१३ बैशाख २०८१, बिहीबार

सून्यबिन्दूबाट सडक निर्माणको माग गर्दै आन्दोलन



बझाङ । बझाङको चैनपुर बजारका व्यापारीहरूले सून्यबिन्दुबाट सडक निर्माण गर्नुपर्ने माग राख्दै बुधबार नारा जुलुस सहित बजार बन्द गरेका छन ।
जयपृथ्वी नगरपालिकाले सून्यबिन्दुबाट सडक निर्माण नगरी टिनका पसलमा डोजर लगाएपछि व्यापारीहरू आन्दोलित भएको बताए ।
बुधबार चैनपुरका व्यापारीहरूले सून्यबिन्दुबाट सडक निर्माण गर्न तथा विद्युत, खानेपानी जस्ता विकासका पूर्वाधारहरूको व्यवस्थापन गर्नुपर्ने माग सहित नारा जुलुस गरेका थिए ।
नगरपालिकाले मापदण्ड नबनाएर सिंधै टिनका पसलहरूमा डोजर प्रयोग गरी भत्काएपछि आन्दोलनमा उत्रिनु परेको व्यापारी नरेन्द्र खड्काले बताए ।
जयपृथ्वी नगरपालिकाको सडक फराकिलो पार्ने काम सराह्रनीय भए पनि मापदण्ड बनाएर नगरपालिकाले सून्यबिन्दुबाट कच्ची तथा पक्की घर सबै हटाएर सडक फराकिलो पार्नुपर्ने उनीहरूले बताए ।
व्यापारीहरूले ज्ञानेन्द्रबहादुर सिंहको संयोजकत्वमा २१ सदस्यीय संघर्ष समिति पनि गठन गरेका छन् ।
चैनपुर बजारमा नगरपालिकाले भनेअनुसार ७ मिटरको सडक निर्माण गरिएमा चैनपुर बजारका ६० भन्दा बढी घर भत्काउनुपर्ने अवस्था रहेको स्थानीयले बताए ।
नगरपालिकाका उपमेयर जुना जाग्रीले बजार अव्यवस्थित भएकाले बजारमा रहेका टिनका पसलहरू हटाइएको बताइन् । उपमेयर जाग्रीले चैनपुरमा रहेका सडकमा परेका सम्पूर्ण घरहरू समेत हटाइने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार