७ बैशाख २०८१, शुक्रबार

भादा महोत्सव शुरु



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा आजदेखि थारू होमस्टे गाउँ भादा महोत्सव–२०७४ शुरु भएको छ ।
महोत्सव थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा भइरहेको छ ।
‘संरक्षण सम्वद्र्धनके लाग सक्कु जाने करी काम, संस्कृति भेषभुषा राखी हमार पहिचान’ भन्ने नाराका साथ शुरु भएको महोत्सवको उद्घाटन धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले गरे । कार्यक्रम थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका संयोजक लक्ष्मीनारायण चौधरीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नाटाका अध्यक्ष मायाप्रकाश भट्ट, नेपाल बार एशोशिएशन अध्यक्ष प्रेम चन्द्र, वडा नम्बर १५ का अध्यक्ष फूलराम चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
भादा होमस्टेले २०६८ सालदेखि निरन्तर भादा महोत्सव सञ्चालन गर्दै आएको छ । विगतमा भादा महोत्सव जनवरी १ देखि ५ तारिखसम्म गर्दै आएकोमा यसपाली विविध कारणले महोत्सवको सातौं संस्करण जनवरी ३ देखि ७ तारिखसम्म सञ्चालन गरिएको अध्यक्ष चौधरीले बताए ।
महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, थारू समुदायको सखिया, झुम्रा, मघौटा, लठ्ठी, बैठक्की, मुंग्रहुवा, (बाँकी २ पेजमा) गुरुवा र आधुनिक नृत्य तथा सजना, मैना, धमार, बरकीमार, लग्नी, कठमैया, विरहनी गीतको प्रस्तुति र रानाथारू तथा कठरिया थारूको मौलिक नृत्य समेत प्रस्तुत हुने जनाइएको छ । त्यसैगरी, हाँस्यव्यंग्य कलाकारहरूको प्रस्तुतिसँगै विशिष्ठ व्यक्तिहरूलाई सम्मान तथा स्थानीय कलाकारहरूलाई प्रोत्साहन गर्ने, उत्कृष्ट स्वागतद्वार तथा उत्कृष्ट स्टललाई पुरस्कृत गरिने, थारू खानपानको परिकार ढिक्री, खरिया, फुलौरी, अण्डीक भात, खर्मा, पनझझरा, कचरीक, बरिया, घोंघी, गेंटा, सुटही, मुसक पकुवा, महुँवक दारु, चौरक दारु, निघार लगायत विभिन्न खानाका परिकार महोत्सवको आकर्षण रहने छ । महोत्सव २३ गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार