११ बैशाख २०८१, मंगलवार

मोवाइलबाटै गर्भवती महिलाको तथ्यांक



बैतडी । बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राख्न थालिएको छ । मेडिक मोबाइल नामक संस्थाको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकामार्फत गर्भवतीको तथ्यांक राख्न शुरु गरेको जनाइएको छ ।
प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल दिएर गर्भवती महिलाको तथ्यांक राख्ने कार्य शुरु भएको संस्थाका बरिष्ठ कार्यक्रम अधिकृत मनोज खड्काले जानकारी दिए ।
पाटन नगरपालिका र पुरचौंडी नगरपालिकामा कार्यक्रम सञ्चालनमा आइसकेको छ । कार्यक्रम अधिकृत खड्काले अन्य स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिने कार्य शुरु भइसकेको बताए ।
महिला स्वास्थ्य स्वयंसेविकाले आफनो क्षेत्रभित्रका गर्भवती महिलाको नाम मोबाइलमा इन्ट्री गरेपछि गर्भवती महिलाको अनुमानित सुत्केरी हुने मिति, गर्भजाँच गराउने मिति स्वयंसेविकाको मोबाइलमा आउने र यसले गर्भवती महिलालाई स्वास्थ्य संस्थामा पुग्न सजिलो हुने जिल्ला जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थनर्स ममता जोशीले बताइन् ।
एक महिना अघिदेखि शुरु भएको पाटन नगरपालिकामा रहेका गभर्वती महिलाको गर्भजाँच गर्न महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा म्यासेज आउने भएकाले सजिलो भएको छ ।
महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेपछि यो कार्यमा सहज भएको पाटन नगरपालिकाका स्वास्थ्य ईञ्चार्ज मदन महराले बताए ।
‘नगरपालिकाभित्र रहेका १० वटै वडाका १०९ महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइल पाइसकेपछि गाउँठाउँका गर्भवती महिलालाई स्वास्थ्यसंस्थामा जाँच गर्न लैजान लागि झनै सहज भएको छ’ उनले भने– ‘स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा महिनामा एक सय रुपैयाँको रिचार्ज पनि स्वास्थ्य चौकीले नै उपलब्ध गर्ने गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार