक कमैयाबस्ती ‘डी’ गाउँ हुँदै सिद्धनाथ स्कुल जाने सडक कालोपत्रे, बैयाबेहडी–सरस्वतीनगर सडक कालोपत्रे तथा ढल निर्माण, पुरानो बसपार्क मर्मत संभार, पिपलचौतारा जाई–मटियारी हुँदै बेला सडक कालोपत्रे र नाली निर्माण, शिवनगर न्यूरोड–जाली सडक कालोपत्रे, कालीका मन्दिर हुँदै जाली सडक कालोपत्रे, उर्मी जाने बाटो पूर्व जङ्गलमा पार्क निर्माण, पटेलामा थारू सांस्कृतिक संग्राहलय निर्माण, रिङरोड सर्वेक्षण कार्य, कालीका टोल (आउजी टोल) एक किलोमिटर कालोपत्रे, जाली उत्तर बिजुलीया ३ किलो मिटर सडक कालोपत्रे, बेहडाबाबा मन्दिरदेखि खानेपानी टंकीसम्म नाली र पक्की सडक निर्माण तथा कविस्तानमा पूर्वाधार विकास निर्माण सडक, कम्पाउण्ड वाल र तटबन्ध निर्माणका लागि रकम विनियोजन गरिएको धनगढी उपमहानगरपालिकाका कार्यकारी अधिकृत ध्यानकुमार थापाले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षका लागि ५० करोड विनियोजन भएको छ । आगामी तीन वर्षसम्म सो कार्यक्रमहरू कार्यान्वयनका लागि थप ५०/५० करोड रुपैयाँ निकासा हुने बताए । सघन शहरी विकास कार्यक्रमले कैलालीको धनगढी उपमहानगरपालिका र कञ्चनपुरको महेन्द्रनगर नगरपालिकालाई समेटेको छ । दुवै नगरपालिकाले ५०/५० करोड रुपैयाँ चालु आर्थिक वर्षका लागि प्राप्त गरेका छन् ।
तीन वर्षसम्ममा धनगढी उपमहानगरपालिकाले एक अर्ब ५० करोड र महेन्द्रनगर नगरपालिकाले पनि एक अर्ब ५० करोड रुपैयाँ पाउने गरी चालु आर्थिृक वर्षका लागि घोषणा गरिएको बजेटमा परेपछि त्यसका लागि दुवै नगरहरूले कार्यान्वयका लागि प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार