८ बैशाख २०८१, शनिबार

साहित्यिक, सांस्कृतिक तथा पर्यटकीय देश दर्शन अभियान शुरु



धनगढी । सुदूरपश्चिम (प्रदेश नम्बर ७) को मौलिक साहित्य, संस्कृति, तथा कलाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्यसहित धनगढीबाट बिहीबारदेखि साहित्यिक, सांस्कृतिक तथा पर्यटकीय देश दर्शन अभियान–२०७४ सुरु भएको छ । देश दर्शन अभियान आगामी बैशाख १ गतेसम्म सञ्चालन हुने छ ।
सुदूरपश्चिमाञ्चल साहित्य समाज, धनगढीको आयोजनामा शुरु भएको देश दर्शन अभियान नेपालका महेन्द्रनगर, नेपालगन्ज, चितवन, नवलपरासी, कावासोती, पोखरा, काठमाडौं, जनकपुर, इटहरी, बिराटनगर तथा झापासम्म पुग्ने जनाइएको छ ।
त्यसैगरी, भारतको आसाम गुहावटी र तेजपुर, सिक्किम र दार्जिलिङमा पनि अभियान पुग्ने समाजले जनाएको छ ।
बिहीबार धनगढीमा आयोजित एक भव्य कार्यक्रमबीच प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पानसमा दीप प्रज्ज्वलन गरेर तथा सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले दमाहा बजाएर अभियानको शुभारम्भ गरे ।
देश दर्शन अभियानका क्रममा प्रदेश नम्बर ७ (सुदूरपश्चिमक) का मौलिक संस्कृति, कला बाङ्गमय झल्किने देउडा, हुड्केली, भुवो, छलिया, गौरा, सखिया, रानाथारूको होली प्रस्तुत गरिने जनाइएको छ ।
अभियानमा साहित्य समाजका अध्यक्ष रामलाल जोशी, सल्लाहकार तथा लोकगायक यज्ञराज उपाध्याय, संस्कृतिकर्मी हरि क्षेत्री, समाजका महासचिव हरिकृष्ण कडायत सहित साहित्यकार तथा विभिन्न लोक संस्कृतिका कलाकारसहित ४० जना बढीको सहभागिता रहेको छ ।
प्रदेश नम्बर ७ को मौलिक भाषा, संस्कृति, कला, बाङ्गमयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म विस्तार गर्न अभियान आयोजना गरिएको अभियानका संयोजक समेत रहेका लोकगायक उपाध्यायले बताए ।
अभियान शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले प्रदेशभित्रका विविध भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण तथा सम्वद्र्धनका लागि ठोस योजना सहित कार्यक्रम सञ्चालन गर्ने बताए ।
सो अवसरमा सामाजिक विकास मन्त्री सोडारीले प्रदेशको भाषा, संस्कृति, कलाको संरक्षण र विकासको जिम्मेवारी सरकारको पनि रहेकाले नयाँ बन्ने नीतिमा यी विषयको सम्बोधन गरिने बताए ।
कार्यक्रममा समाजका अध्यक्ष जोशीले लामो प्रयासपछि देशदर्शन अभियान साकार भएको चर्चा गरे ।
कार्यक्रमको सञ्चालन समाजका महासचिव हरिकृष्ण कडायतले गरेका थिए ।
देश दर्शन अभियानको मुख्य प्रवद्र्धक नेपाल पर्यटन बोर्ड रहेको छ । भने प्रदेशको समाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिका तथा सुदूरपश्चिमाञ्चल विकास आयोग सहआयोजक रहेका छन् ।
त्यस्तै, विभिन्न शैंक्षिक संस्था, सामाजिक संघसंस्था, स्थानीय तह, व्यापारिक फर्म तथा व्यावसायी, समाजसेवी लगायतको आर्थिक तथा भौतिक सहयोग रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार