१५ चैत्र २०८०, बिहीबार

हामी जनतालाई राजनीतिक र नागरिक कार्यक्रममा सहभागिताका लागि प्रोत्साहित गर्छौं



न्युयोर्कको क्वीन्स अमेरिकामा नै सबैभन्दा धेरै नेपाली बसोबास गर्ने क्षेत्र हो । यहाँको ज्याक्सन हाइट एरियामा प्रसस्त नेपाली व्यवसाय देख्न सकिन्छ जसलाई अमेरिकामा मिनी नेपाल पनि भनिन्छ । सोही क्षेत्रलाई प्रतिनिधित्व गर्नुहुने न्युयोर्क राज्यका सिनेटर होजे पराल्टासँग पत्रकार किरण मरहठ्ठाले, विविधतामा एकताले भरिएको अमेरिकी समाज र त्यसमा नेपालीको सरोकारका बारेमा कुराकानी गर्नुभएको थियो । प्रस्तुत छ सो कुराकानीको सार ।

तपाईले प्रतिनिधित्व गर्ने न्युयोर्क क्षेत्र नम्बर १३, अमेरिकामा सबैभन्दा धेरै नेपालीको आवादी भएको क्षेत्र हो । यस क्षेत्रको विविधतालाई कसरी व्याख्या गर्न चाहनु हुन्छ ?
– म यसलाई संयुक्त राष्ट्र संघकै स्वरुप मान्दछु । वास्तवमा यो राष्ट्र संघ जस्तै संसारका धेरै देशका मानिसहरूको साझा थलो भएको छ जो विश्वको जुनसुकै कुनाबाट आएर बसेका भए तापनि यो क्षेत्रलाई आफ्नो घर मान्दछन् । विविधताले हामीलाइ बल दिएको छ । म यो जिल्लालाई प्रतिनिधित्व गर्न पाएकोमा गर्व गर्दछु । विश्वका अन्य भूभागमा बेमेल भएका समुदायका मानिसहरू पनि यहाँ मिलेर बसेका छन् । हामीले एक अर्कालाई सम्मान गर्ने हुनाले नै यो सम्भव भएको हो । यहाँ सबैको आधारभूत आवश्यकता र प्राथमिकताहरू छन् । हामी सबै रोजगार, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, आफ्नो घर र बालबालिकाको उज्वल भविश्य चाहन्छौँ । जव हामी एकै समुदायको रुपमा बाचेका हुन्छौँ तव मात्र यो सम्भव हुन्छ जुन मेरो क्षेत्रमा भैरहेको छ ।

संसारका फरक जातजाति, भाषा, संस्कृति र भूगोलका मानिसलाई संयोजन गर्दै उनीहरूको मौलिक पहिचानलाई संरक्षण गर्ने तपाइको योजनाहरू के के छन् ?
– सबैभन्दा पहिला हामीले उनीहरूको संस्कृतिको पहिचान गर्नु पर्दछ । उनीहरूको आफ्नो आदिथलोमा कस्तो सामाजिक आर्थिक र संस्कृतिक अभ्यासमा थिए र यहाँ के अपेक्षा गर्दछन् भन्ने बुझ्नु अति जरुरी छ । त्यसको लागि मिडिया, पुस्तक, सिनेमा, खाना वा व्यक्तिगत संम्पर्क मार्फत जानकारी लिन सकिन्छ । तर मुख्य कुरो उनीहरू यो देशमा गुणस्तरीय जीवन बाँच्न आएका हुन् । उनीहरू अमेरिकन ड्रिम साकार पार्न चाहन्छन् भन्ने कुरा आधारभूत रुपमा बुझ्नु पर्दछ । तसर्थ हामीले उनीहरूको राम्रो जीवनको लागि काम गर्नुपर्छ । उनीहरूलाई साना व्यवसायमा सहयोग गर्नु, सरसफाइमा ध्यान दिनु, उनीहरूका बालबालिका राम्रो स्कुलमा पढिरहेका छन् भन्ने भरोसा दिलाउनु पर्छ । साथै उनीहरूमाथि कुनै प्रकारको अन्याय, असुरक्षा र विभेद हुदैन भन्ने विश्वास दिलाउनु नै हाम्रो प्रमुख कतव्र्य हो । हाम्रो संघिय प्रसाशनको धारा ४५ ले यो बारेमा धेरै बोलेको छ । यदि कसैले विभेद गर्दछ भने त्यो हाम्रो लागी मान्य हुने छैन ।

जनतालाई राजनीतिक रुपमा निर्णायक तहमा पु¥याउन तपाइले कुनै योजनाहरू बनाउनु भएको छ ?
– राम्रो प्रश्न गर्नुभयो, हामी यहाँका सबै जनतालाई यो क्षेत्रको राजदुत भन्दछौँ । हामी जनतालाई राजनीतिक र नागरिक सहभागिताका कार्यक्रमहरूमा बढि भन्दा बढि सहभागिताको लागि प्रोत्साहित गर्दछौँ ताकी उनीहरूले स्थानीय तथा राष्ट्रियस्तरमा के भैरहेको छ भन्ने बारेमा जानुन र आफ्ना विचार राखुन् । विशेष गरि सामुदायीक बोर्डको कार्यक्रम, निर्वा्चित जनप्रतिनिधिका कार्यक्रमहरू र न्यूयोर्क पुलीसका कार्यक्रमहरूमा जनताको उच्च सहभागिताको लागि हामी उत्प्रेरित गर्दछौँ । हामी आफैँ पनि राज्यका विभिन्न नीति निर्माणको क्रममा समयमा उनीहरूको अभिमत लिन टाउनहल मिटिगंहरू आयोजना गर्दछौँ । हाम्रा क्रियाकलापहरूले उनिहरूलाइ राज्यका विविध नीतिनिर्माणमा सहभागीता जनाउने मात्र होइन नेतृत्व विकासको अवसर पनि प्रदान गर्दछ ।

तपाइले न्यूयोर्क राज्यमा विगत ७ वर्षदेखि प्रतिनिधित्व गरिरहनु भएकोे छ, तपाइको कार्यकालका मुख्य उपलब्धिहरूलाई कसरी उल्लेख गर्न चाहनु हुन्छ ?
– हामी धेरै सफल भयौँ भन्ने मलाइ लाग्दछ । मुख्य गरि हामीले न्यूनत्तम ज्याला बृद्धि गरेर प्रतिघण्टा १५ डलर बनाउन सक्यौँ । तलबी विदाको अवधिलाइ लम्ब्याउन सक्यौँ । अब कसैले पनि जरुरत हेरेर १२ हप्ता सम्मको पारिवारिक तलबी विदा लिन सक्छन् जुन अमेरिकाकै अन्य राज्य भन्दा धेरै हो । डिपोर्टेशनको प्रकृयामा रहेकाहरूको लागि हामीले १० मिलियन डलरको कोष बनाएका छौँ, अव त्यस्ता मानिसहरूले वकिलको लागि तिर्नुपर्ने शुल्क राज्यले तिरिदिने छ । गतबर्ष मात्र हामीले एक दशमलब एक विलियन डलर स्कुलको शैक्षिक तथा भौतिक गुणस्तर सुधारका लागी विनियोजन गरेका छौँ । हामा सरकारी कार्यलयहरूमा कुनै प्रकारको विभेदका विरुद्धको कानूनी सेवाका वकिलहरू निःशुल्क उपलब्ध गराएका र्छाैँ । हामीले सामुदायीक सेवामा लागेका विभिन्न संस्थाहरूलाई फण्ड उपलब्ध गराउने गरेका छौँ । हामीले सेवा दिने क्रममा कुनै पनि व्यक्तिको आप्रवासन हैसियत सोध्ने गरेका छैनौ यसको अलाबा साना व्यवसायलाई दिइने अनुदान रकम बढाएका छौँ । मलाइ लाग्छ मेरो सात वर्ष सफल अवधि हो ।

भर्खरै केन्द्रीय सरकारले नयाँ करनीति प्रस्ताव गरेको छ, यसमा तपाइको प्रतिकृया के छ ?
– यो कर नीति गरिब मारेर धनि पोस्ने किसिमको भयो । यसले न्यूनआय भएका परिवारलाई त बर्बाद पार्छ नै मध्यम आय भएका परिवारलाई पनि राहत प्रदान गर्दैन । न्युयोर्कका गरिखाने समुदायलाई त झन यसले बर्बादै पार्छ । मलाइ विश्वास छ, हाम्रा सांसदहरूले क्यापिटल हिलमा यो बारेमा आवाज उठाउने छन् ।

साना व्यवसाय गर्न चाहने र न्यून आय भएका परिवारको सहायताको लागि तपाइको के कार्यक्रमहरू छन् ?
– यसको लागि हामीले गर्भनर र राज्यस्तरका बैँकसंग मिलेर काम गरेका छौँ । निम्न आय भएका मानिसले व्यवसाय गर्न चाहेमा साना व्यवसायको लागी हामी अनुदान दिने गर्दछौँ । त्यतिले पुगेन भने न्युन ब्याजदरमा ऋण दिने र कर छुटको कार्यक्रम पनि छ । मुख्य कुरा साना पुजीँ भएका व्यवसायीलाई हामी तालिम र परामर्श सेवा पनि दिन्छौँ ताकि शुरु गरे पछि ब्याक हुनु नपरोस ।

तपाईको क्षेत्र अमेरिकामै सबैभन्दा धेरै नेपालीको बसोवास भएको क्षेत्र हो, नेपाली समुदायको बारेमा तपाइ कत्तिको जानकार हुनुहुन्छ ?
– नेपालीहरूको बारेमा पर्याप्त त भन्दिन तर म धेरै जानकार चाहिँ छु । मेरो क्षेत्रमा नेपालीको संख्या द्रुत गतिमा बढेको छ जुन स्वागत योग्य कुरा हो । उनीहरूको उपस्थिति देख्दा मलाई गर्व लागेको छ । मैले मुख्य गरी ज्याक्सन हाइटस् क्षेत्रमा नेपाली व्यवसायहरू बढिरहेको देखेको छु । तर मलाई थाहा छ व्यवसाय नगर्नेहरूको संख्या ठूलो छ । मैले नेपाली सामुदायिक संस्थाहरू र अन्य श्रोतबाट नेपालीको आवश्यकता के के छन् भन्ने बारेमा जानकारी लिने गरेको छु तर म अझ थप बुझ्न चाहन्छु जसले गर्दा थप सहयोग गर्न सकियोस ।

नेपालीहरूको स्वभाव र संस्कृतिको बारेमा तपाईको विश्लेषण के छ ?
– म धेरै खुसी छु । धेरै मेहनती र स्वभिमानी स्वभावको पाएको छु । उनीहरू केही गर्नको लागि यहाँ आएका हुन् भन्ने थाहा छ । साना व्यवसाय र सामाजिक काम मार्फत पहिचान स्थापित गर्दैछन् । जब आफ्नो देश छोडेर नयाँ ठाउँमा केहि गर्न सफल भएका छन् भने हामीले प्रसंशा गर्नै पर्छ । उनीहरू क्वीन्सलाई आफ्नो घर जस्तै माया गर्दछन् । हाम्रो सरकारी कार्यक्रमहरूमा उनीहरूको सक्रिय सहभागिता रहने गरेको छ ।

तपाईलाई नेपालको बारेमा चाहिँ कत्तिको जानकारी छ ?
– मलाई केही जानकारी छ । तर, मैले नेपाली समुदायको बारेमा बढिभन्दा बढि जानकारी लिने कोशिस गरिरहेको हुन्छु । मलाई नेपाली खानाको बारेमा थाहा छ र त्यो मेरो मन पर्ने खाना हो । नेपाली समुदायसंग भेटघाट र अन्तरकृया गर्ने काम भैरहेको छ जसबाट मलाई नेपालको बारेमा जानकारी पनि बढिरहेको छ ।

नेपालीको लागि तपाईको केही विशेष सन्देश छन् कि ?
– नेपाली एक अनुशासित समुदाय हो । म विशेष गरि हामीले संचालन गर्ने सबै प्रकारका कार्यक्रमहरूमा सहभागिता बढाउन विशेष अनुरोध गर्दछु । आफ्नो मातृभूमि छोडेर यहाँ आउदा निश्चयनै नेपालमा के के भैरहेको छ भन्ने कुराको चासो हुन्छ तर तपाईहरूको जीवन र सपना यहाँ छ तसर्थ यो समाजलाई राम्रो बनाउन कोशिस गरौँ । जनप्रतिनिधिका हिसाबले मैले गनुपर्ने कुनै पनि प्रकारको सहयोगको लागि म सदा तयार छु ।

नेपाल घुम्ने निम्तो आएमा के गर्नु हुन्छ ?
– त्यो मेरो लागि खुसीको कुरो हो । म अवश्य जानेछु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार