७ बैशाख २०८१, शुक्रबार

मासु पसलहरूको अनुगमन- प्राय: पसल अव्यवस्थित र दुर्गन्धित



धनगढी । एउटा टेबुल, टेबुलमाथि रहेको भाडामा कपडाले छोपेर राखिएको मासु । ग्राहकहरू धमाधम मासु किनिरहेका छन् । मासु पसलमा न त कुनै जाली छ, न मासु काट्ने स्थान सफा नै । यो दृश्य थियो धनगढी उपमहानगरपालिकाका प्राय: मासु पसलको ।
आइतबार पोल्ट्री तथा माछा मासु व्यावसायी सङ्घको रोहवरमा धनगढीको मनेहरा, बेली, सेतोपुल, बसन्तटोल र शिव मन्दिरमा गरिएको अनुगमनका क्रममा प्राय: मासु पसल अव्यवस्थित र दुर्गन्धित भेटिएका थिए ।
धनगढी–७, मनेहरास्थित सञ्चालनमा रहेको पार्वती मासु पसलमा एउटा टेबुल, मासु काट्ने अचानो मात्र थियो । सोही स्थानका मोतिलाल चौधरीको मासु पसल पनि उस्तै थियो । धनगढीको मनेहरा र बेलीमा गरिएको १० वटा मासु पसलको अनुगमनका क्रममा सबै अव्यवस्थित र दुर्घन्धित रहेको पाइएको सङ्घका अध्यक्ष जीतेन्द्र यादवले बताए ।
अनुगमनका क्रममा सङ्घले धनगढी–७, मनेहरामा मासु पसल सञ्चालन गरिरहेका लालु चौधरीको पसलबाट अन्दाजी आठ किलो बङ्गुरको बोसो बरामद गरेर नष्ट गरेको थियो ।
धनगढीको सेतोपुल, शिवमन्दिर, वसन्त टोल, मनेहरा र बेलीका गरी १५ वटा मासु पसलमा अनुगमन गर्दा शिवमन्दिरको मुस्कान मासु पसल बाहेक सबै मासु पसल दुर्घन्धित र अव्यवस्थित रहेको पाइएको यादवले बताए ।
अनुगमनका क्रममा मासु पसलहरूले प्रशासनले निर्धारण गरेको कुखुराको मासुको मूल्य भन्दा बढीमा विक्रीवितरण गरिरहेको पाइएको थियो ।
गत मङ्गलवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले मासु पसल सञ्चालकहरूले कुखुरा खरिद गरेको मूल्यअनुसार एक सय रुपैयाँभन्दा बढीमा विक्रीवितरण गर्न नपाइने निर्णय भएको थियो ।
सो अनुसार मासु पसलले एक सय ३५ रुपैयाँमा कुखुरा खरिद गरेमा उनीहरूले एक सय रुपैयाँभन्दा नबढाई विक्रीवितरण गर्नुपर्दा दुई सय ३५ रुपैयाँमा मासु विक्रीवितरण गर्नुपर्ने हुन्छ । तर, आइतबार अनुगमनका क्रममा अधिकांश मासु पसल सञ्चालकहरूले एक सय ६५ रुपैयाँमा कुखुरा खरिद गरेर एक सय ८० रुपैयाँमा विक्रीवितरण गरिरहेको पाइएको यादवले बताए । मासु सञ्चालकहरूले प्रशासनले गरेको निर्णयबारे आफूहरूलाई जानकारी नभएकाले सो दरमा कुखुराको मासु विक्रीवितरण गरिरहेको बताए ।
धनगढी उपमहानगरपालिकाले मासु पसलहरूलाई व्यवस्थित गर्न धनगढी बजारभन्दा बाहिर अनुगमन नगर्ने गरेका कारण बजारभन्दा बाहिरका मासु पसलहरू स्थत बनिरहेको सङ्घका सचिव विश्वजंगबहादुर सिंहले बताए ।
उनले धनगढी उपमहानगरपालिकाभित्र मासु पसलहरूलाई व्यवस्थित गर्न धनगढी उपमहानगरपालिकाले अनुगमन र कारबाही प्रक्रियालाई अघि बढाउन जरुरी रहेको बताए ।
धनगढी उपमहानगरपालिकाले मापढण्ड तयार पारिरहेको र तुरुन्तै अनुगमन गरेर कारबाही प्रक्रियामा अघि बढ्ने धनगढी उपमहानगरपालिकाका सामुदायिक विकास शाखा अधिकृत टंक विष्टले बताए । उनले कार्यालयले मासु पसलहरूसंग व्यवस्थित गराउन छलफल तथा अन्तक्र्रिया कार्यक्रम र जनचेतनाका कार्यक्रमहरू पनि अघि बढाउने तयारी गरिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार