१५ चैत्र २०८०, बिहीबार

खप्तड गोल्डकप फूटवल : संकटा क्लव क्वार्टरफाइनलमा प्रवेश



धनगढी । काठमाडौंको सिएमजी संकटा क्लव धनगढीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रित नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ ।
धनगढी क्षेत्रीय रंगशालामा आइतबार भएको रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा संकटाले धरान फुटवल क्लवलाई पेनाल्टी सुटआउटमा चारका विरुद्ध पाँच गोलले हराएर अन्तिम आठमा स्थान बनायो ।
खेल अवधिमा धरान फुटवल क्लवले गोल गर्ने केही राम्रा अवसर पाएको थियो । तर, धरानले पाएका अवसर गोलमा परिणत गर्न सकेन । पहिलो हाफको २६ औं मिनेटमा धरानले पेनाल्टीको अवसर पायो । धरानका प्रकाश वुढाथोकीले गरेको पेनाल्टी प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले बचाएका थिए ।
खेल अवधिभरी दुवै टिमबाट कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा लगिएको थियो । शुरुको पेनाल्टीमा दुवै टीमबाट तीन/तीन बराबर गोल भएपछि दुई/दुई वटा पेनाल्टी प्रहार थप गरिएको थियो ।
थप भएका दुवै पेनाल्टी प्रहार संकटाले गोलमा परिणत गरेको थियो । तर धरानको एउटा प्रहारलाई संकटाका गोलरक्षक श्रेष्ठले आकर्षक ढंगले बचाए । खेलमा दुई प्रहार जोगाएर आफ्नो टिमलाई विजयी गराउन अहम् भूमिका निर्वाह गरेका संकटाका गोलरक्षक श्रेष्ठ खप्तड मेडिकल स्टडिज् एण्ड हेल्थ साइन्स म्यान अफ द म्याच भए ।
संकटाका तर्फबाट अनिल गुरुङ, विश्व अधिकारी, सरोज दाहाल, सुजित थापा र अभिषेक रिजालले पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।
त्यस्तै, धरानका वर्तमान राई, रोमन लिम्वु, सुरज विक र प्रकाश वुढाथोकीले मात्र पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।
प्रतियोगिता अन्तर्गत आज (सोमबार) थ्री स्टार क्लव र झापा–११ बीच प्रतिस्पर्धा हुने आयोज सुदूरपश्चिम ११ स्पोर्ट्स क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार