११ बैशाख २०८१, मंगलवार

मुलुककै उदाहरणीय सहकारी संस्था हाम्रो लक्ष्य



नेपालको पहिलो र स्थापित सहकारी संस्थाका रूपमा स्थापित नवजीवन सहकारी संस्थाको २५ औं साधारण सभा यही चैत्र १० गते हुँदैछ । नयाँ सञ्चालक समितिका लागि निर्वाचन समेत हुने साधारण सभामा सञ्चालक समितिका वर्तमान अध्यक्ष रतनबहादुर कठायत पुन: अध्यक्ष पदका उम्मेदवार रहेका छन् । ‘तपाईं पुन: किन अध्यक्षको उम्मेदवार बन्नुभएको छ ?’ समावेशी टिम बनाएर चुनावी मैदानमा उत्रिएका अध्यक्ष पदका उम्मेदवार कठायतले भने– पहिलो कार्यकालमा हामीले धेरै काम गरेका छौं, तर अझैं केही महत्त्वपूर्ण काम पुरा गर्न बाँकी रहेकाले उम्मेदवार बनेको छु ।
२०५९ सालदेखि चार पटक नवजीवन सञ्चालक समितिको सञ्चालकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका वर्तमान अध्यक्ष कठायत थुप्रै सामाजिक तथा खेलकुद क्षेत्रमा पनि आवद्ध छन् । उनी नेपाल रेडक्रस सोसाइटी कैलालीका उपसभापति, नेपाल बाल संगठनका अध्यक्ष, नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष तथा कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहिसकेका ४५ वर्षीय कठायतसँग उनको उम्मेदवारी, आगामी कार्यक्रम र योजना लगायतका विषयमा केन्द्रीत रहेर गरिएको कुराकानीको सारसंक्षेप :

रतनबहादुर कठायत
अध्यक्षका उम्मेदवार

तपाईं फेरि नवजीवन सहकारी संस्थाको अध्यक्ष पदको उम्मेदवार हुनुहुन्छ । किन ?
– यो तीन वर्षे कालमा हामीले थुप्रै काम गरेका छौं । तर, हामीले शुरुवात गरेका केही महत्त्वपूर्ण कामहरू पूरा हुन बाँकी छन् । त्यसैले वर्तमान सञ्चालक समितिमा रहेका केही साथीहरू तथा अन्य क्षेत्रका स्थापित व्यक्तित्वहरू सहित हामी चुनावी प्रतिस्पर्धामा उभिएका छौं । नवजीवन सहकारी संस्था नेपालकै पहिलो र अग्रणी संस्था हो । हजारौं सेयर सदस्यज्यूहरूको विश्वास र आस्था जोडिएको यो संस्थालाई अझ व्यवस्थित, सेवामुखी र नमुनायोग्य बनाउने हाम्रो प्रयास रहेको छ । यो संस्थालाई सहकारीको क्षेत्रको उदाहरणीय बनाउने हाम्रो संकल्पलाई मूर्तरूप दिन म पुन: उम्मेदवार बनेको छु ।

पहिलो कार्यकालमा के–के काम गर्नुभयो ?
– म संक्षिप्तमा मेरो कार्यकालमा हामीले गरेका काम उल्लेख गर्न चाहन्छु । यो अवधिमा नवजीवन सहकारी संस्थाको सम्पूर्ण कारोबार कम्प्युटराज्ड गरी संस्थाका सबै पाँच वटा शाखाबाट अत्याधुनिक अनलाइन बैंकिङ सेवा सञ्चालन गर्न सफल भएका छौं । संस्थाको नाफा, निक्षेप, लगानी, असुली तथा शेयर पुँजीमा उल्लेख्य बृद्धि भएको छ । यसले नवजीवन सहकारी अझ सबल र सक्षम बनेको छ । उदाहरणका लागि तीन वर्षको अवधिमा शेयर पुँजी बृद्धि ८३ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७०/७१ मा आठ करोड ४० लाख १५ हजार रुपैयाँ शेयरपुँजी रहेकोमा हाल अर्थात् आर्थिक वर्ष २०७३/०७४ मा बृद्धि भई १५ करोड ३४ लाख ७३ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, खुद मुनाफामा यो तीन वर्षको अवधिमा एक सय १० प्रतिशतको बृद्धि भएको छ । आर्थिक वर्ष २०७०/०७१ मा खुद मुनाफा चार करोड ५९ लाख ९२ हजार रुपैयाँ रहेकोमा २०७३/०७४ मा बृद्धि भई आठ करोड ७७ लाख ७८ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेपतर्फ यो तीन वर्षको अवधिमा ९२ प्रतिशतको बृद्धि भएको छ । तीन वर्षअघि संस्थाको निक्षेप दायित्व एक अर्ब २६ करोड ४८ लाख ९६ हजार रुपैयाँ रहेकोमा अहिले बृद्धि भई दुई अर्ब ४२ करोड ३६ लाख ५१ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, यो अवधिमा ऋण लगानी एक अर्ब चार करोड ८१ लाख ९६ हजार रुपैयाँ (९२ प्रतिशत) ले बृद्धि भएको छ । भने, गैह्र बैंकिङ सम्पत्ति ८८ प्रतिशतले कमी आएको छ ।
त्यस्तै, संस्थालाई प्रविधिमैत्री बनाउन अनलाईन बैंकिङ, एसएमएस बैंकिङ तथा संस्थाको वेवसाइट निर्माण गरी सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गरिएको छ । त्यस्तै, शेयर सदस्यहरूलाई सहकारी ऐनको व्यवस्थाअनुसार प्रत्येक वर्ष १५ प्रतिशत लाभांश वितरण गरिएको छ । त्यस्तै, साधारण सभामा सहभागी हुन यातायात खर्चका साथै शेयर सदस्यका लागि औषधि उपचार, काजक्रिया, दुर्घटना, राहत, एम्बुलेन्स तथा शवबाहन शुल्को सोधभर्ना र सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गतका सेवाहरू लागू गरेका छौं ।

आगामी कार्यकालमा के–के गर्ने योजना रहेका छन् ?
– हामीले प्रतिवद्धतापत्रमार्फत आगामी दिनमा सम्पादन गरिने काम र योजनाबारे आदरणीय शेयर सदस्यज्यूहरूमाझ अवगत गराएका छौं । प्रमुख रूपमा आगामी दिनमा यो संंस्थाको कारोबारलाई अझ प्रभावकारी र उपलब्धीमूलक ढंगबाट विस्तार गर्ने उद्देश्यले विनियमावली पारित गरी लघुवित्त एवं सुपथ मूल्य पसल सञ्चालन गरिने छ । त्यस्तै, तीन वर्षको अवधिमा अन्तर्राष्ट्रिय कोपरेटिभ्स अलाइन्स र अन्तर्राष्ट्रिय कोपरेटिभ कलेजको सदस्यता लिइने छ । त्यस्तै, एटिएम सेवामार्फत कारोबार सुविधा प्रदान गर्ने, सम्पूर्ण शेयर सदस्यहरूलाई यससंस्थामार्फत वित्तीय सेवा लिन उत्प्रेरित गर्ने र नवजीवन सहकारी संस्थाका नयाँ शाखा विस्तार गरिने छ ।
त्यस्तै, सहकारी अभियानलाई सशक्त र सबल बनाउन सहकारीको केन्द्रीय एवं क्षेत्रीय र स्थानीय छाता संगठनहरू र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय र सहकार्य गरिने छ । व्यवस्थापन, नेतृत्व विकास, बैंकिङ एकाउण्टिङ सहकारी शिक्षा र कर सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका तालिमहरूमार्फत कर्मचारीको क्षमता तथा दक्षता बृद्धिमा ध्यान दिइने छ । त्यस्तै, शेयर सदस्यहरूको क्षमता बृद्धिका लागि अवलोकन भ्रमण र तालिमको व्यवस्था गर्नेछौं । त्यस्तै, सामाजिक उत्तरदायित्व वहन गर्न सहकारी शिक्षा तथा विकास कोष परिचालन निर्देशिकामा व्यवस्था भए बमोजिम विभिन्न विकासात्मक कार्यक्रमहरू सञ्चालन गर्ने छौं ।

सञ्चालक समितिका लागि सर्वसम्मतीको प्रयास किन गरिएन त ?
– साच्चै भन्नुहुन्छ भने, म आफैं फेरि उम्मेदवार बन्नैपर्छ भन्ने थिएन । हजारौं शेयर सदस्यको साझा संस्थाको सञ्चालक समितिको निर्वाचन सकेसम्म सर्वसम्मत ढंगले नै हुनुपर्छ भन्नेमा म सधैं दृढ थिए र छु । त्यसैले व्यक्तिगत रूपमा मैले सर्वसम्मत बनाउने हरसम्भव प्रयास गरे । शुरुमा हाम्रा आदरणीय चक्रबहादुर सिंह पनि सहमत हुनुहुन्थ्यो । पाँच, छ दिनपछि उहाँले भन्नुभयो– मैले उठ्नै पर्ने भयो । धेरै दवाव आयो, मैले थेग्न सकिन । मैले, सल्लाहकार संयोजक, सदस्यहरू तथा अग्रजहरूसँग पनि सर्वसम्मतिका लागि निकै प्रयास गरे, तर सफल हुन सकिन । त्यसैले अहिले हामीले पुराना र नयाँ साथीहरू तथा समावेशी ढंगको टिम बनाएर निर्वाचनमा होमिएका छौं ।

चुनाव जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
– म हाम्रो सम्पूर्ण टिम फराकिलो मत अन्तरले विजयी हुन्छौं भन्नेमा पूर्ण विश्वस्त छु । यसका पछाडि केही ठोस कारण देख्छु । पहिलो कुरा हामीले तीन वर्षको अवधिमा गरेका केही उदाहरणीय र उल्लेख्य काम नै हुन् । त्यो भन्दा पनि हामीले नवजीवन सहकारी संस्थाको गरिमालाई अझ उचाईमा पुर्‍याएका छौं । आजका दिनमा नवजीवन सहकारी मुलुककै अग्रणी संस्था बनेको छ । सम्पूर्ण शेयर सदस्यहरूको विश्वासमा बृद्धि भएको छ । वास्तवमा सहकारी अभियानमा नवजीवन अनुपम उदाहरण नै बनेको छ । यो सबै हामी सबैको सामूहिक प्रयास, एकता र एकअर्काप्रतिको विश्वासका कारण सम्भव भएको हो । सञ्चालक समिति, कर्मचारीहरू तथा शेयर सदस्यहरूबीचको सुमधुर सम्बन्ध, समन्वय र सहकार्यका कारण आज हामीले नवजीवनलाई गौरव गर्ने संस्थाका रूपमा स्थापित गरेका छौं । यी सबै कारणले मलाई हाम्रो टिम पूर्णरूपमा विजयी हुनेमा पूरा विश्वास छ ।

अन्त्यमा आम शेयर सदस्यहरूमा के अपिल गर्न चाहनुहुन्छ ?
– म र हाम्रो टिमको दृढसंकल्प छ– ‘हाम्रो समृद्धि हाम्रै एकताबाट सम्भव छ ।’ हामी सहकारीको सर्वमान्य सिद्धान्त, मूल्यमान्यतालाई शिरोधार्य गर्दै नवजीवन सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभाबाट हुने निर्वाचनमा सामुहिक प्रतिवद्धताका साथ उभिइका छौं । हामीले समाजका सबै पक्षको समावेशी र समानुपातिक प्रतिनिधित्व हुने गरी टिम बनाएका छौं । हामी तपार्इंंहरूको विश्वास र भरोशामा कहिले पनि रत्तीभर कमी हुन दिनेछैनौं । तपाईंहरूको विश्वास र साथसमर्थनबाट हामीले केही उल्लेख्य काम गर्न सफल भएका छौं । आगामी तीन वर्ष हामीलाई फेरि अवसर दिनुहोस्, हामी नवजीवनलाई एसियाकै उदाहरणीय संस्थाका रूपमा स्थापित गर्न दृढसंकल्पित छौं । तपाईंहरूको अमूल्य मतका लागि हामी विनम्रतापूर्वक अनुरोध गर्दछौं ।

चैत ०८ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार