७ बैशाख २०८१, शुक्रबार

हात्तीपीडित बृद्धा आफन्तको शरणमा



कञ्चनपुर । जंगली हात्तीको बथानले घर भत्काएको चार महिना बिते पनि कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर ३ बडुवाल टोलका ७५ वर्षीय मैसरा बुढा आफन्तको शरणमा बस्दै आएकी छन् ।
आर्थिक अभाव र बृद्ध उमेरका कारण अशक्त उनले घर निर्माण गर्न नसक्दा आफन्तको शरणमा बस्दै आएकी हुन् । गत भदौ २३ गते राति हात्तीको बथानले बुढाको घर भत्काएको थियो । त्यसपछि उनी नातिनी नाता पर्ने लक्ष्मी खत्रीको शरणमा छिन् ।
हात्तीले उनले घरभित्र भण्डारण गरेर राखेको अन्न, ओढ्ने बिछ्याउने, लगाउने लुगाफाटो र खाना पकाउन प्रयोग हुने भाडाकुडा सबै नष्ट गरिदिएपछि उनले बाध्य भएर आफन्तको शरणमा बस्नुपरेको बताइन् ।
आर्थिक अभाव र उमेरका कारण ओतलाग्ने नयाँ घर निर्माण गर्ने क्षमता छैन । उनले दुखेसो पोख्दै भनिन्, ‘अन्न र लुगाफाटोको समेत व्यवस्था नहुँदा आफन्तले दिएको दुई छाकको खाना र लुगाफाटोमै गुजारा चलाउन विवश भएकी छु ।’
ओत लाग्ने टहरा बनाउन पैसा नभएका कारण आफन्तको घरमा रात बिताउँदै आएको मैसराले बताइन् । ‘हात्तीले घर भत्काएपछि नातिनीको घरमा बास बस्दै आएकी छु,’ मैसराले भनिन, ‘कसैले सहयोग गर्लान् भनेको कसैले सहयोग गरेनन् ।’ उनका श्रीमानको जंगली हात्तीको झुण्डले २०७२ सालमा ज्यान लिएको थियो ।
‘खेतमा बाली हुर्कन थालेपछि हात्तीकै त्रासमा रात बित्छ, आफन्तको घरमा सुत्दा पनि कति बेला हो, राति हात्ती आएर मार्ला भन्ने डर छ,’ मैसराले भनिन् । मैसरालाई भने कोही दाता आएर सहयोग गर्ला र घर बनाउला भन्ने आशा भने जीवित रहेको छ । हात्तीले बेघर बनाएका बुढालाई घर बनाउन सबै थोक किन्नुपर्ने भएको छ । शरीरमा लाउने एकसरो लुगाबाहेक सबै हात्तीले नष्ट गरेपछि आगामी दिनमा कसरी गुजारा चलाउने भन्ने निकै ठूलै पिरलो छ उनमा ।
‘सबै आउँछन् आश्वासन दिएर मात्रै जान्छन,’ उनले भनिन, ‘कसैले मेरो समस्या बुझ्दैन ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार